मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १२ आइतबार २०:०३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नेपालपछि चिनियाँ कम्युनिस्ट पार्टीका नेता कम्बोडिया र फिलिपिन्समा सक्रिय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १२ आइतबार २०:०३:००

विदेश विभागको नेतृत्व सम्हालेलगत्तै नेपाल भ्रमण गरेका चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियान्चाओले अगस्ट अन्तिम साता कम्बोडिया र फिलिपिन्समा नेताहरूसँग सघन संवाद गरेका छन्। नेपालपछि चीनले कम्बोडिया र फिलिपिन्सलाई उच्च प्राथमिकतामा राखेको हो। 

चीनले आगामी वर्ष चीन र कम्बोडियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवलाई सम्बन्ध विस्तारको अवसरका रूपमा लिएको छ र लिउले त्यसको गृहकार्य थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। लिउले २४ अगस्टमा कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गरेका थिए। कम्बोडियालाई चीनले सार्वभौमसत्ता र राष्ट्रिय गरिमाको रक्षा गर्न र राष्ट्रिय परिस्थितिअनुरूप विकासको बाटो पछ्याउन दृढतापूर्वक समर्थन गर्ने उनले बताएका छन्। 

कम्बोडियाले पनि चीनसँग सघन सहकार्य गरी अघि बढ्न तयार रहेको जनाएको छ। विदेश विभाग प्रमुख लिउले कम्बोडियाकोे राजनीतिक र सामाजिक स्थिरता, द्रुत आर्थिक विकास तथा शान्तिका लागि जनताको लगनशीलता र मेहनत रहेको बताए। कम्बोडियन जनता, कम्बोडियन पिपुल्स पार्टी र सरकारको इमानदार नेतृत्वका कारण कम्बोडियाले महत्वपूर्ण प्रगति हासिल गरेको उनको भनाइ छ।

कम्बोडिया पक्षले कम्बोडिया–चीन व्यापक रणनीतिक सहकारी साझेदारीको विस्तार र सुदृढीकरण दुई देशका जनताको साझा आकांक्षाअनुरूप रहेको बताएको छ। अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्था द्रुत रूपमा परिवर्तन भइरहेको अवस्थामा दुई देशले फलामजस्तो सुदृढ मित्रता कायम राखेको लिउको भनाइ छ। कम्बोडियाको पिपुल्स पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँगको आदान-प्रदान र सहयोगलाई सुदृढ गर्न, दुई देशबीचका विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ प्रगाढ बनाउन तथा बिआरआईअन्तर्गत कम्बोडियाको निर्माणमा अघि बढ्ने इच्छा जनाएको छ।