१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश सुवेदी नयाँ पत्रिका
२०७९ भदौ ४ शनिबार ०८:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षकमा प्रदीपको छलाङ

Read Time : > 1 मिनेट
रमेश सुवेदी नयाँ पत्रिका
२०७९ भदौ ४ शनिबार ०८:१५:००

मुख्य प्रशिक्षक अलमुताइरी बिदामा रहँदा हुमागाईंलाई राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने अवसर 

ललितपुर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजका लागि प्रदीप हुमागाईंलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्ट मार्की खेलाडी रहेको ललितपुरले समूह चरणमा खासै राम्रो खेल्न सकेन । विदेशी उत्कृष्ट खेलाडी समावेश गर्दै एनएसएलमा ‘आयो लाखे’ नारा लिएर होमिएको ललितपुरको प्रदर्शन सम्झन लायक नभएपछि हुमागाईंलाई व्यवस्थापनले बर्खास्त गर्‍यो । 

सुरुवातको चार खेलमा तीन अंक जोडेपछि कार्यवाहक प्रशिक्षक राजु तामाङले बाँकी तीन खेलमा शतप्रतिशत जित निकाल्दै ललितपुरलाई कम्तीमा प्लेअफमा स्थान पुर्‍याए । त्यसपछि हुमागाईं अमेरिकामा हान्निए । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा २६ साउनमा बसेको दोस्रो बैठकले हुमागाईंलाई राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षकमा नियुक्त गर्‍यो । 

राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकका रूपमा जिम्मेवारी पाउँदा करिअरमा ठूलो अर्थ राख्ने हुमागाईं बताउँछन् । ‘एक प्रकारले ‘सरप्राइज’जस्तो पनि भयो,’ एएफसी ‘ए’ लाइसेन्स प्राप्त हुमागाईंले भने । प्रशिक्षक हुमागाईंसँग सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबलाई च्याम्पियन बनाएको अनुभव छ । ०६९ सालमा थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले राजीनामा दिएपछि क्लबले तत्काल सहायक प्रशिक्षक हुमागाईंलाई जिम्मेवारी दियो । थ्री स्टारले अन्तिमपटक ‘ए’ डिभिजन लिग जितेको हुमागाईंकै प्रशिक्षणमा हो । 

दुईपटक स्ववियु सभापति
खेलाडी र प्रशिक्षकका रूपमा उनीसँग ठूला उपलब्धि कम छन् । विद्यार्थी राजनीतिमा हुमागाईं सफल थिए । शिक्षा क्याम्पसमा अध्ययन गरेका उनी दुईपटक स्ववियु सभापति भए । हुमागाईंलाई कार्यवाहक जिम्मेवारी सुम्पिएपछि नेपालमै रहेर काम गरिरहेका प्रशिक्षक एन्फासँग असन्तुष्ट छन् । उनीहरू वर्षभरि नेपालमै रहेर काम गरेको एन्फाले वास्ता नगरेको आरोप लगाउँछन् ।

‘हामी नेपालमा काम गर्ने धेरै छौँ, तर हुमागाईंलाई जिम्मेवारी सुम्पिएको छ, टेक्निकल कमिटीले गर्नुपर्ने निर्णयलाई पनि राजनीतिसँग लगेर जोडिन थाल्यो,’ एन्फामा कार्यरत एक प्रशिक्षकले भने, ‘पावरकै भरमा प्रशिक्षक नियुक्त गर्दा के नेपाली फुटबलको भविष्य यसरी नै  चल्ने हो ? फिफाकै नियमअनुसार मुख्य प्रशिक्षक नहुँदा सहायकलाई जिम्मेवारी सुम्पिनुपर्छ, राजनीतिक दबाबमा आयो ।’ 

नेपालमा रहेका कति प्रशिक्षकले ६ असारमा सम्पन्न एन्फा चुनावमा नेम्वाङलाई जिताउन भूमिका खेलेको र राजनीतिक शक्तिमा नेपाली टोलीका कार्यवाहक प्रशिक्षक बनेको आरोप लगाएका छन् । 

कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएसँगै हुमागाईंले आफ्नो क्याम्पका युगलकिशोर राई र विनोद डंगोललाई बोलाएका छन् । उनले यसअघिका सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षक विकास मल्ललाई बाहिर राखे । 

बंगलादेशविरुद्ध अवसर
मैदानबाहिर जस्तो राजनीति भए पनि कार्यवाहक प्रशिक्षक हुमागाईंको पहिलो प्राथमिकता मातृभूमि नै हो । ‘दुई वर्षयता एनआरएनएका रूपमा अमेरिकामा बस्दै आएको छु, एकेडेमीसँग सम्झौता नै नेपाल प्राथमिकतामा भनेको छु । सबै कुरा छाडेर ‘च्यालेन्ज’ स्वीकार गर्न आएको हो,’ उनले भने । ११ असोजमा नेपालले दशरथ रंगशालामा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । उनले प्रारम्भिक प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएका छन् । 

प्रशिक्षणमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बाहिर राखेका खेलाडीसमेत समावेश छन् । सुमन लामा अस्ट्रेलिया रहँदा कप्तान किरणकुमार लिम्बू (चेम्जोङ), तेज तामाङ, अनन्त तामाङ, सुजल श्रेष्ठ, रोहित चन्द, विशाल राई, विशाल श्रेष्ठ, दिनेश राजवंशी र विमल घर्तीमगरलाई बोलाइएको छ । यस्तै, अब्दुल्लाहको रणनीतिबाहिर रहँदै आएका अभिषेक रिजाल, भरत खवास, रञ्जित धिमाल, विकेश कुथुलाई पनि प्रशिक्षणमा स्थान दिइएको छ ।

गत वैशाख दोस्रो साता प्रशिक्षक अब्दुल्लाह र १० खेलाडीबीच मनमुटाव हुँदा यी खेलाडी बाहिर थिए । नियमित टोलीका खेलाडीलाई बाहिर राख्दै अब्दुल्लाहले नेपाली टिमलाई एएएफसी एसियन कप छनोट खेल्न कुवेत पुर्‍याएका थिए । त्यसयता, प्रशिक्षक अब्दुल्लाह्र तीन महिनाको बिदामा गृहनगर कुवेत सिटीमै छन् ।