१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
श्रवण थापा सर्लाही
२०७८ फाल्गुण १९ बिहीबार १५:०४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनता आवास कार्यक्रम : पक्की घरको लोभमा छाप्रो भत्काइयो, तर दुई वर्षमा पनि बनेन घर

Read Time : > 3 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ फाल्गुण १९ बिहीबार १५:०४:००

दुई वर्षअघि पक्की घरको लोभ देखाएर सर्लाहीको विष्णु गाउँपालिका– ४, मुसहर टोलका रामजनम माझीको फुसको झोपडी भत्काइयो। सरकारले पक्की घर निर्माण गरिदिने बताएपछि रामजनम निकै खुसी भए।  

वर्षौँदेखि फुसको चुहिने घरबाट मुक्ति पाइने कुराले उनी र उनको परिवार निकै खुसी थियो। कुराकानी चलेको केही समयपछि घर निर्माणको काम पनि सुरु भयो। उनले पनि खुसी–खुसी आफूले टाउको लुकाउँदै आएको सम्पत्तिको नाममा भएको फुसको छाप्रो हटाइदिए। घर बनाइदिन्छु भनेर आएका नेता र ठेकेदारले लगभग एक वर्षमा तिम्रो आफ्नै पक्की घर हुन्छ भनेको उनी सम्झन्छन्।

‘दुई वर्ष भयो, परिवार बर्सातमा भिजेर हिउँदमा जाडोमा कामिरहेका छाैँ। एक वर्षमा पाउँछौ भनेको घर दुई वर्ष बितिसक्दा पनि पूरा भएको छैन,’ उनले भने। दैनिक ज्याला–मजदुरी गरे परिवार पाल्दै आएका रामजनम न त अधुरो घरको काम पूरा गराउन सक्छन्, न त अधुरै घरमा ओत लाग्न सक्छन्। 

रामजनम माझीजस्तै शम्भु माझीले पनि आधा भत्किएको झुपडीमा बसेर पक्की घर निहालेको दुई वर्ष भइसक्यो। उनको पनि कथा रामजनमको भन्दा फरक छैन। सरकारले दिन्छु भनेको पक्की घर बनिनसक्दै भत्कने अवस्थामा पुगिसक्यो। तर, शम्भुको उक्त घरमा बस्ने सपना पूरा भएको छैन। घरको जगदेखि पर्खाल लगाउनेसम्मको काम सकिएको छ। 

यसरी घर अलपत्र परेको डेढ वर्षभन्दा बढी भएको उनले सुनाए। शम्भुको भनाइअनुसार उक्त घर ०७७ असारतिरबाट बनाउन सुरु भएको हो। सोही समयदेखि उनी घर बनिरहेको स्थाननजिकै चौरमा जसोतसो बाँस र फुसको छाप्रो बनाएर बसिरहेका छन्। सोही छाप्रोमा उनले दुईवटा वर्षा भिजेर र दुई हिउँद ठिहिरोमा काप्दै  कटाए। 

‘यसरी बिचल्ली हुन्छ भन्ने थाहा पाएको भए झुपडी भत्काउन दिने थिइनँ,,’ शम्भुले भने, ‘हाम्रो त झन् बिजोग भयो। जाडो जसोतसो कटाइयो। अब वर्षा त कसरी कटाउने हो ? सरकारले जनता आवासको लोभ देखाएर आफूजस्ता विपन्नको उठिबास लगायो,’ उनको गुनासो छ। ठेकेरदारले आफूहरूको कुनै कुरा नसुन्ने स्थानीय मुसहरहरू बताउँछन्। 

शम्भु र रामजनमजस्ता बिचल्लीमा परेको यस मुसहर टोलमा मात्र २१ परिवार छन्। उनीहरू सबैको कहानी एउटै छ। उनीहरूलाई सरकारले दिने भनेको आवास (घर) आकाशको फल बनेको छ। दुई वर्षदेखि तयार होला र बसौँला भन्दाभन्दै हिउँद वर्षामा बिचल्ली बनाएको स्थानीय मुसहर परिवारको गुनासो छ। 

उक्त आवासमा छानो, झ्याल, ढोका लगाउन बाँकी छ। भित्तामा समेत प्लास्टर गरिएको छैन। ठेकेदारले घर प्लास्टर नगरी यसै छाडिदिने हो कि भन्ने उनीहरूलाई चिन्ता छ। तराईको ठाउँ विषालु सर्पको बिगबिगी हुने गरेको छ। यसरी प्लास्टर नगरेको इँटाको कापमा सर्प बस्ने चिन्ता लागिरहेको अर्की लाभग्राही जसियादेवी मुसहरले बताईन्। 

केही परिवारले बस्ने बासै नभएपछि फुसको छाना लगाएर अधुरै घरमा बस्न सुरु गरेका स्थानीय अखलेश बैठाले बताए। तर, त्यसबाट बर्सातमा पानी चुहिएर बिजोग हुने गरेको छ। यसरी ठेकेदारले ठिलासुस्ती गरेको विषयमा पटकपटक जानकारी गराउँदासमेत सम्बन्धित निकायले ध्यान नदिएको मुसहरहरूको दुःखेसो छ। उनीहरूले आफूहरूको समस्या कसैले नहेरिदिएको दुःखेसो गरे।

जसियादेवीले भनिन्, ‘कहाँ जाने ? कसलाई भन्ने ? कसैले हाम्रो कुरा सुन्दैन। जनप्रतिनिधिहरूलाई भनेँ, यो प्रदेश र संघ सरकारको हो भन्छन्। कुन सरकारको हो ? हामी पढेलेखेका छैनौँ। कसरी थाहा पाउने ? बरु यो घर हटाएर हाम्रो छाप्रो बनाइदिनु। हामी हिउँद र वर्षामा यसरी खुला आकाशमा बालबच्चाको बिचल्ली पारेर कति दिन बस्नु ?’

जनता आवासको नाममा विपन्न मुसहरको भएको घर भत्काएर उठिबास लगाएको विष्णु गाउँपालिका– ४, का वडाध्यक्ष गोविन्द महतोले बताए। विपन्न मुसहर परिवारको बिचल्ली भएको विषयमा आफूले जनता आवास कार्यक्रमका जिल्ला समन्वय समिति संयोजक एवं सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उपेन्द्र कुशवाहलाई पटक–पटक जानकारी गराएको उनले बताए। 

आन्तरिक लाभको पछि लागेर संयोजक कुशवाह र ठेकेदारले मुसहर परिवारको बिल्लीवाठ बनाएको वडाध्यक्ष महतोको आरोप छ। घर निर्माणमा समेत जनश्रमदान भनेर संयोजक कुशवाहले आफ्नो खुसी ठेकेदारलाई ठेक्का दिएको उनले आरोप लगाए। ठेकेदारले घर निर्माणमा मनोपोली गरेर कमसल सामग्री प्रयोग गर्दासमेत सम्बन्धित निकायले आँखा चिम्लिएर बसेको उनले सुनाए।

‘म यस वडाको वडाध्यक्ष भएको नाताले मैले उनीहरूको दु:ख देख्न नसकेर कतिपटक माननीयज्यूलाई भने,’ वडाध्यक्ष महतोले भने, ‘माननीयज्यू, दुई वर्षदेखि यस ठाउँका नागरिकको जीवन कष्टकर बनेको छ। पक्की घरको लोभमा तपाईंहरूले यी विपन्नलाई पालमा पुर्‍याइदिनुभयो। छिटाे घर बनाइदिनुस्, तर उहाँहरूले सुन्नुभएन। ठेकेदार र माननीयज्यूको के कुरा मिलेन, कामै अलपत्र भयो।’

दुई हप्ताभित्र विपन्नलाई घर दिन्छौँ : सांसद कुशवाह
दुई हप्ताभित्र घर तयार गरेर दिने प्रदेश सांसद एवं जनता आवास कार्यक्रमका जिल्ला समन्वय समिति संयोजक उपेन्द्र कुशवाहले जानकारी दिए। उक्त मुसहर गाउँका २१ परिवारलाई निर्माण सम्पन्न गरेर घर दिने तयारीमा रहेको उनको दाबी थियो।

विष्णु गाउँपालिका– ४ मुसहर टोलको समस्या बुझेको बताउँदै संयोजक कुशवाहले घर निर्माण अलपत्र पर्दा विपन्नको बिचल्ली भएको स्वीकार गरे। सांसद कुशवाहले ठेकेदारको लापरबाहीले लाभग्राहीले समयमा घर नपाएको दाबी गरेका छन्। ठेकेदारलाई भेटेर आफूले बर्सात सुरु हुन पहिला नै घर निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएको उनले बताए। 

‘त्यहाँका विपन्न मुसहरले समयमै घर नपाएको कुरा म स्वीकार गर्छ,’ उनले भने, ‘गाउँमा यसरी लागत सहभागितामा काम गर्न समस्या छ। यसैले ठेकेदारमार्फत काम गर्नुपरेको हो। बीचमा ठेकेदारले काम रोकेछन्। मैले काम छिटो गर्न भनेको छु। ठेकेदारले दुई–तीन दिनमा सामान झारेर काम सुरु गर्छ। काम सुरु भएको बढीमा दुई हप्तामा उनीहरूले घरमा बस्न पाउँछन्।’

सांसद एवं जनता आवासका जिल्ला संयोजक कुशवाहले सरकारले नियुक्ति दिएर काम गर्न नदिएको गुनासो गरेका छन्। संघ सरकारले नियुक्तिबाहेक केही नदिएर  आफूहरूलाई पंगु बनाएको उनले बताए। विपन्न जनता दैनिक घर माग्न कार्यालय आइपुग्ने गरेको बताउँदै, सांसद कुशवाहले सरकारले आफूहरूलाई काम गर्ने कुनै वातावरण तयार नगरिदिएको गुनासो गरे। 

‘मैले त कार्यालयमा बस्नै छाडिसकेँ,’ उनले भने, ‘विपन्न घर देऊ भन्दै आउँछन्। सरकारले अहिलेसम्म नियुक्तिबाहेक केही दिएको छैन। गर्ने के ? जनताको गाली खान मात्र आएजस्तो भएको छ।’

सर्लाहीमा गत वर्ष सम्म विपन्नको लागि बर्सेनि पाँच सयदेखि हजारवटासम्म जनता आवासको घरको योजना आउने गरेको थियो। यस वर्ष भने कुनै काम गर्न नपाएकोले एउटा घरको योजना पनि नआएको संयोजक कुशवाहको कथन छ। सरकारले तीन लाख ५० हजार लागतमा दुई कोठा भएको जस्ताले छाएर विपन्नलाई जनता आवासको नाममा घर दिँदै आएको छ।