Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार १५:५९:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार १५:५९:००

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेसँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसेकेको छ । पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा पछिल्लोपटक दुईवटा भ्रमण गरेको टोलीले अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भयो । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका रूपमा आएका प्रभाकरका लागि चुनौती भने धेरै छन् । 

पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो । तर, नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न उनलाई त्यति सहज भने हुनेछैन । किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन् । साथै उनले कुनै पनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दै छन् । नेपाली क्रिकेट सुधारका लागि प्रभाकरका अगाडि देखिएका चुनौतीहरू के–के हुन् त ? 

पछिल्लोपटक नेपालले स्कटल्यान्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षाअनुसारको नतिजा निकाल्न सकेन । चार खेलमध्ये एक खेलमा मात्र सुखद नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारणहरू केलाउन थालिएको छ । मुख्यतः टोलीको एकता तथा ब्याटिङ समस्या सतहमा देखिन थालेका छन् । यससँगै एक दिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ । 

क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए । प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाइ प्राप्त गर्ने उनको विश्वास छ । ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौँ । पारिवारिक कारणले उहाँ जानुभयो । रिक्त भएको पदमा लामो कसरतपछि मनोज  प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौँ । उहाँलाई हाराहारी १४–१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ,’ उनले भने, ‘उहाँ अनुबन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाइ पाउने अपेक्षा राखेको छ । किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए । पछिल्लो समय अफगानिस्तानलाई टेस्ट नेसन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो ।’

प्रशिक्षक मनोज प्रभाकर शनिबार साँझ नेपाल आउँदै छन् । उनीमाथि खस्किएको नेपाली क्रिकेटलाई सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी नतिजा निकाल्ने पहिलो चुनौती रहेको छ । प्रभाकर क्रिकेटका लागि कुनै पनि कन्जुस्याइँ नहुने क्रिकेटमा अब्बल देश भारतका खेलाडी हुन् । तर, उनलाई नेपालमा भएको सीमित साधनको अधिकतम प्रयोग गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ । अहिले टोलीमा नयाँ युवा खेलाडीको वर्चश्व रहेको छ । टोलीमा अनुभवी खेलाडी प्रायः शून्य छन् । क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताए । ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले नयाँ प्रशिक्षकको नयाँ योजनालाई क्यानले सम्बोधन गर्ने उनको भनाइ छ । 

‘अहिले नेपाली टोली ब्यालेन्स टिम छ । युवा टोलीको वर्चश्व छ, जुन माथि चढ्ने क्रममा छ । नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ । सिनियर खेलाडीले बिस्तारै विश्राम लिने अवस्था पनि छ,’ उनले भने, ‘अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ । क्रिकेटको स्तर अघि बढाउन प्रशिक्षकसँग हामीले योजना माग्छौँ । उहाँले ल्याएको योजनलाई हामी सम्बोधन गर्छौँ ।’

घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रस्ट देखाएको छ । नेपाल, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसिएटका शीर्ष टोलीका रूपमा लिइन्छ । तर, लगानी र संरचनाको हिसाबमा नेपाल र ती देशबीच आकाश–पातालको फरक छ । तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भए पनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ । 

यसका अलावा नियुक्त हुन लागेका मनोज प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोलीभित्रको गुट–उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ । मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन । 
वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले पनि परम्परगत ब्याटिङलाई सुधार गर्नुपर्ने र ब्याटिङकेन्द्रित प्रशिक्षण निकै नै आवश्यक रहेको बताए । टोलीमा एकताको अभाव भएको टिप्पणी सतहमा आइसकेको अवस्थामा टोलीलाई एकजुट बनाउने जिम्मेवारी पनि प्रशिक्षकको काँधमा रहेको पत्रकार निरञ्जन राजवंशीले बताए । ‘सबैभन्दा पहिलो र महत्वपूर्ण चुनौती भनेको नेपाली क्रिकेट टोलीको ब्याटिङ पक्ष हो । नेपालको ब्याटिङमा परम्परागत कमजोरी छ । धेरै खेलमा नेपाली टोली ब्याटिङकै कारण पराजित हुन पुगेको छ । सोही कारण ब्याटिङ पहिलो चुनौती हो । सुधारका लागि अन्य विकल्प खोज्नुपरे पनि क्यान तयारी हुनुपर्छ । एक दिवसीय, दुईदिवसीय अथवा तीनदिवसीय खेलाउने पर्ने हो,’ उनले भने, ‘ब्याटिङकेन्द्रित हुनुपर्नेछ । अर्को चुनौती नेपाली क्रिकेट टोलीभित्र एकताको अभाव छ भनिएको छ । सबै खेलाडीलाई एकताबद्ध बनाउन क्यानले भूमिका खेल्नुपर्नेछ । साथै एकदिवसीय जोगाउनुपर्ने चुनौती पनि अर्को छ ।’

प्रभाकरका लागि अर्को चुनौती प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु पनि रहेको छ । थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था प्रभाकरको जिम्मेवारीमा हुनेछ । विश्वकप क्रिकेट लिग– २ को शीर्ष तीनमा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ ।