सांसदकै मत बदर हुँदा सुदूरपश्चिमले पाएन सभामुख

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

मतपुस्तिकामा सत्तापक्षीय उम्मेदवारका लागि दिइएको एक मत बदर

सांसदले नै मत बदर गरेपछि सुदूरपश्चिम प्रदेश सभाले बिहीबार सभामुख पाउन सकेन । सभामुख चयनका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत पुर्‍याउन सकेनन् ।सत्तारूढ गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए ।

सभामुखका उम्मेदवार

भण्डारीले २६ र रावलले २३ मत पाए । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ । सत्तापक्षकै सांसदको मत बदर भएकाले भण्डारी बिहीबार सभामुख चयन हुन सकेनन् । 

सत्तापक्षका एक सांसदको मत बदर पाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभामा माओवादी ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी सत्तापक्षका २९ सदस्य छन् । तर, एमालेका चक्र मल्ल र नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मतदान गरेनन् । 

निर्धारित समयभित्र प्रदेश सभा हलभित्र नगएपछि प्रदेश सभास्थलमै भए पनि मल्ल मतदान गर्नबाट वञ्चित भए । प्रदेश सभा हलभित्र छिर्न खोज्दा भित्र प्रवेशका लागि समय सकिएको जनाउ घन्टी बजेपछि मर्यादापालकले उनलाई भित्र जान रोकेका थिए । चौधरी भने मतदानमा गएनन् । १९ सदस्य रहेको कांग्रेसका उम्मेदवार रावलले २३ मत पाए ।

उनलाई चार सिट रहेको एकीकृत समाजवादीले समेत समर्थन गरेको थियो । प्रदेश सभा बैठकको अध्यक्षता गरेकाले कांग्रेसका शिवराज भट्टले मतदान गरेनन् । कुनै पनि उम्मेदवारले बहुमत नपाएकाले सभामुख चयनका लागि शुक्रबार बिहान ११ बजे पुनः मतदानको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

सुझावित समाचार