६ वर्षअघि खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका लागि सातवटा एम्बुलेन्स र एक थान अल्ट्रासाउन्ड मेसिन एकैसाथ उपलब्ध गराएको थियो।
खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोवास गर्दै आएका खोटाङेले स्थापना गरेको खोटाङ सेवा समाज बेलायतको पहलमा जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँचवटा स्वास्थ्यचौकीलाई रु. एक करोड १२ लाख ३१ हजारबराबरको सातवटा एम्बुलेन्स र रु. १४ लाखबराबरको एक थान अल्ट्रासाउन्ड मेसिन औपचारिक रूपमा एकैसाथ उपलब्ध गराएको हो।
बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिंगापुर, नेपाललगायत विभन्न ठाउँमा बसोवास गर्ने चार सय ४५ खोटाङेबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको खोटाङ सेवा समाज युकेका तत्कालीन अध्यक्ष अशोककुमार राईले बताएका थिए।
‘रोजगारीको सिलसिलामा विभिन्न देशमा बसे पनि हामी खोटाङे हौँ,’ दिक्तेलमा आयोजित एम्बुलेन्स तथा अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए, ‘खोटाङेको समस्यालाई समाधान गर्न हाम्रो पनि उत्तिकै गहन जिम्मेवारी हुने भएकाले आफ्नो गाँस काटेर जम्मा गरेको रकमले एम्बुलेन्स सहयोग गरेका हौँ।’
खोटाङ सेवा समाज बेलायतले जन्तेढुंगा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐंसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पर्ने डाँडागाउँ स्वास्थ्य चौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्य चौकीलाई एक–एकवटा एम्बुलेन्स उपलब्ध गराएको थियो।
प्रतिगोटा रु. ३२ लाख मूल्य पर्ने एम्बुलेन्स जुटाएर स्वास्थ्य संस्थालाई प्रदान गरिएको समाजको सहयोगले खोटाङवासीले केही समय सुविधासम्पन्न एम्बुलेन्स तथा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमै अल्ट्रासाउन्ड सेवासमेत पाएका थिए।
पहाडी भूगोल रहेको जिल्लामा राम्रो स्वास्थ्य सुविधा नहुँदा सामान्य रोगका बिरामीलाई पनि राजधानी काठमाडौंलगायत अन्य सुविधासम्पन्न अस्पताल भएको स्थानमा पुर्याउनुपर्ने बाध्यता छ। तर, जिल्लाका लागि प्रवासी खोटाङेले उपलब्ध गराएको करोडौँ मूल्यको एम्बुलेन्स उचित व्यवस्थापन नहुँदा कबाडीमा परिणत भएका छन्।
ऐंसेलुखर्क, दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– ९ निर्मलीडाँडास्थित लामाखु र खोटेहाङ गाउँपालिका– ८ सिम्पानीको एम्बुलेन्स लामो समय अगाडिदेखि बिग्रिएर थन्किएका छन्।
सार्वजनिक सम्पत्तिको रूपमा रहेको एम्बुलेन्स मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैको ध्यान गएको छैन।
ऐंसेलुखर्कको ग्यारेजमा चार वर्षदेखि थन्किएको एम्बुलेन्स मर्मत खर्च बढी लाग्ने भएकाले त्यत्तिकै रहेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिए। बिग्रिएको एम्बुलेन्स मर्मत गर्न करिब रु. ६ लाखभन्दा बढी खर्च लाग्ने भएकाले हाल विचाराधीन अवस्था राखिएको गाउँपालिका प्रमुख राईको भनाइ छ।
लामाखुका लागि उपलब्ध भएको एम्बुलेन्स तीन वर्ष अगाडि सिराहाको कञ्चनपुरमा दुर्घटनामा परेपछि उतै रहेको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलनचन्द्र राईले जानकारी दिएका छन्। दुर्घटनाका मुद्दा अहिलेसम्म टुंगाे नलागेकाले उक्त एम्बुलेन्स पुनः सञ्चालनमा आउने सम्भावना कम रहेको जनाइएको छ ।
सिम्पानीको एम्बुलेन्स पनि बिग्रिएर बसेको करिब दुई वर्ष भएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए। खर्च व्यवस्थापन गरेर बिग्रिएको एम्बुलेन्स पुनः सञ्चालनमा ल्याउने पहल भइरहेको गाउँपालिका प्रमुख राईको भनाइ छ।
जन्तेढुंगा गाउँपालिका– १ चिसापानी, दिप्रुङ–चुइचुम्मा गाउँपालिका– ४ डाँडागाउँ, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार र दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १४ बुइपामा रहेको एम्बुलेन्स भने अहिलेसम्म सञ्चालन भइरहेको छ। तर, उचित व्यवस्थापन नहुँदा बिरामी परेका व्यक्तिले आवश्यक परेको समयमा प्रयोग गर्न सहज रूपमा पाउने अवस्था छैन।
जिल्ला अस्पताल खोटाङ, दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १४ बुइपा, ऐंसेलुखर्क, केपिलासगढी, जन्तेढुंगा, दिप्रङ–चुइचुम्मा, बराहपोखरी र साकेला गाउँपालिकामा हाल एम्बुलेन्स सञ्चालनमा छन्।
बराहपोखरी, दिप्रुङ–चुइचुम्मा, रावाबेँसी, ऐंसेलुखर्क र साकेला गाउँपालिकाले खोटाङ सेवा समाजले उपलब्ध गराएकोबाहेक आफ्नै पहलमा पनि एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ।
खोटाङ सेवा समाज बेलायतले दिएको सातवटाबाहेक जिल्लामा अन्य नौवटा एम्बुलेन्स छन्। तर, चाहिएको समयमा चालक नहुने, मर्मत गर्न ग्यारेजमा राखिएको, इन्धन अभावलगायतका समस्या देखिने गरेको उपभोक्ताहरूले बताउने गरेका छन्।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– ५ लफ्याङका लागि उपलब्ध गराएको एम्बुलेन्स दिक्तेलस्थित रत्नपार्कमा बिग्रिएर बसेको छ। भारतीय वेलफेयर सेन्टर दिक्तेलको एम्बुलेन्स पनि बिग्रेर बसेको चालक प्रेमबहादुर राईले जानकारी दिए।
हलेसी–तुवाचुङ नगरपालिकामा भने अहिले एम्बुलेन्स सेवा छैन। केही वर्षअगाडि भारत सरकारले एम्बुलेन्स उपलब्ध गराएको एउटा एम्बुलेन्स हाल बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेको स्थानीय चक्रबहादुर राईले जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी खोटाङ शाखाको एम्बुलेन्स भए पनि उक्त एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको छ। केही समय अगाडि काभ्रेको धुलिखेलमा दुर्घटनामा परेपछि हाल मर्मत कार्य भइरहेको रेडक्रस खोटाङका सभापति ज्ञानेन्द्र जोशीले जानकारी दिए।
जिल्लामा रहेका एम्बुलेन्सहरू चालू अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले जानकारी दिए।
‘जिल्लाका सबै ठाउँमा पर्याप्त स्वास्थ्य सेवा उपलब्ध छैन। जुनसुकै समयमा कुनै पनि समस्या आउन सक्छ,’ उनले भने, ‘सम्भावित घटनाबाट बचाउन जिल्लामा उपलब्ध एम्बुलेन्स सेवालाई चालू अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छु।’
जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले पनि एम्बुलेन्स सेवा सञ्चालनमा समस्या आएको जिल्लावासीको बुझाइ छ। हिउँदमा धुलो र वर्षामा हिलोका कारण बिरामी लिन गाउँ पुगेका एम्बुलेन्स फर्किएर आउँदा बिग्रिएर आउने गरेकाले सबैभन्दा बढी समस्या भएको एम्बुलेन्स सञ्चालकहरूले बताउँदै आएका छन्।
१० स्थानीय तह रहेको जिल्लामा यति धेरै एम्बुलेन्स भए पनि उचित व्यवस्थापन नहुँदा चाहिएको समयमा पाउन मुस्किल छ। सार्वजनिक सम्पत्तिको रूपमा रहेको एम्बुलेन्स व्यवस्थापनमा कसैको चासो नपुग्दा समस्या भएको हो।