मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अजित अधिकारी काठमाडाैं
२०७९ भदौ १ बुधबार ०९:२१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगातार तीनपटक मूल्य घटेर आउँदा पनि आयल निगमले इन्धनको भाउ घटाएन 

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०७९ भदौ १ बुधबार ०९:२१:००

आइओसीले लगातार तीनपटक पठाएको मूल्यअनुसार पेट्रोल ३४.९४ र डिजेल ३३.९४ रुपैयाँ प्रतिलिटर घट्यो, झन्डै दोब्बर मूल्यमा बिक्री गर्दा पनि पेट्रोलियममा निगमलाई घाटा

घाटा–नाफाको स्थिति

  • पेट्रोल : १२.६० करोड नाफा
  • मट्टीतेल : ४१ लाख नाफा
  • हवाई इन्धन : ४१.७१ करोड नाफा
  • डिजेल : १६.७४ करोड नोक्सान
  • ग्यास  : ६९.२८ करोड नोक्सान
  • स्थिति  : ३१.२९ करोड नोक्सान

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घट्न थालेपछि नेपाल आयल निगमले किन्ने प्रशोधित पेट्रोलियम (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास)को मूल्य पनि धेरै सस्तो भइसकेको छ । मंगलबार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नयाँ मूल्य पठाउँदा पेट्रोल १.९४ रुपैयाँ र डिजेल ४.८४ रुपैयाँ प्रतिलिटर घटाएको छ । पछिल्लो डेढ महिनामा आइओसीले लगातार तीनपटक पठाएको मूल्यअनुसार पेट्रोल ३४.९४ र डिजेल ३३.९४ रुपैयाँ प्रतिलिटर घटिसकेको छ ।

आइओसीबाट बढेको दर पाउनासाथ सोही दिन मूल्य बढाइहाल्ने आयल निगमले डेढ महिनायता निरन्तर सस्तोमा इन्धन खरिद गरे पनि नेपाली उपभोक्तालाई राहत हुने गरी मूल्य घटाउन अटेर गर्दै आएको छ । आइओसीबाट मंगलबार दिउँसो मूल्य घटेर आएपछि नेपाली बजारमा पनि समायोजन गर्नुपर्ने दबाब निगमलाई परेको थियो । तर, साँझ पाँच बजे पत्रकार सम्मेलन गरेर निगमले तत्काल मूल्य नघटाउने जानकारी दिएको छ ।

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको दरअनुसार नेपाली बजारमा समायोजन गर्न नपाउँदा १० अर्ब ऋण, २३ अर्ब आइओसीको बक्यौता र ५० अर्ब रुपैयाँ सञ्चिती नोक्सानी व्यहोर्नुपरेको बताए । ‘विगतमा जुन दरमा मूल्य बढेर आएको थियो, त्यो दरमा बढाउन दिइएन । अहिले केही घटेर आउनासाथ पेट्रोलियमको मूल्य घटाउनुपर्छ भन्ने तर्कसँग सहमत हुन सकेका छैनौँ । त्यसैले हामीले तत्कालका लागि पेट्रोलियमको मूल्य यथावत् राख्ने निर्णय लिएका छौँ,’ उनले भने ।

गत आर्थिक वर्ष ०७८/७९ मा वर्षैभर नोक्सानी खेपेर इन्धन बिक्री गरेको उनको जिकिर छ । तर, अहिलेको तथ्यांकअनुसार निगमले झन्डै आधा सस्तोमा किनेको पेट्रोलियम पदार्थमा घाटा देखाइरहेको छ । निगमले मंगलबारदेखि पेट्रोल बिक्री मूल्यभन्दा करिब आधा सस्तो अर्थात् ९८.६७ रुपैयाँ प्रतिलिटरमा किन्न थालेको छ । यसको बिक्री मूल्य एक सय ८१ रुपैयाँमा निर्धारण गरिएको छ ।

त्यस्तै, १२०.०५ रुपैयाँमा किनेको डिजेल र १२३.५२ रुपैयाँमा किनेको मट्टीतेल निगमले समान एक सय ७२ रुपैयाँमा बिक्री गरिरहेको छ । पेट्रोलियम पदार्थको कुल खपतमा १ प्रतिशत मात्र हिस्सा ओगट्ने मट्टीतेलमा प्रतिलिटर २२.०७ रुपैयाँ नाफा राखिएको छ । सबैभन्दा धेरै नाफा हवाई इन्धनमा छ । यद्यपि, यसको खपत हिस्सा २ प्रतिशत मात्र छ । ११३.४७ रुपैयाँ प्रतिलिटरमा किनेको हवाई इन्धनमध्ये आन्तरिक विमानका लागि एक सय ९० रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडान गर्ने विमानका लागि १.६४५ डलर प्रतिलिटर मूल्य निर्धिारण गरिएको छ । जसकारण आन्तरिक विमानमा तेल भर्दा निगमलाई प्रतिलिटर ४५.२२ रुपैयाँ र अन्तर्राष्ट्रिय विमानमा तेल भर्दा ८८.०१ रुपैयाँ प्रतिलिटर नाफा सुनिश्चित 
गरिएको छ ।

सबैभन्दा धेरै खपत हुने डिजेल र ग्यासमा घाटा
मुलुक भित्रिने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा धेरै डिजेल ५९ प्रतिशत र खाना पकाउने एलपी ग्यास २१ प्रतिशत खपत हुन्छ । यी दुवै पेट्रोलियममा निगमलाई अहिले पनि नोक्सानी भएकाले मूल्य समायोजन गर्न नसकेको निगमको तर्क छ । मंगलबार प्राप्त नयाँ मूल्य १२०.०५ रुपैयाँ प्रतिलिटरमा किनेर एक सय ७२ रुपैयाँमा बिक्री गर्दा पनि ४.५० रुपैयाँ प्रतिलिटर नोक्सान रहेको निगमको भनाइ छ । यसमा सरकारले असुल्ने प्रतिलिटर ४७.०३ रुपैयाँ कर प्रमुख कारण हो ।

त्यस्तै, एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १६३७.५५ रुपैयाँ छ । यसमा सरकारी कर ३०७.५४ र व्यवसायीको कमिसन तथा अन्य खर्चबापत ३४४.२४ रुपैयाँ प्रतिसिलिन्डर लागत जोडिएको छ । जसकारण यसको कुल लागत २२९९.५८ रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ । ग्यासमा निगमलाई प्रतिसिलिन्डर ४९९.५७ रुपैयाँ नोक्सान छ । 

ऋण र बक्यौता नतिरेसम्म मूल्य घटाउन सक्दैनौँ : उमेशप्रसाद थानी, प्रबन्ध निर्देशक, आयल निगम
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा बढाउन दिइएन । अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर हाम्रो खरिद दर पनि केही कम भएका वेला मूल्य घटाउनुपर्छ भन्ने तर्क स्वचालित प्रणाली होइन ।

नयाँ घटेर आएको मूल्यपछि पनि हालको बिक्री मूल्य यथावत् राखी पेट्रोलियम पदार्थको कारोबार गर्दा निगमलाई आगामी १५ दिनमा ३१ करोड २९ लाख रुपैयाँ नोक्सान हुने देखिएको छ । अर्कातिर सरकारसँग सात अर्ब र हाम्रो सम्पत्ति धितोमा राखेर थप तीन अर्ब गरी कुल १० अर्ब रुपैयाँ ऋण लिइसकेका छौँ ।

आइओसीलाई भुक्तानी गर्नुपर्ने बक्यौता २३ अर्ब पुगिसकेको छ । यसर्थ, ऋण र बक्यौता नतिरेसम्म नेपाली बजारमा हालको बिक्री मूल्य समायोजन गर्न नसकी यथावत् राख्नुपर्ने अवस्था देखिन्छ ।