मुसहर बस्तीको अठोट, १० वर्षदेखि विदेशमा बेपत्ता बहिनी खोज्नेलाई भोट

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

देशैभर निर्वाचनको उत्सव चलिरहँदा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ५ स्थित डिपो गाउँमा रहेको मुसहर बस्तीमा कुनै उत्साह छैन।

सोही बस्तीमा रहेका ३५ वर्षीया लहरी ऋषिदेव र उनका भाइ मनोज १० वर्षअघि वैदेशिक रोजगारीका क्रममा ओमान गएकी बहिनी ‘योजना’ बेपत्ता हुँदासमेत कुनै निकायबाट खोजी कार्यका लागि सहयोग नपाउँदाको पीडामा छन्।

त्यसैले यसपटक उनीहरूले भोट माग्न आफ्नो बस्तीमा आउने नेता–कार्यकर्तालाई बेपत्ता बहिनीको खोजी गरिदिने प्रतिबद्धता भए मात्र भोट दिने अठोट लिएका छन्। 

सो क्षेत्रमा प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट कांग्रेस नेता शेखर कोइराला र एमालेबाट लालबाबु पण्डित मुख्य प्रतिस्पर्धामा छन्। त्यस्तै प्रदेश सभातर्फ माओवादीका जीवन आचार्य र एमालेकी रिता न्यौपाने प्रतिस्पर्धामा छन्। 

भोट माग्न आउने सबै दलका नेता र कार्यकर्तालाई ऋषिदेव परिवारले बेपत्ता भएकी बहिनीका कारण खेपिरहेको पीडा सुनाउँदै खोजी कार्यका लागि सहयोग माग्ने गरेका छन्।

‘धेरैचोटि नेताहरूलाई भोट हालिसक्यौँ। तर, यसपालि कसैलाई भोट हाल्न मन छैन। चुनावपछि कोही हाम्रो बस्तीमा आउँदा पनि आउँदैनन्। कसैले हेर्दा पनि हेर्दैनन्। बरु म र हाम्रो परिवारचाहिँ १० वर्षदेखि हराएकी हाम्री बहिनीलाई जसले खोजेर ल्याइदिने कसम खान्छ, उसलाई मात्र भोट दिन्छौँ । कसैका कुरा सुन्दैनौँ,’ लहरी ऋषिदेवले भनिन्।

दिदी लहरी ऋषिदेवका अनुसार उनकी बहिनी योजना १७ वर्षको उमेरमा धेरै पैसा कमाउने प्रलोभनमा स्थानीय एजेन्ट रूपक राईको पछि लागेर घरेलु कामदारका रूपमा ओमान गएकी थिइन्।

‘१० वर्षअघि दलालले धेरै पैसा कमाउने लोभ देखाएर वैदेशिक रोजगारमा लाने भनेर लगेका थिए। हामीलाई ओमानमा घरायसी कामदार बन्नुपर्छ मात्र भनेका थिए । त्यहाँसम्म जाने खर्च पनि ओमानमा कमाएपछि दिँदा हुन्छ भनेका थिए,’ लहरीले भनिन्, ‘तर, १० वर्षअघि वैदेशिक रोजगारमा गएकी योजनाको हालसम्म कुनै अत्तोपत्तो छैन।’

बहिनी भेटिने आसमा दिदी लहरी र दाजु मनोज ऋषिदेवले भोट माग्न आउने नेता–कार्यकर्तालाई याचना गर्दै भन्ने गरेका छन्, ‘यसपालि हामी हाम्रो बहिनी खोजेर ल्याइदिनेलाई मात्र भोट दिन्छौँ । नत्र भोट नै हाल्दैनौँ।’

दिदी लहरीका अनुसार योजनाले १७ वर्षको कलिलो उमेरमा बिहे गरेर एक छोरीलाई जन्म दिएकी छिन्। काखे छोरी छाडेर उनी धेरै पैसा कमाउने र छोरीको राम्रो लालनपालन गर्ने आसमा स्थानीय एजेन्ट राईको  पछि लागेर हिँडेकी उनी १० वर्ष बितिसक्दा पनि घर फर्किएकी छैनन्।

घरबाट बिदा भएको ६ महिनापछि योजनाको कुनै अत्तोपत्तो नभएपछि ऋषिदेव परिवारले स्थानीय बासिन्दा, नेता, एजेन्टलगाायतलाई खोजी कार्यका लागि गुहारे पनि कतैबाट सहयोग पाएका छैनन्। 

पछिल्लो समय एजेन्ट राईले योजना बेपत्ता भएको विषय बाहिर सार्वजनिक गरे परिवारलाई नै अप्ठ्यारो पार्ने भन्दै धम्की दिन थालेका छन्।

बेपत्ता योजनाकी छोरी कल्पना १२ वर्ष पुगिसकेकी छिन्।  उनी हाल नजिकैको श्रीलाल आधारभूत विद्यालयमा चार कक्षामा अध्ययन गर्दै छिन्।

आमा लामो समयसम्म घर नफर्केपछि बुबाले अर्की श्रीमती ल्याएको कल्पनाले सुनाइन्। ऋषिदेव परिवारको मनस्थिति बुझ्न पुगेका पत्रकारसामु छोरी कल्पनाले मलिन अनुहार लगाउँदै भनिन्, ‘हाम्री आमा मरेकी भए हामीलाई प्रमाण मात्र पुर्याइदिए हुने थियो, तर आमा मरेको वा बाँचेको केही अत्तोपत्तो छैन। दलालले उल्टै घरमा आएर  धम्क्याउँछन्। नेताहरू पनि कसैले सहयोग गर्दैनन्।’

ऋषिदेव परिवारसहित मुसहरी बस्तीका अधिकांशले योजनालाई वैदेशिक रोजगारको बहानामा मानव बेचबिखन गरेको आशंका गरेका छन्। तर, पहुँच अभाव र एजेन्ट राईको धाकधम्कीका कारण उनीहरूले प्रहरीमा उजुरी दिन सकेका छैनन्। 

यस विषयमा एजेन्ट राईसँग बुझ्न खोज्दा उनले धेरैलाई वैदेशिक रोजगारीमा पठाउने गरेको, अहिले पनि पठाइरहेको, तर योजनाको बारेमा केही थाहा नभएको छोटो प्रतिक्रिया दिए।

सुन्दरहरैँचाको नागरिक अगुवा लता न्यौपानेले योजना ऋषिदेव बेपत्ता भएको सम्पूर्ण विवरण बुझेर खोजीकार्यमा जुट्ने र दोषीलाई कानुनी सजाय दिलाउन लागिपर्ने बताइन्।

सामुदायिक वन क्षेत्रको ऐलानी जमिनमा करिब ५० घर विपन्न मुसहर परिवार छन्। यहाँ माध्यमिक तह (एसइई) उत्तीर्ण एकजना पनि छैनन्। 

बालविवाह, कुपोषण, अशिक्षा, दीर्घरोगीलगायतको बाहुल्य छ। यहाँका बालबालिका विद्यालय जानुको सट्टा कलिलो उमेरमै जंगलबाट दाउरा ल्याएर बिक्री गरेर दैनिक जोहो छार्ने गरेका छन्। 
 
 

सुझावित समाचार