नेपाली युवायुवतीमा पछिल्लो समय इसिगरेट र हुक्का सेवन फेसनजस्तै बनेको छ । यस्ता वस्तुमा निकोटिन नहुने र स्वास्थ्यमा समेत असर नपार्ने भन्ने भ्रमपूर्ण विज्ञापनले इसिगरेट र हुक्का परिवारभित्रै खुलमखुला सेवन गर्ने क्रम बढ्दो छ । तर, इसिगरेट र हुक्कामा हुने निकोटिनलगायत हानिकारक तत्वले किशोरकिशोरीको स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ ।
नेपालमा इसिगरेट र हुक्काका प्रयोगकर्ताको यकिन विवरण नभए पनि पाँच वर्षमा साढे ३५ लाख थानभन्दा बढी इसिगरेट आयात भएको तथ्यांक छ । भन्सार विभागको तथ्यांकअनुसार पाँच वर्षमा ३५ लाख ६९ हजार पाँच सय ६३ थान इसिगरेट नेपाल भित्रिएको छ । जसमा २३ करोड ४० लाख सात हजार रुपैयाँ (थप ४१ प्रतिशत करबाहेक) बिदेसिएको छ । विभागको तथ्यांकअनुसार चालू आवको पछिल्लो आठ महिनामा मात्रै एक लाख २८ हजार ६ सय ६५ थान इसिगरेट आयात भइसकेको छ । आर्थिक वर्ष ०७९/८० मा ३२ लाख २३ हजार ६ सय ८७ थान, आव ०७८/७९ मा एक लाख ८७ हजार नौ सय ८४, आव ०७७/७८ मा २९ हजार २८ र आव ०७६/७७ मा दुई सय थान नेपाल ल्याएको तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल भन्छन्–
सुर्तीजन्य पदार्थ नियन्त्रणमा भेप र इसिगरेटको बढ्दो प्रयोग चुनौती बन्दै गएको छ । यसलाई पूर्ण रूपमा बन्देज लगाउन आवश्यक छ । साथै, सुर्तीजन्य पदार्थबाट संकलन भएको करको २५ प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने भन्दै आठ वर्षदेखि माग राख्दै आएका छौँ । तर, हालसम्म ४० करोड मात्रै पाएका छौँ, जुन यसको असर नियन्त्रणका लागि पर्याप्त छैन ।
चीनबाट सबैभन्दा धेरै आयात
नेपालमा सबैभन्दा बढी यस्ता सुर्तीजन्य पदार्थयुक्त डिभाइस चीनबाट आउने गरेको तथ्यांक छ । चीनबाहेक अमेरिका, भारत, संयुक्त अरब इमिरेट्स, बेलायतलगायत देशबाट समेत इसिगरेट, हुक्का आयात भइरहेका छन् । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिकाले इसिगरेट, हुक्काजस्ता डिभाइस प्रयोग गर्न नपाइने उल्लेख गरेको छ । तर, कानुन कार्यान्वयन प्रभावकारी नहुँदा हरेक वर्ष करोडौँ रुपैयाँका डिभाइस नेपाल भित्रिने गरेको भन्सार विभागले जनाएको छ ।
होटेल तथा रेस्टुरामा युवामाझ हुक्का र विद्युतीय चुरोट सेवन गर्ने प्रतिस्पर्धाजस्तै हुने गरेको छ । यो निकै चुनौतीपूर्ण भएको भन्दै नियन्त्रण गर्न विज्ञहरूको सुझाव छ । निर्देशिकाअनुसार प्रतिबन्ध लगाउन खोज्दा सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरूले मुद्दा दायर गर्नु र युवामाझ यसको असरबारे पर्याप्त ज्ञान नहुँदा समस्या भइरहेको स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसी बताउँछन् । उनका अनुसार सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका, २०७१ अनुसार अब इसिगरेट प्रयोगमा प्रतिबन्ध लगाउन ढिला भइसक्यो । ‘विदेशबाट आयात गरिने भएकाले एकतर्फ ठूलो रकम बाहिरिइरहेको छ भने अर्कोतर्फ युवाहरूमा धूम्रपानको कुलत बस्दै छ । एउटै इसिगरेटको १० हजारदेखि १३ हजारसम्म पर्ने गर्छ । साथै, स्कुल र कलेजका विद्यार्थीले बढी प्रयोगमा ल्याइरहेकाले यसको दीर्घकालीन असर अनुमान गर्नसमेत सकिँदैन,’ डा. केसीले भने ।
स्वास्थ्यसचिव डा. रोशन पोखरेलले पनि सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि करको दायरा बढाउँदै लानुपर्ने र हुक्कालगायत इसिगरेट नेपालमा प्रतिबन्ध लगाउनुपर्नेबारे छलफल भइरहेको बताए । डा. पोखरेल भन्छन्, ‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा भेप र इसिगरेटको बढ्दो प्रयोग चुनौती बन्दै गएको छ । यसलाई पूर्ण रूपमा बन्देज लगाउन आवश्यक छ । साथै, सुर्तीजन्य पदार्थबाट संकलन भएको करको २५ प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने भन्दै आठ वर्षदेखि माग राख्दै आएका छौँ । तर, हालसम्म ४० करोड मात्रै पाएका छौँ, जुन यसको असर नियन्त्रणका लागि पर्याप्त छैन ।’
के छ नियमन र नियन्त्रण निर्देशिकामा ?
सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका, २०७१ को दफा २८ को ४ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री–वितरण गर्न नपाइने उल्लेख छ । दफा २८ को उपदफा ३ मा इसिगरेटको उत्पादन, बिक्री–वितरण र आयातसमेत गर्न नपाइने उल्लेख छ ।
यी डिभाइसको आयात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मात्रै रोक्न सक्छ । त्यसकारण आयातमा प्रतिबन्धभन्दा अघि निर्देशिकामा उल्लेख गरिएको व्यवस्थालाई टेकेर नियन्त्रण र नियमन गर्नुपर्ने डा. भक्तबहादुर केसीको भनाइ छ । उनी भन्छन्, ‘सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग धेरै हदसम्म नियन्त्रण भए पनि होटेल, रेस्टुरा र बारहरूमा भइरहेको प्रयोग चुनौती बनिरहेको छ । यसबाहेक भेप वा हुक्का अन्य सुर्तीजन्य पदार्थजस्तो हानिकारक हुँदैन भन्ने खालको विज्ञापनका कारणसमेत समस्या भइरहेको हो ।’
हाल, सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि देशभरि निरीक्षक तोकिएको छ । ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रत्येक पालिकाका प्रमुख प्रशासकीय अधिकारीलाई निरीक्षक तोकिएको छ । यसबाहेक हरेक संस्थाका व्यवस्थापकमा आफ्नो कार्यालय वा वरपर सुर्तीजन्य पदार्थ प्रयोग भइरहेको पाए नियन्त्रण गर्ने तथा रोक्ने वा कारबाहीको दायरामा ल्याउन सक्ने अधिकार छ ।
स्वास्थ्यमा कस्तो असर ?
छातीरोग विशेषज्ञ डा. नीरज बमका अनुसार भेप, इसिगरेट, हुक्कालगायतको सेवनबाट स्वास्थ्यमा असर नपर्ने भन्ने खालका भ्रमपूर्ण विज्ञापनले प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । उनका अनुसार हुक्का र इसिगरेटमा निकोटिनसहित अन्य हानिकारक विशेष किसिमको सुगन्ध मिसाइएको हुन्छ । जसले फोक्सो, घाँटीसहित दिमागमा समेत असर पार्छ । खासगरी नियमित हुक्का वा सिगरेट सेवनले बालबालिकाको मस्तिष्कमा असर, फोक्सोको क्यान्सरलगायत स्वास्थ्य समस्या बढाइरहेको छ । यति मात्रै होइन, हुक्का प्रयोग चुरोटको तुलनामा सयौँ गुना हानिकारक छ ।
अधिकांश प्रयोगकर्ता ४० वर्षभन्दा कम उमेरका
हुक्का र इसिगरेटको सेवन गर्नेमा अधिकांश ४० वर्षभन्दा कम उमेरका युवायुवती छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययन रिपोर्टअनुसार हुक्का र इसिगरेट तान्नेमा अधिकांश युवा छन् । हुक्का सेवन गर्नेमध्ये ८२.३ प्रतिशत र इसिगरेटका ९१.६ प्रतिशत प्रयोगकर्ता ४० वर्षमुनिका छन् । जसमध्ये पनि २५ वर्षमुनिको संख्या अझ बढी छ ।