लामो समय खासै हलचल नगरी बसिरहनुका बेफाइदाबारे तपाईंले पक्कै पनि सुन्नुभएको छ । तर, धेरैजसो काम बसेर नै गर्नुपर्ने किसिमका हुने भएकाले यसमा तपाईं खासै केही गर्न सक्नुहुन्न । होइन र ? एउटा नयाँ शोधले लामो समयसम्म बसिरहँदाका असरबारे अध्ययन गरेको छ ।
अमेरिकन कलेज अफ स्पोर्टस् मेडिसिनको जर्नलमा यसै साता प्रकाशित अध्ययनअनुसार हरेक आधा घन्टामा पाँच मिनेट हल्का हिँडडुल गर्दा दिनमा लामो समयसम्म बस्दा हुने बढ्दो स्वास्थ्य जोखिमलाई न्यून गर्न मद्दत पुग्छ ।
अध्ययनका प्रमुख लेखक तथा कोलम्बिया युनिभर्सिटी मेडिकल सेन्टरका बिहेभियरल (व्यवहारसम्बन्धी) चिकित्साका सहायक प्रोफेसर किथ डियाज लामो समयको बसाइले केही प्रकारका क्यान्सर, मधुमेह र हृदय रोगजस्ता दीर्घरोगको जोखिम बढाउन सक्छ भन्ने वैज्ञानिक समुदायले दशकअघिबाटै थाहा पाएको कुरा भएको बताउँछन् । तर, अहिलेसम्म तपाईं कति समय बस्न सक्नुहुन्छ र कति–कति समयमा हिँडडुल गर्नुपर्छ भन्नेबारे स्पष्ट दिशानिर्देश छैन ।
‘लामो बसाइले अधिकांश दीर्घरोग तथा असामयिक मृत्युको जोखिम बढ्ने कुरा हामीले थाहा पाएको करिब एक दशकभन्दा धेरै भयो । मानिसलाई कति फलफूल र तरकारी खानुपर्छ, कति व्यायाम गर्नुपर्छ भन्ने सुझाव दिएजस्तै लामो समय बसिराख्दा हुने जोखिम कसरी न्यूनीकरण गर्ने भनेर पनि विशेष मार्गदर्शन दिनु आवश्यक छ,’ विश्वविद्यालयको सेन्टर फर बिहेभियरल कार्डियोभास्कुलर हेल्थको एक्सरसाइज टेस्टिङ ल्याबोरेटरीका निर्देशकसमेत रहेका डियाज भन्छन्, ‘हिँडडुल सामान्यभन्दा सुस्त १ दशमलब नौ माइल प्रतिघन्टाजत्तिको भए पनि पुग्छ । यसको एक मात्र लक्ष्य भनेको लामो बसाइको क्रमलाई तोड्ने मात्र हो ।’
मानिसलाई कति फलफूल र तरकारी खानुपर्छ, कति व्यायाम गर्नुपर्छ भन्ने सुझाव दिएजस्तै लामो समय बसिरहँदा हुने जोखिम कसरी न्यूनीकरण गर्ने भनेर पनि विशेष मार्गदर्शन दिनु आवश्यक छ
अध्ययनमा विभिन्न लम्बाइका बसाइ र हिँडाइको संयोजनका विभिन्न स्वास्थ्य सूचक मापन गरिएका थिए । स्याम्पल (नमुना) संख्या सानो भए पनि यो अध्ययन निकै विश्वसनीय विधिबाट सावधानीपूर्वक गरिएको एरिजोना स्टेट युनिभर्सिटीको कलेज अफ हेल्थ सोलुसनका निर्देशक म्याथ्यु बुमन बताउँछन् । तर, बुमन अध्ययनमा भने संलग्न थिएनन् ।
लामो बसाइ किन हानिकारक हुन्छ भन्ने ठ्याक्कै वैज्ञानिकहरूलाई अझै पनि थाहा छैन । तर, सामान्य सिद्धान्त के भने, रगतमा चिनी र कोलेस्ट्रोलको स्तरजस्ता चिजको नियन्त्रणमा मांसपेशीको हलचलको भूमिका निकै महत्वपूर्ण हुन्छ । जब तपाईं धेरै बेर बसिरहनुहुन्छ, तपाईंको मांसपेशीलाई गतिशील रहने अवसर प्राप्त हुँदैन भन्छन् डियाज । प्रत्येक आधा घन्टामा एक मिनेट हिँड्नुले काम गर्छ त ? डियाज घन्टामा एक मिनेट मात्रै हिँडडुल गर्दा पनि त्यसले सहभागीहरूको रक्तचापलाई ‘उल्लेख्य मात्रामा’ घटाएको बताउँछन् । यो अध्ययनका सबैजसो सहभागी स्वस्थ वयष्क थिए । यसको अर्थ दीर्घरोगीहरूलाई त समय–समयमा शारीरिक गतिविधिमा संलग्न हुँदा निकै ठूलो फाइदा गर्छ भन्ने नै हो भन्छन् बुमन ।
तर, कार्यालय संस्कृतिले यस्तो अभ्यासलाई प्रवद्र्धन गर्दैन । ‘हामीमध्ये धेरैजसोको जीवनशैली निष्क्रिय वा एकोहोरो बसाइमा आधारित छ’, डियाज भन्छन्, ‘हामीकहाँ आफ्नो डेस्कबाट उठेर यताउता गए तपाईंले काम नगरेको ठान्ने सामाजिक मान्यता छ ।’ डियाज रोजगारदाताहरूलाई कामको समयमा हिँडडुलको महत्वबारे बुझाउन काम गरिरहेका छन् । यो व्यक्तिगत स्वास्थ्यका लागि मात्र होइन, कम्पनी वा संगठनका लागि पनि स्वस्थकर अभ्यास हो ।
अध्ययनमा समय–समयमा उठेर हिँडडुल वा चलमल गर्ने सहभागीहरूले शारीरिक स्वास्थ्यका फाइदाबाहेक कम थकान र मुडमा सुधार महसुस गरेको पाइयो । ‘यदि तपाईं आफ्नो उत्पादकत्वबारे चिन्तित हुनुहुन्छ भने डेस्कमा आठ घन्टा बसेर एकोहोरो घोटिनु फलदायी हुँदैन’, डियाज भन्छन् । हुन त उठेर काम गर्न मिल्ने स्ट्यान्डिङ डेस्क लोकप्रिय छन्, तर त्यो उचित समाधान होइन । ‘बस्नुभन्दा उभिनु राम्रो हो भन्नेमा मलाई कुनै ठोस वैज्ञानिक प्रमाण भएजस्तो लाग्दैन’, उनी भन्छन्, ‘उभिएर काम गर्नेहरूमा आफूहरू स्वस्थ्य रहन्छु भन्ने गलत धारणा हुन सक्छ । तर, त्यो लाभदायी हुन्भ भन्नेमा शंका छ ।’