अभद्र व्यवहार गरेको भन्दै प्रदेश खेलकुद बोर्डका सदस्य–सचिव वाग्लेलाई कारबाही माग
सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको भन्दै प्रशिक्षक तथा खेलकुद संघहरूले कोशी प्रदेशका खेलकुद परिषद् सदस्य–सचिव हंसराज वाग्लेलाई कारबाहीको माग गरेका छन्।
मोरङका अधिकृतस्तरका उसु प्रशिक्षक विनोद मरिकलाई राष्ट्रिय प्रतियोगितामा प्रशिक्षक पठाउनुपर्नेमा वञ्चित गरेको तथा सूचना माग गर्दा उल्टै सार्वजनिक रूपमा गालीगलौज गरेर अभद्र व्यवहार गरेको भन्दै सदस्य सचिव वाग्लेलाई कारबाही गर्न एक दर्जन खेलकुद संघहरूले माग गरेका हुन्।
मोरङमा ०५२ सालदेखि उसुको प्रशिक्षक रहँदै आएका मरिकले ३० चैतदेखि २ वैशाखसम्म सुनसरीको इटहरीमा सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिड सिल्ड प्रतियोगितामा निर्णायक संयोजक भएर मोरङका १२ मध्ये ८ खेलाडीलाई प्रथम बनाउन सफल भएका थिए।
तर, सदस्य–सचिव वाग्लेले ४ देखि ६ वैशाखमा सम्पन्न राष्ट्रिय उसु प्रतियोगितामा नियमअनुसार मरिकलाई प्रशिक्षक पठाउनुपर्नेमा ३ वैशाखमा भएको बिदाइ समारोहमा उल्टै अपशब्द प्रयोग गरी गालीगलौज गरेको र विज्ञता नभएका व्यक्तिलाई प्रशिक्षक बनाएर पठाएको पीडित प्रशिक्षक र खेलकुद संघहरूको आरोप छ।
जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय प्रशिक्षकका रूपमा मरिकलाई सिफारिस गरे पनि वाग्लेले नियमविपरीत आफूले नियुक्त गरेको व्यक्तिलाई सुटुक्क प्रशिक्षक बनाएर पठाई अधिकृतस्तरका तृतीय प्रशिक्षकलाई गालीगलौज गर्दै जागिर खाइदिने धम्की दिएकाले कारबाही गर्न संघहरूको माग छ।
घटना छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद्, कोशी प्रदेश सरकार, उसु महासंघ र जिल्ला प्रशासनसमक्ष मोरङ प्रशिक्षक संघसहित उसु, एथलेटिक्स, व्याडमिन्टन, कराँते, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबललगायत एक दर्जन खेलकुद संघ र पीडित प्रशिक्षकले माग गरेका छन्।
प्रशिक्षक वाग्लेले मनोमानी तरिकाले खेलकुद प्रशिक्षक नियुक्त गरेको आरोपमा कोशी प्रदेश सरकारले उनीमाथि छानविन गरी कार्वाही गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइसकेको छ। त्यसपछि सामाजिक विकास मन्त्रालयले तत्काल प्रशिक्षकहरूलाई परिचालन नगर्न खेलकुद परिषद्का प्रदेश सचिव वाग्लेलाई रोक लगाएको छ।