मतदान केन्द्रमा क्यामेरा, लाइटर र सलाई लैजान नपाइने

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

सर्वपक्षीय बैठक गरेर आवश्यक समन्वय गर्न निर्वाचन अधिकृतहरूलाई आयोगको निर्देशन

 निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई, मोबाइलजस्ता वस्तु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रबन्ध मिलाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । 

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउन निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानुनको व्यवस्थाभित्र रहेर काम गर्न–गराउन निर्देशन दिएका हुन् । बुधबार प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्न आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिएका हुन् ।

आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षीय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देश गरिएको छ । त्यसैगरी, मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सूचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । 

आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था गरिएको छ ।

सुझावित समाचार