Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ९ आइतबार ०८:३४:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

'हामी चुनावबाट अलग्गिनुपर्ने स्थिति पनि आउन सक्छ' (अन्तर्वार्ता)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ९ आइतबार ०८:३४:००

 

अर्जुननरसिंह केसी, नेता (इतर समूह)


समानुपातिक सूचीमा तपाईंहरूको असन्तुष्टि के हो ? 
हामीले सभापतिलाई यो वा त्यो पक्ष नभनी व्यक्तिगत गुण र दोषका आधारमा निष्कर्षमा पुगौँ भनेको हो । होइन, आफ्नो ढंगले गर्नुहुन्छ भने ४० प्रतिशत नामावली दिन्छौँ भनेका हौँ । तपाईंहरू नाम एक नम्बरमा नाम राख्नुस्, हामीलाई दोस्रोमा राख्दा हुन्छ भनेका थियौँ । अन्तिम दिनसम्म छलफल गरेर पठाऊँ भनेको हो । त्यसपछि सभापतिले १६ गतेसम्म समय छ, सबैसँग परामर्श गरेर न्यायोचित बनाउँला भन्नुभयो । बन्दसूचीमा क–कसको नाम कसरी पठाइयो भन्ने थाहा छैन ।

सूची बुझाएपछि छलफल भयो त ?
छलफल भएको छैन, प्रतीक्षामा छौँ । राष्ट्रपतिको कदम र गठबन्धनभित्रै सिट बाँडफाँडको सकसले छलफल नभएको हुन सक्छ । तत्काल पार्टीमा छलफल हुनुपर्छ ।

बन्दसूची सच्याउने काम नभए के हुन्छ ?
एकलौटी ढंगले अगाडि बढे तपाईंहरू नै गर्नुस् भनेर अलग्गिनुपर्ने स्थिति पनि आउन सक्छ, तर त्यस्तो सोचेका छैनौँ । छलफल सुरु हुँदै छ भन्ने आशा गरेका छौँ । पार्टीमा गम्भीर चुनौतीको अवस्था रहेकाले एक हुनुको विकल्प छैन ।

 

पार्टी हितविपरीत जाने अधिकार कसैलाई छैन, असन्तुष्टि सम्बोधन हुन्छ : सहमहामन्त्री उपाध्याय

महालक्ष्मी उपाध्याय,कांग्रेस सहमहामन्त्री

चुनावको मुखमा कांग्रेसमा किन भाँडभैलो हुँदै छ ?
भाँडभैलोभन्दा पनि कम सिटमा धेरै आकांक्षी हुँदा त्यस्तो देखिएको हो । प्रजातान्त्रिक पार्टीमा आकांक्षा राख्नु स्वाभाविक नै हो । थोरै सिटमा धेरैलाई समेट्न सकिने अवस्था छैन । समानुपातिकको बन्दसूची बुझाइसकिएको छ । त्यसमा पनि सबैलाई चित्त बुझ्न सकेको छैन । तर, पार्टीको असन्तुष्टि व्यवस्थापन गर्न नेतृत्व तहमा प्रयास भइरहेको छ ।

समानुपातिक सूचीमा तपाईंहरूले एकलौटी गरेको आरोप छ नि ?
हतारहतारमा समानुपातिकको बन्दसूची बुझाउनुपर्ने अवस्था रह्यो । आकांक्षी धेरै हुँदा सबैलाई समेट्न सकिएको छैन । यसमा एकपक्षीय भएको छैन । असन्तुष्टि धेरै हुँदा त्यस्तो देखिएको हो । यसमा कुनै समूह मात्रको असन्तुष्टि छ भन्ने होइन । 

इतर समूहलाई ४० प्रतिशत दिएर सच्चिने सम्भावना के छ ?
समानुपातिकको पनि नाम सच्याउने समय छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार ९–१६ असोजसम्म सच्याउने समय छ । १० असोजबाट पार्टीमा पनि छलफल गर्ने भन्ने छ । छलफल गरेर टुंगो लगाउँछौँ ।

प्रत्यक्षमा उहाँहरूले कति पाउनुहुन्छ ?
प्रत्यक्षतर्फको त छलफलकै क्रममा रहेको विषय भयो । नेतृत्व तहमा यसबारे छलफल भइरहेको छ । छलफलबाट पार्टीमा न्यायोचित टिकट वितरण हुन्छ । 

उहाँहरूले भेला नै गरेर न्यायोचित टिकट नपाए गठबन्धनका उम्मेदवारलाई भोटै दिन्न भन्नुभएको छ, के गर्नुहुन्छ ?
निर्वाचनमा पार्टीलाई एक गराएर लैजानुको विकल्प छैन । पार्टीको हितविपरीत जाने अधिकार कसैलाई छैन । नेतृत्वले असन्तुष्टिलाई व्यवस्थापन गर्छ । कांग्रेस एक भएर निर्वाचनमा जानेछ ।

 

याे पनि : बन्दसूचीले कांग्रेसमा बबाल