१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मनाङ दमक गोल्डकपको फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:५o:oo

मनाङ मर्स्याङ्दी  क्लब दमक गोल्डकपको उपाधिनजिक पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० गोलअन्तरले पाखा लगाउँदै मनाङ फाइनलमा प्रवेश गरेको हो ।मनाङको जितका लागि अफिज ओलावलेले एक मात्र गोल गरे । खेलको २९औँ मिनेटमा कमल श्रेष्ठको लामो पासमा डिबक्समा रहेका ओलावलेले हेडमार्फत गोल गरे ।

डिफेन्स लाइनलाई दह्रो हुँदाहुँदै पनि मनाङले यसपछि कुनै गोल गर्न सकेन । मनाङले पाएका अवसरलाई फिनिसिङ लाइन कमजोर हुँदा सदुपयोग गर्न सकेन । खेलको सातौँ मिनेटमा मनाङका सुमन लामाले डिबक्सबाट गरेको प्रहार अकासियो । २०औँ मिनेटमा मोउसाको प्रहार फस्टबारबाट बाहिरियो । २४औँ मिनेटमा मोउसाले दिएको लामो प्रहारमा डिबक्समा रहेका ओलावलेले गरेको हेडर विपक्षी गोलरक्षक सन्दीप भट्टराईले नियन्त्रणमा लिए ।

४९औँ मिनेटमा सुमन लामाले डिबक्सबाट गरेको प्रहार फस्टबारनजिकैबाट बाहिरियो । ६१औँ मिनेटमा मोउसाले गरेको कडा र लामो प्रहार क्रसबारमा ठोकिएर फर्कियो । ६८औँ मिनेटमा मोउसाले गरेको लामो र कडा प्रहार क्रसबारमाथिबाट बाहिरियो । ७०औँ मिनेटमा ओलावलेले ‘वान भर्सेस वान’मा डिबक्सबाट गरेको प्रहार अकासियो । ८९औँ मिनेटमा अञ्जन विष्टले डिबक्सबाट गरेको प्रहार फस्टबारनजिकैबाट बाहिरियो । 

सुरुवाती समयमा निकै राम्रो प्रदर्शन गरेका मानेभञ्ज्याङका खेलाडीले गोल खाएपछि लय गुमाए । मनाङको गोलपछि दबाबमा परेका मानेभञ्ज्याङका खेलाडी खेलमा फर्कने कोसिस गरे पनि सफल हुन सकेन । डिफेन्स लाइन निकै सशक्त रहेको मानेभञ्ज्याङको फिनिसिङ लाइन भने कमजोर थियो । उसले केही राम्रा अवसर बनाए पनि सदुपयोग भने गर्न सकेन । खेलको २३औँ मिनेटमा दार्जिलिङका रण तामाङको लामो प्रहार विपक्षी गोलरक्षक विशाल सुनारले नियन्त्रणमा लिए । ३५औँ मिनेटमा साइफ खानको कडा फ्रिकिक प्रहार क्रसबारनजिकैबाट बाहिरियो । ४३औँ मिनेटमा विमल कुमारले गरेको प्रहार फस्टबारबाट बाहिरियो । ५९औँ मिनेटमा साइफ खानले डिबक्सबाट गरेको प्रहार क्रसबारनजिकैबाट आकासियो । 

सेमिफाइनलको पहिलो खेलको म्यान अफ दी म्याच मनाङका ओलावले भए । उनले नगद दश हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै मनाङले कम्तीमा ६ लाख ११ हजार रुपैयाँ सुरक्षित गरेको छ । उसले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बुधबारको सेमिफाइनल खेल साविक विजेता नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रूपन्देहीबीच हुने आयोजकले जनाएको छ ।
 

ad
ad