१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १२:११:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अधिक तरलतामा पनि बैंकहरूले भित्र्याए ३० अर्बभन्दा बढीको विदेशी ऋण

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:११:oo

लगानी गर्न नसकेर अधिक तरलता खेप्नुपरेको अवस्थामा पनि बैंकहरूले ३० अर्बभन्दा बढी विदेशी ऋण भित्र्याएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा ११ बैंक तथा वित्तीय संस्थाले ३० अर्ब २३ करोड २० लाख २० हजार (२२ करोड ६० लाख अमेरिकी डलर)बराबरको विदेशी ऋण ल्याएका छन् । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब ७५ करोडको ऋण भित्र्याएका थिए । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा १७ अर्ब ७२ करोडको ऋण ल्याएका थिए । 

केन्द्रीय बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य पुँजी (तरलता) थुप्रिएर पाँच खर्ब ७० अर्ब पुगेको छ । बैंकहरूलाई चुक्ता पुँजीको शतप्रतिशतसम्म विदेशी ऋण ल्याउन पाउने सुविधा छ । तर, अन्तर्राष्ट्रिय बजारमा ब्याजदर महँगो रहेको अवस्थामा बैंकहरूले बढी ऋण नल्याउनु नै बुद्धिमानी हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनले भने, ‘अहिले बैंकहरू आफैँ निक्षेपअनुसार कर्जा लगानी गर्न सकिरहेका छैनन् । यस्तोमा थप ऋण ल्याउने कुरा पनि आएन । त्यसबाहेक अन्तर्राष्ट्रिय बजारमा ब्याजदर अझै महँगो रहेकाले यतिवेला ऋण नल्याएकै उचित हुन्छ । भविष्यमा ब्याजदर सस्तिएको वेलामा ऋण ल्याउनु नै बुद्धिमानी हुन्छ ।’

अहिलेको अधिक तरलताको अवस्थामा बैंकहरूलाई ऋण भित्र्याउनुपर्ने आवश्यकता नदेखिए पनि निजी क्षेत्रमा लगानीको स्रोत अभावै रहेको जानकारहरू बताउँछन् । लगानीको स्रोत अपुग भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले विदेशी ऋण ल्याएर परिचालन गर्नु सकारात्मक भएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

विदेशी ऋण लिइसकेपछि तोकिएको क्षेत्रभन्दा बाहिर जान नमिल्ने उनको भनाइ छ । उनले भने, ‘बैंकहरूले ल्याउने विदेशी ऋण लक्षित क्षेत्रमा केन्द्रित हुन्छ । जथाभावी लगानी गर्न पाइँदैन । ग्रिन फाइनान्स, ऊर्जाजस्ता रूपान्तरणकारी योजनामा यस्तो ऋण परिचालन गर्नुपर्ने सर्त हुने भएकाले यस्तो स्रोत परिचालन सदुपयोग हुने सम्भावना रहन्छ ।’ 

नौ महिनामा बैंक तथा वित्तीय संस्थाले भित्र्याए ३० अर्ब २३ करोड विदेशी ऋण, तीन बैंकले लिए १६ अर्ब १८ करोडको स्वीकृति

सरकारले १६ र १७ वैशाखमा हुँदै गरेको लगानी सम्मेलनलाई लक्षित गरेर सार्वभौम साख मूल्यांकन (सोभरन क्रेडिट रेटिङ) गराउने तयारी गरेको छ । ०७५ मा दोस्रो लगानी सम्मेलन गर्दा नै क्रेडिट रेटिङको तयारी सुरु भएको थियो । तर, कोभिडका कारण रोकिएको क्रेडिट रेटिङ अहिले भने भइरहेको छ । देशको सार्वभौम साख मूल्यांकन गर्ने भएमा यसले बैंक तथा वित्तीय संस्था मात्र नभई समग्र उद्योगले ऋण तथा लगानी भित्र्याउने सम्भावना रहन्छ । 

चालू आर्थिक वर्षको नौ महिनामा तीन बैंक तथा वित्तीय संस्थाले विदेशी ऋण भित्र्याउने स्वीकृति लिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । उनीहरूले १६ अर्ब १८ करोड ६१ लाख ७० हजारको विदेशी ऋणको स्वीकृति लिएका हुन् । आर्थिक वर्ष ०७९/८० सम्म बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब ७० करोडको विदेशी ऋण भित्र्याउन राष्ट्र बैंकबाट स्वीकृति पाएका थिए । आर्थिक वर्ष ०७८/७९ मा संस्थाहरूले ४० अर्ब आठ करोडको स्वीकृति लिएका थिए । एक वर्षमा बैंकहरूले स्वीकृति लिएको ऋणमा चार अर्ब ६२ करोडले (११.५ प्रतिशत) वृद्धि भएको थियो । 

 कुन–कुन बैंकले कति ल्याए ऋण ?
पछिल्ले पाँच वर्षमा नबिल बैंकले हालसम्म दुई करोड अमेरिकी डलर ऋण लिएको छ । जुन गत आर्थिक वर्षमै तिरिसकेको बैंकले जानकारी दिएको छ । हिमालयन बैंकले गत २६ जेठमा पाँच लाख डलर र ३१ जेठमा १० लाख डलर स्ट्यान्डर्ड चार्टर बैंक सिंगापुरबाट लिएको थियो । त्यस्तै, माछापुच्छ्रे बैंकले चार वर्षअघि (सन् २०२० मा) एक करोड अमेरिकी डलर र सन् २०२३ मा एक करोड ५० लाख डलर ऋण भित्र्याएको थियो । 

०७९ असारमा एभरेष्ट बैंकले दुई करोड डलरको ऋण लिएको थियो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि दुई करोड अमेरिकी डलरको ऋण ल्याएकोमा यो चुक्ता पनि गरिसकेको जानकारी दिएको छ । सानिमा बैंकले हालसम्म चार करोड ५० लाख डलर ऋण लिएको थियो । जसमध्ये तीन करोड ३० लाख डलर फिर्ता भइसकेको बैंकले जानकारी दिएको छ । चालू आर्थिक वर्षको फागुनसम्ममा एक करोड २० लाख डलर ऋण बक्यौता रहेको छ । 

०७५/७६ मा ग्लोबल आइएमई बैंकले विदेशी ऋणबापत ५१ करोड ८५ लाख पाँच हजार सात सय एक रुपैयाँ उपभोग गरेको थियो । ०७६/७७ मा यो बढेर दुई अर्ब ९२ करोड २५ लाख पाँच हजार सात सय एक पुगेको थियो । ०७७/७८ मा दुई अर्ब ८८ करोड सात लाख ६५ हजार चार सय ७३ कायम भएको थियो । त्यसपछि ०७८/७९ मा ६ अर्ब २१ करोड १७ लाख ८५ हजार १७ रुपैयाँ पुगेको थियो । गत आर्थिक वर्षसम्म तीन अर्ब ७२ करोड पाँच लाख ४४ हजार सात सय ८९ पुगेको यस्तो ऋण चालू आर्थिक वर्षमा ह्वात्तै बढेको छ । फागुन मसान्तसम्म बैंकको विदेशी ऋण ११ अर्ब ७९ करोड ३३ लाख ६४ हजार तीन सय ३३ रुपैयाँ कायम भएको छ । पाँच वर्षको औसत विनिमय दरअनुसार नौ करोड ५३ लाख २३ हजार २२ डलर हो । 

त्यस्तै, लक्ष्मी सन्राइजले ०७८ असारसम्म तीन करोड डलर ऋण भित्र्याएको थियो । ०७९ असारसम्म ६ करोड २४ लाख डलर र गत असार मसान्तसम्म यस्तो ऋण तीन करोड ८६ लाख ५० हजार डलर कायम भएको थियो । फागुन मसान्तसम्म आइपुग्दा बैंकले तीन करोड ३३ लाख २० हजार डलर ऋण भित्र्याएको बैंकले जानकारी दिएको छ । 

प्राइम कमर्सियल बैंकले पनि हालसम्म दुई करोड डलर ऋण भित्र्याएको जनाएको छ । त्यस्तै, सिद्धार्थ बैंकले कुल विदेशी ऋण रकम ६ करोड ३० लाख डलर लिएकोमा ८० लाख डलर भुक्तानी गरिसकेको छ । त्यसबाहेक पाँच करोड ५० लाख डलर बक्यौता रहेको बैंकले जानकारी दिएको छ ।

कुमारी बैंकले हालसम्म लिएको कुल विदेशी ऋण तीन करोड डलर हाराहारी कायम रहेको जानकारी दिएको छ । नेपाल एसबिआई बैंकले ०७९ सालको १ चैतमा तीन करोड डलर ऋण ल्याएको थियो । त्यसमध्ये एक करोड डलर मात्रै बाँकी रहेको र बाँकी ऋण गत १ चैतमा चुक्ता गरिसकेको बैंकले जनाएको छ । एनआइसी एसिया, एनएमबि बैंक र इन्भेष्टमेन्ट मेगा बैंकले विदेशबाट ल्याएको ऋणको तथ्यांक उपलब्ध गराएनन् । सिटिजन इन्टरनेसनल बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले विदेशबाट ऋण लिएका छैनन् ।  
 

ad
ad