आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

मोटरबोट दुर्घटना अपडेटः तीनको मृत्यु, चार बेपत्ता, नौजना सकुशल

सप्तकोशी नदीमा दुर्घटना भएको मोटरबोटमा १६ जना रहेको खुलेको छ। जसमध्ये नौजना सकुशल रहेको प्रहरीले जनाएको छ ।  

आइतबार दिउँसो भोजपुरबाट बराहक्षेत्र तर्फ आउने क्रममा मोटरबोट एक्कासि इन्जिन बन्द भएपछि भोजपुर, उदयपुर धनकुटाको सिमानाको संगमस्थल त्रिवेणीमा दुर्घटना भएको थियो । 

एनपिएल अवधिभर त्रिवि परिसर प्रवेश गर्न परिचयपत्र अनिवार्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवधिभर त्रिभुवन विश्वविद्यालय परिसरभित्र प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ।

विश्वविद्यालय क्याम्पस प्रिन्सिपलको कार्यालयले आइतबार सूचना जारी गर्दै प्राध्यापक, कर्मचारी एवं विद्यार्थीलाई परिचयपत्र बोक्न आग्रह गरेको हो। ९ कात्तिकदेखि ५ मंसिरसम्म त्रिवि क्रिकेट रंगशालामा सञ्चालन हुने एनपिएललाई मध्यनजर गर्दै यस्तो सूचना जारी भएको हो।

बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडकखण्ड सञ्चालनमा

बुढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकखण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको सडक पुनः सञ्चालनमा आएको छ।

पूर्वाधार विकासमन्त्री सुनील लाम्सालका अनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण गरिएको छ। सो क्षेत्रमा बाढीले थुपारेको ढुंगा, माटो तथा गेग्र्यान हटाएपछि यातायात सेवा सुचारु भएको हो।

एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

सोमबारदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनमा पाकिस्तान खेलाडीको सहभागिता अन्योलमा परेको छ। पाकिस्तानी क्रिकेट बोर्ड(पिसिबी)ले केही खेलाडीलाई नो अब्जेक्सन लेटर(एनओसी) नदिएको र केहीको होल्डमा राखेको क्रिकइन्फो जनाएको छ।

यसअघि एनओसी पाइसकेका खेलाडीसमेत फेरि होल्डमा राखिएको छ । केही पाकिस्तानी खेलाडी एनपिएल खेल्न नेपाल आइसकेका छन् । एनओसीबापत पिसिबीले प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर माग गरेको बताइएको छ। यद्यपि, यस विषयमा कोही पनि बोलेका छैनन्। 

एनपिएलमा म्याच फिक्सिङको निगरानी गर्न प्रहरीको विशेष टोली

सोमबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग(एनपिएल)मा नेपाल प्रहरीले बिशेष सुरक्षा योजना बनाएको छ। रंगशालाको सुरक्षादेखि सम्भावित म्याच फिक्सिङ हेर्नेसम्मका टोली खटाइएको छ। 

नेपाल क्रिकेट संघ(क्यान)सँग मिलेर सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । अनलाइन बेटिङदेखि म्याच फिक्सिङ समेत निगरानीका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापाले बताए। 

एनपिएलमा डेढ अर्बको कारोबार हुने अनुमान

तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा झन्डै डेढ अर्बको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन गर्दै एक महिनाको अवधिमा एक अर्ब ५० करोडको प्रत्यक्ष आर्थिक कारोबार गर्ने बताएको हो। क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार एनपिएल कमिटीले ७० करोडमाथिको र सहभागी आठ टोलीले पनि सोहीबराबरको खर्च गर्नेछन्।

‘टिकेटिङसहित सम्पूर्ण गरेर एनपिएल कमिटीले ७०–७५ करोडको आर्थिक कारोबार गर्छ भने त्यही हाराहारीमा हामीसँग भएका टिम ओनरहरूले पनि खर्च गरेर १५० करोडको कारोबार एक महिनाको अवधिमा हुन्छ,’ प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने।

एनपिएलकाे तेस्रो संस्करणमा पुरस्कार राशि वृद्धि

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा पुरस्कार राशि वृद्धि गरिएको छ। प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशिबारे जानकारी गराएको हो।

क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार यो संस्करणको विजेताले एक करोड ५० लाख, दोस्रो हुनेले ८० लाख, तेस्रोले ४० लाख र चौथोले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

मंगलबारसम्म धान भित्र्याउन आग्रह

 राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी मंगलबारसम्म धान बाली भित्र्याउन आग्रह गरेको छ।

बुधबारदेखि देशका अधिकांश भूभागमा मौसम प्रतिकूल हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै केन्द्रले अघिल्लो दिन मंगलबारसम्म धान भित्र्याउन भनेको हो। मंगलबारसम्म पहाडी र हिमाली जिल्लामा आंशिक बादल लागे पनि मौसम सामान्य रहनेछ।

सुनाैलाे भित्री मधेशका फाँट (फोटोफिचर)

वरिपरि हरिया पहाड, बिचमा नागवेली त्रियुगा नदी अनि क्षितिजसम्म फैलिएका धानका फाँटले मनमोहक दृश्य। भित्री मधेशमा पर्ने उदयपुर र आसपासका फाँट अहिले कतै हरिया, कतै पहेँलपुर देखिन्छन्।

भित्री मधेशका यी फाँटले यतिवेला प्रकृतिको सुन्दरतालाई चित्रमा उतारेजस्तो देखिन्छ। अझ हवाईजहाजबाट खेतका ससाना टुक्रा पहेँलो र हरियो रङमा सजिएका गलैँचाजस्ता आँखैमा आउँछ।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार चालू आर्थिक वर्ष ०८३/८४ मा जिल्लाको १३ हजार ३८० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ८७७ हेक्टरमा धान खेती गरिएको छ। 

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्टस् प्रालिका प्रतिनिधिले स्वागत गरे। 

३० वर्षीय वाटले स्कटल्यान्डका लागि टी–२० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन्। त्यस्तै, ३२१ रन बनाएका छन्। समग्रमा उनले टी– २० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन्।

सुझावित समाचार