मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २९ आइतबार ०७:४५:००
Read Time : > 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘खलंगामा हमला’माथि सिनेमा बन्ने

Read Time : > 1 मिनेट
२०७९ जेठ २९ आइतबार ०७:४५:००

तत्कालीन द्वन्द्वकालमा माओवादीले २९ कात्तिक ०५९ मा जुम्ला सदरमुकाम खलंगामा आक्रमण गर्दा भौतिक संरचनादेखि धेरै ठूलो मानवीय क्षति भएको थियो । यही आक्रमणको अनुभव सँगालेर शान्ति अभियन्ता राधा पौडेलले पुस्तक तयार पारेकी थिइन् ।

पौडेलको आत्मसंस्मरण ‘खलंगामा हमला’ले २०७० सालमा मदन पुरुस्कार पनि पाएको थियो । यही पुस्तकको कथामाथि अब सिनेमा बन्ने भएको छ । अंग्रेजी शीर्षकचाहिँ ‘जुम्ला : अ नर्सेज स्टोरी’ राखिएको छ । सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले खलंगामा आक्रमण गर्दा एक नर्सले भोगेको त्रासदीपूर्ण अनुभव पुस्तकमा छ ।

फिल्म निर्माण कम्पनी विष्ट ब्रदर्सले पुस्तकमाथि फिल्म निर्माणको अधिकार खरिद गरेको हो । निर्देशक तथा निर्माता विनोद विष्टले यसै वर्षभित्र फिल्म निर्माण सुरु हुने बताए । यसअघि झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’मा आधारित रहेर फिल्म बनाएका विष्टले यसपटक पनि पुस्तकमै आधारित प्रोजेक्ट रोजेका छन् ।

‘मलाई वास्तविक कथामा आधारित फिल्म मन पर्छ । पुस्तकमा लेखिएका कुरालाई सबैले जान्न जरुरी छ,’ निर्देशक विष्टले भने, ‘कसरी युद्धको त्रासदीमा एउटी नर्सले काम गर्न सक्छिन् भन्ने सन्देश यसले दिन्छ । यो प्रेरणादायी कथा हुनेछ ।’

निर्देशक विष्टले ‘खलंगामा हमला’ पुस्तकले मनमा छोएको बताए । उनले लेखिका पौडेललाई सम्पर्क गर्न दुई वर्ष लागेको बताए । ‘मैले पुस्तक पढिसकेपछि राधाजीलाई सम्पर्क गर्ने धेरै कोसिस गरेँ । कसैले उहाँ अमेरिका हुनुहुन्छ भनिदिएँ । तर, पनि मैले गुगल सर्च गरेरै भए पनि उहाँसँग सम्पर्क गरेँ’, निर्देशक विष्टले भने, ‘सम्पर्क नम्बर पत्ता लाग्नेबित्तिकै पुस्तकमाथि चलचित्र निर्माण गर्छु भने । तर, अन्यले जस्तो सीधै अनुमति दिनुस् चलचित्र बनाउँछु भन्ने तरिकाले अफर गरिन् । तपाईंको पुस्तकमा यी कुरा मैले विशेष पाएँ भनेर प्रस्ताव राखेँ ।’