मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश सुवेदी काठमाडौं
२०७९ असोज ३ सोमबार ०८:२६:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आज महिला साफ च्याम्पियनसिप फाइनल : नेपाललाई उपाधि भित्र्याउने अवसर

Read Time : > 3 मिनेट
रमेश सुवेदी काठमाडौं
२०७९ असोज ३ सोमबार ०८:२६:००

दशरथ रंगशालामा सोमबार दक्षिण एसियाली महिला च्याम्पियनसिप (साफ)ले नयाँ विजेता पाउनेछ । उपाधि भिडन्तमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । साबिक पाँचपटकको विजेता भारत सेमिफाइलनबाट बाहिरिएसँगै साफ च्याम्पियनसिपले नयाँ विजेता पाउने टुंगो लागेको हो । यसअघि नेपालले चार तथा बंगलादेशले एकपटक फाइनल खेलेको थियो । नेपाल र बंगलादेश सबै फाइनलमा भारतसँगै पराजित भएका थिए । 

नेपाल र बंगलादेशमध्ये एक टोली च्याम्पियन हुँदा इतिहास रच्ने पक्का छ । नेपाल घरेलु दर्शकमाझ ट्रफी उचाल्ने दाउमा छ । बंगलादेश घरेलु दर्शकलाई स्तब्ध बनाउन चाहन्छ । छैटौँ साफ प्रतियोगितामा दुवै टोली अपराजित छन् । फाइनल नजितासँगै एक टोलीको अपराजित यात्रामा पूर्णविराम लाग्नेछ । 

फाइनल यात्रा 
समूह ‘बी’को प्रतिस्पर्धामा नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गर्‍यो । दोस्रो खेलमा श्रीलंकालाई ६–० ले स्तब्ध बनायो । समूह विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले साफ च्याम्पियनसिपकै सर्वाधिक सफल टोली भारतविरुद्ध १–० को सनसनी जित निकाल्दै पाँचौँपटक उपाधिनजिक आफूलाई उभ्यायो । समूह ‘ए’को खेलमा बंगलादेशले माल्दिभ्स र भारतलाई समान ३–० ले पराजित गर्‍यो । आठ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किएको पाकिस्तानविरुद्ध आधा दर्जन गोल गर्‍यो । 

समूह ‘ए’को विजेता बन्ने क्रममा बंगलादेशले समेत भारतविरुद्ध ऐतिहासिक जित निकाल्यो । लगातार दोस्रो खेलमा पराजित भएको भारतको साफ च्याम्पियनसिपको इतिहासमै यस संस्करण बिर्सनलायक रह्यो । बंगलादेशले सेमिफाइनलमा पहिलोपटक स्थान बनाएको भुटानमाथि ८–० को जित निकाल्यो । 

प्रशिक्षक र कप्तानका दाबी
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनलको पूर्वसन्ध्यामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तान उपाधि जित्नेमा विश्वासी देखिएका छन् । प्रशिक्षकद्वयले एकअर्कालाई बलियो मान्दै फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरे । नेपालले घरेलु दर्शकको उपस्थितिले ऊर्जा थपिने र उपाधि जित्न यसैलाई हतियार बनाउने मानेको छ । बंगलादेशले युवा खेलाडीको उत्कृष्ट लयलाई निरन्तरता दिने योजना बुनेको छ । 

हेड टु हेड 
नेपाल र बंगलादेशबीच साफ च्याम्पियनसिपमा तीनपटक भेट भएको छ । तीन खेलमा नै नेपालले बाजी मारेको छ । तुलनात्मक रूपमा नेपाल बलियो देखिन्छ । यसपटक बंगलादेशले आफू निकै सुधारिएको प्रदर्शन गरेको छ । सन् २०१० को पहिलो संस्करणमा नेपाल र बंगलादेशबीच सेमिफाइनलमा भेट भएको थियो । कप्तान जमुना गुरुङको दुई तथा अनु लामाको एक गोलमा नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो ।

सन् २०१४ को सेमिफाइनलमा पनि नेपाल र बंगलादेशबीच नै प्रतिस्पर्धा भयो । सजना रानामगरले ५६औँ मिनेटमा गरेको पेनाल्टी गोलमा नेपाल विजयी भयो । सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपाल र बंगलादेशले फेरि प्रतिस्पर्धा गरे । मसुरा प्रविनको आत्मघाती गोल, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनको गोलमा बंगलादेश ३–० ले निराश बन्यो । ०७८ साल भदौमा दशरथ रंगशालामै नेपाल र बंगलादेशले दुई मैत्रीपूर्ण खेल खेलेका थिए । पहिलो खेलमा नेपाल २–१ ले विजयी हुँदा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

‘क्लिन सिट’ भिडन्त
नेपाल र बंगलादेशबीचको फाइनल खेल ‘क्लिन सिट’को समेत प्रतिस्पर्धा हो । प्रतियोगितामा नेपालले तीन खेल खेल्दा बंगलादेशले चार खेल खेलेको छ । दुवै टोलीले फाइनलसम्म यात्रा गर्दा विपक्षीबाट गोल बेहोरेका छैनन् । नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा तथा बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा फाइनल खेलमा समेत ‘क्लिन सिट’ राख्ने योजनामा छन् । नेपालले तीन खेलमा ११ गोल गरेको छ । बंगलादेशले चार खेलमा २० गोल गरेको छ ।

तीन खेलाडीले सन्न्यास लिँदै
छैटौँ संस्करणको फाइनलसँगै नेपालका तीन खेलाडीले सन्न्यास घोषणा गर्दैछन् । डिफेन्डर पुनम जर्घामगर, मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले फाइनलपछि महिला राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गर्ने भएका हुन् । त्रिभुवन आर्मी फुटबल क्लबमा जागिरसँगै फुटबललाई अघि बढाएका तीनै खेलाडी नियमित टोलीका सदस्य हुन् । डिफेन्डर पुनम जारी साफमा तीनै खेलमा ‘प्लेइङ सेट’मा खेलेकी थिइन् । फाइनलमा समेत नेपालको ‘सेन्टर ब्याक’को जिम्मेवारी पुनमले सम्हाल्नेछिन् । मुटुको समस्याका कारण पुनम गत भदौमा भएको दुई मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध बाहिर रहेकी थिइन् ।

चोटका कारण दीपा जारी साफमा बेन्चबाट मैदान प्रवेश गर्दै आएकी थिइन् । इन्दिरा बेन्चमै सीमित हुँदै आएकी छिन् । तीनै खेलाडी सेनाको ‘मिसन’मा जाँदै छन् । मिसनको एकवर्षे कार्यकाल पूरा गरेर फर्कंदा स्वाभाविक लय गुम्ने उनीहरूको ठम्याइ छ । तीनजना खेलाडीले सन्न्यास लिने सही समय आएको दीपाले नयाँ पत्रिकालाई बताइन् । ‘मिसन फरक कुरा हो । घरेलु मैदान र दर्शकबीच बिदाइ लिनु नै उपयुक्त लाग्यो । हामी खेल जित्दै सुखद बिदाइ हुन चाहन्छौँ,’ दीपाले भनिन् ।  

ऐतिहासिक दिन बनाउँछौँ 
कुमार थापा, प्रशिक्षक, नेपाल

हाम्रो तयारी विगत नौ सातादेखि छ । फाइनल जित्दै इतिहास बनाउन चाहन्छौँ । ट्रफीमा नाम लेखाउने अर्जुनदृष्टि छ । हामीलाई घरेलु मैदानको राम्रो वातावरण छ । मैदानको फाइदाका साथै घरेलु दर्शकको माया छ । बंगलादेशविरुद्ध शारीरिक, मानसिक र प्राविधिक रूपमा तयार छौँ । हामी उपाधि हात पार्न एक सेन्टिमिटर पनि छाड्दैनौँ । जित्न पूरा मिहिनेत गर्छाैं । युवा र अनुभवी खेलाडीलाई अवसर छ । फाइनल खेलमा जसले सुरुआती गोल गर्छ, त्यसैले जित्छ । हामी गोल गर्नेछौँ । दर्शकले ऊर्जा दिन्छन् । हामी ट्रफी दिन्छौँ । विपक्षीको कुरा गर्दा बंगलादेश युवा टिमले भरिएको छ । टेक्निकल रूपमा बलियो छ । टिमवर्क राम्रो छ । 

हामी खेलेर देखाउँछौँ
एन्जिला तुम्बाप्पो सुब्बा, कप्तान, नेपाल

पहिलोपटक भारतलाई हराएर ऐतिहासिक जितसहित फाइनलमा पुगेका छौँ । उपाधि जित्न प्रयास गर्नेछौँ । बोल्नुभन्दा पनि मैदानमा खेलेर देखाउँछौ । शारीरिक, प्राविधिक र मानसिक रूपमा तयार छौँ । बंगलादेश विगतभन्दा बलियो छ । हामी सुधारिएको खेल प्रदर्शन गर्छाैं । गल्ती कम गर्दै गोल गर्न सक्छौँ । टिम सकारात्मक छ । नतिजासमेत सोहीअनुसार आउँछ । 

फाइनल प्रतिस्पर्धात्मक हुनेछ
गोलम रोब्बानी चोटन, प्रशिक्षक, बंगलादेश

फाइनल खेल्न हाम्रो टिम तयार छ । फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगाएको छु । नेपाल शारीरिक, मानसिक र प्राविधिक रूपमा बलियो छ । हाम्रो टोली राम्रो छ । खेल धेरै प्रतिस्पर्धात्मक हुनेछ । नेपाल घरेलु टोली हो । तर, हाम्रो पछिल्लो खेल निकै राम्रो भएको छ । खेलाडीलाई दबाबमा खेल्न बानी परेको छ । नेपाली समर्थक सेमिफाइनलमा सात हजार थिए । फाइनलमा १५ हजार पुग्लान्, तर पनि हामी डर मान्दैनौँ । हामीलाई यस्तो ‘क्राउड’मा खेलेको बानी छ । हामी नेपालविरुद्ध रणनीति परिवर्तन गर्दैनौँ । सावित्रा (नेपाली स्ट्राइकर) फर्कनु हाम्रो लागि राम्रो हुनेछैन । तर, हामी टिम गेम खेल्दै उपाधि जित्छौँ । 

मिहिनेतका साथ जित्छौँ
सविना खातुन, कप्तान, बंगलादेश

हामीसँग अनुभवी खेलाडी छन् । ३–४ वर्षदेखि सँगै छौँ । नेपालविरुद्ध पूरा मिहिनेत गर्नेछौँ । उपाधि जित्न हामी पूरै मिहिनेतका साथ प्रतिस्पर्धा गर्छौं । सन् २०१४ बाट यही टिम रहेकाले पनि राम्रो भएको छ । अनुभवी पनि छ । 

सम्भावित नेपाली टिम 
गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेन्डर : अमृता जैशी, पुनम जर्घामगर, गीता राना, हिराकुमारी भुजेल
मिडफिल्डर : अनिता केसी, दीपा शाही, सरु लिम्बू, अनिता बस्नेत
स्ट्राइकर : अमिषा कार्की, सावित्रा भण्डारी