बाबुले पेट्रोल छर्केर आगो लगाउँदा दुई वर्षीय बालकको मृत्यु, आमा घाइते

सोमबार, १६ माघ, २०७९
डिजिटल संस्करण
बाबुले पेट्रोल छर्केर आगो लगाउँदा दुई वर्षीय बालकको मृत्यु, आमा घाइते

आमा–छोरामाथि पेट्रोल छर्केर आगो लगाउने भानुभक्त विक

बाबुले पेट्रोल छर्केर आगो लगाउँदा कोहलपुरका दुई वर्षीय बालकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका– १ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार बेलुका पत्नी गंगा विक र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । बाबुले लगाएको आगोले दुई वर्षीय प्रिन्सको उपचारका क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय कोहलपुका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
 
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत प्रिन्सको आज बिहान करिब १ बजे मृत्यु भएको उनले बताए । गम्भीर घाइते गंगालाई शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको छ । उनको घाँटी र ढाडमा आगोले पोलेको छ ।

भानुभक्तले पत्नी गंगालाई पाँच लाख रुपैयाँको हिसाब देखाउन भनेपछि विवाद भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको समयमा भानुभक्तकी दिदी पनि घरमै थिइन् ।

सामान्य विवादमा भानुभक्त पत्नी गंगा र छोरा प्रिन्समाथि पेट्रोल छर्केर आगो लगाएर फरार भएका थिए । उनलाई नेपाल–भारत सीमानाकाबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । ‘भारत छिर्नै लाग्दा भानुभक्तलाई जमुनाहबाट पक्राउ गर्न सफल भएका छौँ,’ डिएसपी मल्लले भने । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । 
 

सुझावित समाचार