कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको दैनिक जनजीवन सहज बनाउने काममा आफूहरूले ध्यान दिने प्रतिबद्धता जनाएका छन्।
लोकतान्त्रिक वाम गठबन्धनको बिहीबार मनहरीमा आयोजना गरेको प्रदेश क्षेत्रस्तरीय आमसभालाई सम्बोधन गर्दै बानियाँले गठबन्धनको सरकार बनेपछि विकट क्षेत्रमा सडक, खानेपानी, बिजुली विस्तारजस्ता काममा तीव्रता दिइने बताएका हुन्।
लामो संघर्षपछि प्राप्त वर्तमान व्यवस्थाकै कारण गाउँगाउँमा बाटो, पानी, बिजुलीको सुविधा पुगेको स्मरण गर्दै बानियाँले यही व्यवस्थालाई सक्याउन एमाले र त्यसका अध्यक्ष केपी ओली लागेको भन्दै अब जनताले त्यस्तो पार्टीलाई चिनिसकेको बताए। गठबन्धनले जित्दा मुलुकले नै जित्ने र हार्दा मुलुक हार्ने उनको तर्क थियो।
विपन्न वर्गको निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क शिक्षा र विपन्नलाई आवास अबको निर्वाचनपछि बन्ने सरकारको पहिलो प्राथमिकता हुने बानियाँले बताए।
नेपालमा गणतन्त्र र संघीयता आएपछि दलित, महिला, पिछडिएको वर्ग, जनजाति, सीमान्तकृत, अल्पसंख्यक सबैको अधिकार र उनीहरूको प्रतिनिधित्व सुनिश्चित भएको भन्दै बानियाँले यही व्यवस्थामाथि नै एमाले र तीनका अध्यक्ष ओलीले धावा बोलेको स्मरण गरे।
बागमती प्रदेशमा एमालेको नेतृत्वमा साढे तीन वर्षसम्म सरकार चले पनि विकासको काममा भने पछि परेको उनको भनाइ थियो। गठबन्धनको काँधमा प्रदेश सरकारको जिम्मेवारी आएपछि आफ्नो क्षेत्रमा मात्रै डेढ अर्बभन्दा बढी बजेट विनियोजन भएको बानियाँले दाबी गरे।