मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिँदै । 
२०७९ श्रावण १५ आइतबार ११:२८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा ! रारा गोल्डकपको खर्च सार्वजनिक : तीन लाख  ४८ हजार नोक्सान

Read Time : < 1 मिनेट
२०७९ श्रावण १५ आइतबार ११:२८:००

गत माघमा सम्पन्न २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा तीन लाख ४७ हजार आठ सय १८ रुपैयाँ नोक्सान भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पोखरामा प्रतियोगिताको आयव्यय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

आयोजक क्लबका अध्यक्ष हरिराम गुरुङका अनुसार ६ देखि १५ माघ ०७८ मा भएको प्रतियोगितामा ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ आम्दानी र ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको थियो । क्लबका शाखा संस्थाहरूलाई सहयोगका लागि विशेष अनुरोध गरिएकोमा सहारा क्लब युकेले तीन लाख, हङकङले पाँच लाख एक हजार र अस्ट्रेलियाले एक लाख थप सहयोग गरेकाले नोक्सानी कम भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

अर्थ संकलन उपसमितिका संयोजक सुनिल गुरुङले कोरोना महामारीका कारण यसपटकको प्रतियोगितामा नोक्सानी व्यहोर्नुपरेको बताए । कोरोना संक्रमणलाई ध्यान दिँदै क्वार्टर फाइनलसम्मका खेल विनादर्शक अर्थात् टिकट बिक्री नगरी खेलाइएको र प्रायोजकहरूबाट समेत आशा गरेअनुसार सहयोग संकलन हुन नसकेकाले आम्दानीमा कमी आएको जानकारी दिए ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ’ 
‘पोखरालाई खेलकुद सहरको रूपमा स्थापित गरौँ’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा १० टोली सहभागी थिए । प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित्दा मनाङ मस्र्याङ्दी क्लब उपविजेता बनेको थियो । फाइनलमा एपिएफले टाई–ब्रेकरमा ५–४ गोल अन्तरले मनाङलाई पराजित गरेको थियो ।