मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १४ शनिबार ०९:०२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युतीय गाडीमा देखिएन उल्लेख्य आकर्षण, १० महिनामा भित्रिए साढे १५ सय गाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १४ शनिबार ०९:०२:००

पेट्रोलको मूल्य बढ्दा ब्याट्रीबाट चल्ने बिजुली गाडीको चर्चा चल्ने गरे पनि र केहीले खरिद गरे पनि आयात भने घट्दै गइरहेको छ । वैशाख महिनाभरिमा विभिन्न देशबाट विद्युतीय कार, जिप र भ्यान गरी ७८ वटा मात्र नेपाल भित्रिएका छन्, जुन अघिल्ला महिनाहरूको तुलनामा कम र असोज महिनाको तुलनामा धेरै नै कम हो । चालू आर्थिक वर्षको असोजमा सबैभन्दा धेरै तीन सय तीन गाडी आयात भएका थिए । 

सरकारले विद्युतीय गाडी आयातमा कडाइ नगरे पनि पछिल्ला महिनामा आयात घट्दै गइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चैतमा एक सय १६ विद्युतीय गाडी आयात भएको तथ्यांक छ । पछिल्लो १० महिनामा ६ मुलुकबाट विभिन्न ब्रान्डका एक हजार पाँच सय ५१ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् । विद्युतीय सवारीसाधनको चर्चा बढे पनि अझै उपभोक्ता यस्ता सवारीप्रति विश्वस्त हुन नसकेको तथ्यांकले देखाउँछ ।

त्यसो त पछिल्लो समय तरलता अभाव, ब्याजदर वृद्धि, आयातमा कडाइ, चुनावी महिनालगायत कारणले पनि आयात प्रभावित भएको हुन सक्ने व्यवसायीको आकलन छ । कतिपय कम्पनीले मागेजति गाडी उपलब्ध गराउन नसक्दा बुकिङ गरेको महिनौँसम्म पनि विद्युतीय गाडी पाउन नसकेको अवस्था पनि छ । विद्युतीय कार विक्रेता किया, हुन्डाई, एमजी, टाटालगायत ब्रान्डहरूले ग्राहकसँग बुकिङ लिएर पनि गाडी दिन सकेका छैनन् ।

एमजी मोटर्सका नेपाली विक्रेता पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले भने, ‘उत्पादक कम्पनीले हामीलाई चाहिएजति गाडी उपलब्ध गराउन नसक्दा हामीले ग्राहकको मागअनुसार दिन सकेका छैनौँ । हाल पाँच सय गाडी बुकिङ भइसकेका छन् । यी गाडी ग्राहकलाई हस्तान्तरण गर्न कम्तीमा तीन–चार महिना लाग्छ ।’

पछिल्लो १० महिनामा चार अर्ब ५२ करोड ६८ लाख मूल्यबराबरका विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् । यी गाडी आयात हुँदा एक अर्ब २२ करोड ४८ लाख रुपैयाँ भन्सार असुली भएको छ । चीनबाट आठ सय एक गाडी भित्रिएका छन् भने भारतबाट पाँच सय ५५, कोरियाबाट एक सय ४८, अमेरिकाबाट १८, जापानबाट २८, फ्रान्सबाट एक विद्युतीय कार भित्रिएको तथ्यांकले देखाउँछ ।

एक सय किलोवाटभन्दा कम क्षमताका चीनबाट एक सय ४५, फ्रान्सबाट एक, भारतबाट पाँच सय ५५ र कोरियाबाट एक सय चार गाडी आयात भएका छन् । यस्तै, एक सयदेखि एक सय ५० किलोवाटसम्मका अमेरिकाबाट १३ गाडी आयात भएका छन् । एक सय ५० देखि दुई सय किलोवाट क्षमतासम्मका चीनबाट ६ सय ५६ र जापानबाट २८ वटा गाडी आयात भएको तथ्यांकले देखाउँछ । एक सयदेखि दुई सय किलोवाटका कोरियाबाट ४४, अमेरिकाबाट एक गाडी भित्रिँदा दुई सयदेखि तीन सय किलोवाटसम्मका अमेरिकाबाटै दुई र तीन सय किलोवाटभन्दा बढीका अमेरिकाबाट दुईवटा गाडी आएका छन् ।

कति भित्रिए तीनपांग्रे ?
१० महिनामा चीन र भारतबाट एसेम्बल गरिएका र एसेम्बल नगरिएका गरी ६ हजार ६ सय ४८ वटा तीनपांग्रे विद्युतीय रिक्सा–टेम्पो नेपाल भित्रिएका छन् । एसेम्बल नगरिएका तीनपांग्रे सवारीसाधन चीनबाट पाँच सय ८४ र भारतबाट एक सय ८० वटा भित्रिएका छन् । यी साधन नेपालभित्रै एसेम्बल हुन्छन् । यस्तै, एसेम्बल गरिएका तयारी तीनपांग्रे चीनबाट चार हजार चार सय ३७ र भारतबाट एक हजार चार सय ४७ वटा भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

पछिल्लो समय नेपालमा विभिन्न ब्रान्डका २० लाख रुपैयाँदेखि चार करोडसम्मका विद्युतीय कार हुइँकिन थालेका छन् । १४ वर्षअघि नेपालमा पहिलोपटक सानो विद्युतीय कार रेभा भित्रिएको थियो । अहिले चिनियाँ, भारतीय, कोरियालीदेखि अमेरिकन ब्रान्डसम्मका विद्युतीय कार नेपालमा आउन थालेका छन् । नेपालमा टेस्ला, अउडीदेखि महिन्द्रा, किया, हुन्डाई, एमजी, बिवाइडी, टाटा, दिगो, ग्रेटवाल, पियाजिओ, डेरी, डिएफएसके, निसानलगायत १५ भन्दा बढी ब्रान्डले विद्युतीय कार भित्र्याइसकेका छन् ।