१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ १२ शनिबार o६:२५:oo
Read Time : > 7 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जो जागिर छाडेर उद्यममा जमे

Read Time : > 7 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o६:२५:oo

०४६ को राजनीतिक परिवर्तनपछि देशले उदार अर्थनीति आत्मसात् गर्‍यो । यो यस्तो टर्निङ प्वाइन्ट भइदियो, जसले उद्यमी बन्ने रहर, चाहना र खुबी भएकालाई अवसरको ढोका खुला गर्‍यो । खाइपाई आएको जागिर चटक्कै छाडेर कैयौँ उद्यम व्यवसायमा जोडिए र सफल पनि भए ।

पञ्चायतकालमा रोजगारीका लागि मानिससँग तीन विकल्प थिए– सरकारी जागिर, कृषि र मजदुरी गर्न भारततिर हानिने । अहिलेझैँ अरू देशमा जान पासपोर्ट बनाउनै सहज थिएन । व्यवसाय गर्न देशमा ‘लाइसेन्स राज’ थियो । दरबारलाई रिझाउन सक्नेले मात्रै लाइसेन्स पाउँथे । 

उसवेला पनि नागरिकमा उद्यमी बन्ने रहर, चाहना र खुबी थियो । तर, देशमा व्यापार–व्यवसाय गर्ने अनुकूल माहोल नै थिएन । व्यापार–व्यवसाय गर्न दरबारको आशीर्वाद चाहिन्थ्यो । त्यसैले पढ्न सक्ने सरकारी जागिरतिर लाग्थे, अरू कृषितिर । अहिलेझैँ निजी क्षेत्रमा अवसर थिएन । 

०४६ को राजनीतिक परिवर्तनले अर्थतन्त्रको क्षेत्रमा पनि असर देखिन थाल्यो । ०४८ मा तत्कालीन सरकारले उदार अर्थनीति अंगीकार गरेपछि बल्ल व्यापार–व्यवसाय र उद्यमको अवसर सहज भयो । लाइसेन्स राज अन्त्य भयो । पासपोर्ट खुला गरिएपछि विदेश जाने क्रम बढ्न थाल्यो । 

परिवर्तनसँगै देशमा व्यापार–व्यवसाय गर्न सहज बन्यो । नयाँ–नयाँ अनुहार व्यापार–व्यवसायमा देखिन थाले । कतिपय जागिर छाडेर व्यवसायमा जोडिन थाले । ०४८ देखि अहिलेसम्म देशैभर धेरै जागिरदार सफल उद्यमी बनेका छन् । 

व्यापार–व्यवसायमा नयाँ अनुहार मात्र आएनन्, व्यवसायमा नयाँ–नयाँ ‘आइडिया’ पनि भित्रिए । पुराना घरानाले पनि व्यवसाय फैलाउने अवसर ०४८ पछि नै प्राप्त गरेका हुन् । पर्यटन, एयरलाइन्स, यातायात, बैंकिङ, आइटी, स्वास्थ्य, शिक्षा, उद्योगलगायत क्षेत्रले फड्को मारेको छ । 

पछिल्लो समयमा जागिरभन्दा उद्यम गर्नुपर्छ भन्ने सोच देखिन्छ । यसैले त खाइपाई आएको जागिर चटक्कै छाडेर उद्यम–व्यवसायमा जोडिनेहरू धेरै देखिएका हुन् । सरकारी, निजी, गैरसरकारी क्षेत्रको जागिर छाडेर उद्यमी बन्ने लहर नै छ । आकर्षक मानिने डाक्टर र इन्जिनियर पेसा छाडेर व्यवसाय सुरु गरेको पनि सुन्न पाइन्छ । धेरै कृषि उद्यमी बनिरहेका छन् । पछिल्लो समय स्टार्टअपमा जोडिने पनि उत्तिकै छन् । 

जागिर छाडेर उद्यमी बन्ने पर्यटन क्षेत्रमा धेरै छन् । अधिकांश ट्राभल र ट्रेकिङ कम्पनीका मालिक पहिला कुनै न कुनै कम्पनीका जागिरे थिए । यती ट्राभल, गोर्खा ट्राभल, भेन्चर ट्राभललगायतले धेरै उद्यमी जन्माए । भरियादेखि गाइडसम्म सफल व्यवसायी भइसकेका छन् । अटोमोबाइल क्षेत्रमा धेरै उद्यमी जन्मिएका छन् । शिक्षण पेसा छाडेर कृषि वा अन्य व्यवसाय सुरु गरेका छन् । 

एउटा जागिरेको सपना के हुन्छ ? निजामती कर्मचारी भए बढुवा हुँदै सचिव बन्ने । बैंकर भए सिइओ वा गभर्नरसम्म हुने । निजीमा भए बढुवा होस्, तलब–भत्ता बढोस् भन्ने । पेन्सनसहित सेवा निवृत हुने र बाँकी जीवन आरामसाथ बिताउने । 

तर, सबै जागिरेको सपना यतिमै सीमित हुँदैन । केही यस्ता जागिरे पनि हुन्छन्, जसले खाइपाइ आएको जागिर चटक्क छाडेर अर्बपति बन्ने सपना देख्छन् । जागिर होइन, हजारौँलाई रोजगारी दिने योजना बुन्छन् । 

यही सपनाले डोर्‍यायो चन्द्रप्रसाद ढकाललाई । उनी कुनै समय राष्ट्रिय वाणिज्य बैंकको सहायक तेस्रो तहमा कार्यरत थिए । तर, उनको भित्री, चाहना, रहर र खुबी भने उद्यमी बन्ने थियो । यसैले त व्यवसाय सुरु गरेको छोटो अवधिमै उनले ठूलै साम्राज्य खडा गर्न भ्याए । 

ढकाल आइएमई समूहको अध्यक्ष हुन्, जसले आइएमई रेमिट, बैंक, इन्स्योरेन्स, ट्राभल, होटेल, केबलकार, अटोमोबाइल, हाइड्रो, कलेज, उद्योगगायतमा लगानी फैलाएको छ । निजी क्षेत्रको सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को नेतृत्वमा छन् ।

बैंकमा काम गर्ने क्रममै ढकालको व्यवसायीसँग भेटघाट भयो । सम्पर्क दायरा फराकिलो बनाउँदै गयो । जागिरे हुँदै ठमेलमा कोल्डस्टोर खोले । त्यो उनको पहिलो व्यवसाय थियो । ०४८ तिर भाइसँग मिलेर कार्गो कम्पनी खोले । निर्यात फस्टाउँदै गएपछि कार्गो कम्पनीलाई विस्तार गर्न थप रकम चाहियो । 

आफूले नै काम गर्ने बैंकबाट ढकालले कर्जा स्वीकृत गराए । तर, शाखा प्रबन्धकले ‘कि जागिर खाऊ, कि राजीनामा गरेर ऋण लैजाऊ’ भने । उनले व्यापारलाई रोजे । र, व्यवसायमा पूर्णकालीन बने । उनलाई आइएमई रेमिटले सफलताको चुचुरोमा पुर्‍याएको हो । आइएमई बर्सेनि सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनीका रूपमा सम्मानित हुने गर्छ । अहिले उनी देशैभर केबलकार सञ्चालन गर्न आक्रामक ढंगले जुटेका छन् ।

बैंकिङ क्षेत्रमा ख्याती कमाएका पृथ्वीबहादुर पाँडे पनि विगतमा राष्ट्र बैंकका अफिसर थिए । उनी राष्ट्र बैंकमै बसिरहेको भए गभर्नर बन्थे होलान् । उनलाई गभर्नर बन्न दुईपटक प्रस्ताव पनि आएको थियो । तर, उनले आफ्नै लगानीमा बैंक चलाउन थालिसकेका थिए । निजी बैंकमा लगानी गरेको व्यक्ति ‘मोरल्ली’ र ‘इथिकल्ली’ पनि गभर्नर बन्न मिलेन । उनी भन्छन्, ‘बैंकिङ क्षेत्रमा रहेको व्यक्ति कसलाई गभर्नर बन्न मन लाग्दैन होला र ? यदि म राष्ट्र बैंक बसिरहेको भए गभर्नर हुन्थे हुँला ।’ 

पाण्डेको आफ्नै बैंक चलाउने हुटहुटीले सफल बैंकिङ उद्यमी बनायो । नेपालीले विदेशीको सहयोगविना पनि बैंक चलाउन सक्छन् भनेर प्रमाणित गरे । अहिले उनी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष छन् । नेपाल पूर्वाधार विकास बैंकका ठूला प्रमोटर हुन् । 

पाण्डेले ठमेलमा पाँचतारे अलफ्ट होटेल चलाइरहेका छन् । यसै वर्ष नगरकोटमा लक्जरी रिसोर्ट काव्या सञ्चालनमा ल्याएका छन् । यस्तै, नीलगिरि खोलामा जलविद्युत् आयोजना निर्माण भइरहेको छ । एस होटेल ग्रुप र सिई ग्रुपसँग सहकार्य गरेर नगरकोटमै एकीकृत पर्यटकीय गन्तव्य ‘हब’ बनाउँदै छन् ।

पाण्डेले सन् १९८६ मा आइएमएफको तालिममा अमेरिकामा जाँदा निजी क्षेत्रले पनि बैंक चलाउन सक्छ भन्ने देखे । र, बैंकिङ उद्यमी बन्ने सपना बुन्न थाले । पञ्चायतकालमा देशमा लाइसेन्स राज थियो । बैंक खोल्न प्रक्रिया त अगाडि बढाए, तर लाइसेन्स पाउन सकेनन् । देशमा प्रजातन्त्र आएपछि सपनाले मूर्तता पायो । र, सन् १९९२ मा हिमालयन बैंक खुल्यो । जसको नेतृत्व ससुरा बुबा हिमालयशमशेर राणाले गरे । पछि हिमालयन बैंक छाडेर तत्कालीन इन्डस्वेज बैंकको सेयर खरिद गरेर सबै नेपाली लगानीकर्ता राखेर बैंक चलाए । जुन नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका रूपमा परिचित छ । बैंकिङबाट सुरु भएको उनको व्यावसायिक यात्रा पर्यटन, हाइड्रो, मल, शिक्षा र रियल इस्टेटलगायत क्षेत्रमा लम्किरहेको छ ।

होटेलियर कर्ण शाक्य कुनै बेला वन प्रशासनका कर्मचारी थिए । उनले वन्यजीव अधिकारीका रूपमा देशकै पहिलो राष्ट्रिय पार्क स्थापना गर्न भूमिका खेले । सन् १९७० मा सरकारी जागिरबाट हात झिकेर उनी पर्यटन व्यवसाण्यमा प्रवेश गरेका हुन् । 

ठमेलको काठमाडौं गेस्टहाउसबाट सुरु भएको उनको व्यवसाय पोखरा, चितवनदेखि लुम्बिनीसम्म फैलिएको छ । पर्यावरणविद् र संरक्षणवादी अभियन्ता उनका सातवटा होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । उनी नेपाली पर्यटनका खम्बा मानिन्छन् । 

ठमेललाई पर्यटकीय गन्तव्य बनाउने श्रेय उनैलाई जान्छ । पछिल्लो समय नयाँ पुस्तालाई उद्यमशीलता र सकारात्मक सोचको विकास गराउने अभियान चलाउँदै आएका उनका सोच, मोज, खोजलगायत चर्चित पुस्तक प्रकाशित छन् । 

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डे विगतमा खानेपानी संस्थानका कर्मचारी थिए । जागिर छाडेर उद्यममा जोडिए, त्यसैले सफलताको शिखरमा पुर्‍यायो । चार दशकमा थुप्रै कम्पनी स्थापना गरेका छन् । 

पाण्डे परिवारको कसमस सिमेन्ट, सिटिजन्स बैंक, लोमस फर्मास्युटिकल्स (औषधि उद्योग), ऊर्जा, इन्स्योरेन्स, इन्भेस्टमेन्ट कम्पनी, हेलिकोप्टरलगायत सञ्चालनमा छन् । उनका तीन छोरा पनि उद्योग व्यवसायमा सक्रिय छन् । 

सहरीया उपभोक्ताको बजारमा पसल चहार्दै बार्गेनिङ गरेर किनमेल गर्ने परिपाटी बिस्तारै घट्दै छ । एउटै छानामुनि आफूलाई आवश्यक सामान किनमेल गर्ने संस्कृति बढ्दै छ । पश्चिमा देशमा हुर्किएको आधुनिक किनमेल शैलीलाई नेपाल भित्र्याउने श्रेय भाटभटेनी सुपर मार्केट लाई जान्छ । नेपाल बैंकको जागिर छाडेर व्यवसायमा होमिएका यसका सञ्चालक  मीनबहादुर गुरुङले नेपालीको किनमेल शैली नै परिवर्तन गरिदिएका छन् । 

सानो किराना पसलबाट व्यापार सुरु गरेका गुरुङ नेपालमा चेन सुपरमार्केटका ट्रेन्ड सेटर बनेका छन् । भाटभटेनी उपत्यकासहित पोखरा, नेपालगन्ज, बुटवल, भैरहवा, चितवन, हेटौँडा, वीरगन्ज, जनकपुर, विराटनगर, इटहरी, दमकलगायत देशका मुख्य सहरमा फैलिसकेको छ । र, फैलिने क्रम जारी छ ।

गुरुङले राजधानीमा मात्र होइन्, मोफसलका उपभोक्ताको सपिङ कल्चरमा पनि आमूल परिवर्तन ल्याइदिए । भाटभटेनीका देशभर २७ आउटलेट पुगेका छन्, जहाँ करिब पाँच हजार कर्मचारी कार्यरत छ, जसमध्ये अधिकांश महिला छन् । भाटभटेनीको वार्षिक कारोबार करिब ३० अर्बभन्दा बढी पुगेको छ । 

भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष हुन् । उनी पर्यटन, कृषि, बैंक–वित्त, बिमालगायत क्षेत्रमा आबद्ध छिन् । उनी कुनै वेला अमेरिकी दूतावासमा जागिरे थिइन् । लखनउबाट स्नातकोत्तर गरेर फर्किएर दूतावासमा पाँच वर्षसम्म काम गरेपछि दिदीसँग गार्मेन्ट व्यवसाय सुरु गरेकी थिइन् ।

दिदीसँगै इभेन्ट म्यानेजमेन्टको काम पनि थालिन् । अहिले गार्मेन्ट व्यवसाय छैन । भारतमा पढ्दा उनको नेपालगन्जका स्नेहा होटेलका मालिक अशित राणासँग चिनापर्ची भयो । त्यो चिनापर्ची प्रेममा परिणत हुँदै विवाह बन्धनमा बाँधिन पुग्यो । त्यसपछि उनी परिवारको हस्पिटालिटी व्यवसायमा जोडिन पुगिन् । हाल उनी नेपाल लगानी बोर्डको निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गरिरहेकी छिन् । 

पर्यटन क्षेत्रका अग्रणी व्यवसायी वसन्त मिश्र कुनै समय समय गोर्खा ट्राभल र सफारी पर्यटनको पायोनियर टाइगर टप्सका जागिरे थिए । काठमाडौंका रैथाने, अंग्रेजी जान्ने हुनाले जागिरको समस्या थिएन । स्नातक पास गरेपछि युरोप घुमेर फर्किएर सन् १९७७ मा गोर्खा ट्राभलमा सिनियर टुर अफिसरका रूपमा काम गर्न थाले । एक वर्षजति काम गरेर फेरि टाइगर टप्स ज्वाइन गरे । त्यतिवेला टाइगर टप्सको सान नै अर्कै थियो । 

टाइगर टप्समा पनि टुर र मार्केटिङमै काम गरेको उनले बताए । ‘त्यसवेला टाइगर टप्स र गोर्खा ट्राभल नामी मानिन्थे,’ उनी भन्छन्, ‘आफ्नै ट्राभल कम्पनी खोल्नका लागि काम सिक्नु थियो ।’ पछि टाइगर टप्ससँगकै साझेदारीमा एडभेन्चर ट्राभल खोले । त्यहाँ साढे आठ वर्ष काम गरेपछि उनले सन् १९८८ एकल लगानीमै भेन्चर ट्राभल खोले, जुन अहिले पनि छ । 

मिश्रले जंगलभित्र सन् १९९० टेम्पल टाइगर रिसोर्ट खोले । भित्रको रिसोर्ट बन्द गराइएपछि निकुञ्जबाहिर अमलटारीमा सोही नाममै सफारी रिसोर्ट सञ्चालनमा ल्याए । उनको ठमेलमा अपार्टमेन्ट होटेल सञ्चालनमा छ । कुपन्डोलमा १५ कोठाको लक्जरी बुटिक होटेल सञ्चालन गर्दै छन् । उनको टेम्पल टाइगर ट्रेकिङ एन्ड एक्सिपिडिसन र माउन्टेन भ्युअर भेन्चर कम्पनी पनि सञ्चालनमा छन् । त्यतिवेलाका चल्तीका ट्राभल कम्पनीमा सिकेको सीपले मिश्रलाई पर्यटन क्षेत्रकै अग्रणी व्यवसायीका रूपमा स्थापित गरायो । 

नेपालको शिक्षा क्षेत्रमा स्थापित नाम हो, उमेश श्रेष्ठ । शैक्षिक व्यवसायमा होमिनुअघि उनी शिक्षा निर्देशनालयमा विद्यालय निरीक्षकको जागिरे थिए । पछि उनले ज्ञानोदय स्कुलमा पनि काम गरे । उनलाई जागिरे हुनुभन्दा शिक्षाकै व्यवसायमा जोडियो भने बढी सफलता मिल्छ भन्ने लाग्यो । शिक्षामा काम गर्दा स्कुलको आइडिया पनि भयो । 

ज्ञान र सीपविना केही हुँदैनथ्यो । देश विकासका लागि पनि पढालेखा जनशक्ति चाहिन्थ्यो । उनले स्कुलको भविष्य राम्रो देखे । भर्खर निजी क्षेत्रलाई पनि स्कुल चलाउन लाइसेन्स दिइँदै थियो । ०३७ मा खाइपाइ आएको जागिर चटक्कै छाडेर उनले ज्ञान बाँड्नुपर्छ भनेर लिटिल एन्जल्स स्कुल खोले । 

‘त्यसवेला नयाँ स्कुलको लाइसेन्स पाउनेमा हामी पहिलो लटका हौँ,’ उनी भन्छन्, ‘सानो स्कुलबाट सुरु गरेको हुँ, अहिले लिटिल एन्जल्स एजुकेसन ग्रुपअन्र्तगत सातवटा स्कुल–कलेज सञ्चालनमा छन् ।’ उनको लगानी पर्यटन, ऊर्जा, बैंकिङ, होटेल, रियल इस्टेट, स्वास्थ्यलगायत क्षेत्रमा फैलिएको छ । उनका आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना र होटेल सञ्चालनमा छन् । कृषि फार्ममा पनि लगानी छ । निजी तथा सामुदायिक अस्पतालमा पनि लगानी रहेको छ । 

श्रेष्ठ सांसद र राज्यमन्त्रीसमेत बनिसकेका छन् । यस्तै, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र निजी उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान)का पूर्वअध्यक्ष पनि हुन् । ५२ वर्षअघि एसएलसी दिएर काठमाडौं प्रवेश गरेका उनको सफलता लोभलाग्दो छ । 

सेयरका खेलाडी अम्बिकाप्रसाद पौडेल कुनै वेला लेखा अधिकृत थिए । सरकारी सेवामा करिब दश वर्ष बिताएका उनले जागिरसँगै सेयरमा पनि लगानी गर्थे । सुरुवाती दिनमा नोक्सानी व्यहोरे पनि सेयर बजार उनको प्यासन बन्दै गयो । र, उनी ०६५ मा सकारी जागिरबाट हात झिकेर पुँजीबजार पूर्णकालीन बन्न पुगे । 

कलेज जीवनमै बैंकको आइपिओमा लगानी गरेर सेयर बजारमा छिरेका उनी नेपाल टेलिकम, एनआरएन इन्भेस्टमेन्ट, चन्द्रागिरि, हिमालय पावर पार्टनर, आइजिआई, हाथवेलगायत दुई दर्जनभन्दा बढी कम्पनीमा आबद्ध छन् । 

पौडेल सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष हुन् । हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य एवं महासंघकै पुँजीबजार फोरमका सभापति छन् । उनी सेयर बजारका सक्रिय खेलाडी मानिन्छन् । हालै बुढानीलकण्ठमा साझेदारीमा पाँचतारे लेमन ट्री होटेल सञ्चालनमा ल्याएका छन् । रुपन्देहीमा हाइलाइफ ब्रान्डको एफएमसिजी उद्योग सञ्चालनमा छ ।

बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँदै किशोर महर्जनले झमेलमा जिजी मचान रेस्टुरेन्ट खोलेका थिए । ३३ वर्षे बैंकिङ करिअरबाट विश्राम लिएपछि उनले हस्पिटल, कलेजदेखि कृषिसम्म लगानी फैलाउन भ्याए । उनी सात वर्षअघि सिभिल बैंकबाट रिटायर्ड भएका थिए । सानेपाको स्टार हस्पिटलमा कार्यकारी अध्यक्ष छन् । स्टारमा जोडिएको पाँच वर्ष भएको उनको भनाइ छ । 

स्टार हस्पिटलअन्तर्गत मोडर्न टेक्निकल कलेज, स्टार एकेडेमी र इनोभेटिभ कलेज अफ हेल्थ साइन्सेज सञ्चालनमा छन् । यस्तै, बानेश्वरमा केएफए बिजनेस स्कुल चलाउँछन् । नुवाकोटमा स्टार नुवाकोट हस्पिटल खोलेका छन् । ‘बैंकमै हुँदै रेस्टुरेन्ट खोलियो, बैंक छाडेपछि अरू केही गरौँ भन्ने लाग्यो,’ उनले भने, ‘सिराहामा केएफए एग्रो फार्म पनि सञ्चालनमा छ । 

नेपाल उद्योग परिसंघ (सिएनआई)का पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यात कुनै समय सरकारी जागिरे थिए । जागिरे जीवनबाट उद्यमी हुँदै उनले उद्योगीहरूको छाता संस्था सिएनआईको नेतृत्व गर्न भ्याए । उनी लिकरलगायत व्यवसायमा आबद्ध रहेको बताइन्छ ।

अरू पनि छन्... 
विराटनगरका विष्णुप्रसाद आचार्य बैंकको जागिर छाडेर माछा पालनमा लागेका छन् । पाँचजनाको टोलीले ४० करोड लगानीमा १५० बिघामा माछा पालिरहेको छ । आशंसा थापा र विशाखा राणाले जागिर छाडेर ‘आरा’ ब्रान्डमा हातैले बनाएका डिजाइनदार चप्पल उत्पादन गर्छन् । गैरसरकारी संस्थामा जागिरे आयुषा श्रेष्ठले नेपालीपन झल्किने गरगहनाको व्यवसाय सुरु गरेकी छिन् । देशैभर यस्ता धेरै उदाहरण छन् ।

बैंकका जागिरे चन्द्र ढकाललाई हाकिमले ‘कि जागिर खाऊ, कि राजीनामा गरेर ऋण लैजाऊ’ भनेपछि...
उद्योग वाणिज्य महासंघका अहिलेका अध्यक्ष चन्द्रप्रसाद ढकाल कुनै समय राष्ट्रिय वाणिज्य बैंकको सहायक तेस्रो तहका कर्मचारी थिए । बैंकमा काम गर्ने क्रममै उनको व्यवसायीहरूसँग भेटघाट भयो । सम्पर्क दायरा फराकिलो बन्दै गयो । ठमेलमा कोल्डस्टोर खोले । त्यो उनको पहिलो व्यवसाय थियो । ०४८ तिर भाइसँग मिलेर कार्गो कम्पनी खोले । निर्यात फस्टाउँदै गएपछि कार्गो कम्पनीलाई विस्तार गर्न थप रकम चाहियो । आफूले नै काम गर्ने बैंकबाट ढकालले कर्जा स्वीकृत गराए । तर, शाखा प्रबन्धकले ‘कि जागिर खाऊ, कि राजीनामा गरेर ऋण लैजाऊ’ भने । उनले व्यापारलाई रोजे । र, क्रमशः व्यवसायमा जम्दै गए ।

ad
ad