Skip This
विदेशी लगानीलाई नेपाल ‘उर्वर’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २६ बुधबार १३:३o:oo
Read Time : > 6 मिनेट
ad
ad
१७औँ वार्षिकोत्सव विशेषांक प्रिन्ट संस्करण

विदेशी लगानीलाई नेपाल ‘उर्वर’

Read Time : > 6 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:३o:oo

गत वर्ष मन्दीले आम्दानी खुम्चिएपछि धेरै कम्पनीले लगानीकर्तालाई लाभांश खुवाउन सकेनन् । प्रतिफल वितरणमा बैंकहरू पनि पछाडि परे । लाभांश बाँड्नेले पनि अपेक्षाकृत दिन सकेनन् । तर, मन्दीबीच बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले ०७९/८० को नाफाबाट लगानीकर्तालाई १५८० प्रतिशत लाभांश वितरण गर्‍यो । दोस्रो बजारमा युनिलिभरको प्रतिकित्ता सेयर मूल्य ४० हजार ४५० रुपैयाँ छ (२८ चैतको कारोबार), जुन अन्य सूचीकृत कम्पनीको तुलनामा सबैभन्दा उच्च हो ।

कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल (तराई)ले गत आवको नाफाबाट ६० प्रतिशत वितरण गर्‍यो । बुधबार बोटलर्सको प्रतिकित्ता सेयर १२ हजार ७०२ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, विदेशी लगानीकै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दियो । लगानीकर्तालाई राम्रो मुनाफा वितरण गर्नेमा नबिल बैंक अग्रणी रहँदै आएको छ । विदेशी लगानीको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजना पनि धेरै नाफा कमाउने जलविद्युत् कम्पनीमा पर्छ । ९ अर्ब लगानी गरेर यो कम्पनीले ७० अर्बभन्दा बढी नाफा लगिसकेको छ ।

सबैभन्दा बढी लाभांश खुवाउने मात्र होइन, राज्यलाई सबैभन्दा बढी कर तिर्नेमा पनि बहुराष्ट्रिय कम्पनी नै अग्रस्थानमा आउँछन् । एनसेल, सूर्य नेपाल, गोर्खा ब्रुअरी, नबिल बैंकलगायत विदेशी लगानीका कम्पनीहरू राजस्व दाखिला गर्ने प्रमुख १० कम्पनीभत्र पर्छन् । यस्तै, डाबर नेपाल, बोटलर्स नेपाल, एसियन पेन्टस्, गोर्खा ब्रुअरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एसबिआई बैंक, एभरेस्ट बैंक, एलआइसी नेपाल, मेटलाइफ इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्स, आरती स्ट्रिप्स, होङ्सी शिवम् सिमेन्ट, हुवासिन, पोप्सी, केएफसीले पनि राम्रो प्रतिफल लिइरहेका छन् । 

तर, नेपाल भित्रिएको सबै लगानी सफल पनि भएका छैनन् । कतिपय लगानीकर्ताले लगानी फिर्तासमेत लगेका छन् । पछिल्लो समय अस्ट्रेलियाको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुप रुपन्देहीको पाँचतारे टाइगर प्यालेसको सेयर बिक्री गरेर बाहिरिएको छ । उसले रिसोर्टमा करिब पाँच अर्ब लगानी गरेको थियो । तर, स्थानीय साझेदार, सरकारी संयन्त्र, श्रमिक संगठनसँगको टसलले सिल्भर हेरिटेज बाहिरिएको हो । यस्तै, कोलगेट, रोयल स्ट्याग, डांगोटे, होटेल ओबराय, इन्डोस्वेज बैंक, अरब बैंक, हबिब बैंक, टेलिया सोनेरा, आजियाटा फिर्ता भएका छन् ।

विदेशी लगानीकर्ताले साढे ६ वर्षमा नेपालबाट ६ अर्ब ६५ करोड लगे
०७५/७६ देखि चालू आवको पुस मसान्तसम्म नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनीले कुल ६ अर्ब ६५ करोड रुपैयाँ रिप्याट्रिएसन (लाभांश, लगानी फिर्ता) लगेको राष्ट्र बैंकले जनाएको छ । यो रकम नेपाल भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)को ७.५८ प्रतिशत हो । यस अवधिमा लगानी बोर्ड र उद्योग विभागमार्फत १२ खर्ब १९ अर्ब रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ भने वास्तविक एफडिआई आप्रवाह ८७ अर्ब ७६ करोड रुपैयाँ मात्र रहेको छ । यो रकम कुल प्रस्तावित विदेशी लगानीको ७.१९ प्रतिशत मात्र हो ।

विदेशी लगानीका कम्पनीले आव ०७५/७६ मा तीन अर्ब ५८ करोड, आव ०७६/७७ मा २० करोड, आव ०७७/७८ मा ४० करोड, आव ०७८/७९ मा ६६ करोड, आव ०७९/८० मा एक अर्ब ८१ करोड र आव ०८०/८१ को ६ महिनामा ७८ लाख रुपैयाँ रिप्याट्रिएसन लगेका छन् ।

एफडिआईको इतिहास
सन् १९५० को दशकमै विदेशीले लाजिम्पाटमा स्नो भ्यु होटेल र कान्तिपथको बहादुर भवन (हाल निर्वाचन आयोग)मा ‘रोयल होटेल’ खोलेका थिए । रसियन नागरिक बोरिस लिसानोभिचले सञ्चालनमा ल्याएको रोयल होटेल नै नेपालको पहिलो लक्जरी होटेल भएको वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । सम्भवतः पहिलो विदेशी निजी लगानी पर्यटन क्षेत्रमै आएको अनुमागन गर्न सकिन्छ । अन्नपूर्ण प्रथम र सगरमाथा आरोहण पनि सोही दशकमा भएको थियो । यस्तै, बोरिसले प्याकेज टुर बनाएर पर्यटकलाई बिक्री गर्न सुरु गरेको उनको भनाइ छ । 

राज्यलाई सबैभन्दा बढी कर तिर्नेमा पनि बहुराष्ट्रिय कम्पनी नै अग्रस्थानमा आउँछन् । एनसेल, सूर्य नेपाल, गोर्खा ब्रुअरी, नबिल बैंकलगायत विदेशी लगानीका कम्पनीहरू राजस्व दाखिला गर्ने प्रमुख १० कम्पनीभत्र पर्छन् ।

सन् १९६१ देखि जिम्मी रोबर्टसले ट्रेकिङ सुरुवात गरे । नेपालमा ट्रेकिङको सुरुवात गराउने श्रेय उनैलाई जान्छ । सन् १९६४ मा अमेरिकी नागरिकले चितवन राष्ट्रिय निकुञ्जमा टाइगर टप्स खुल्यो । टाइगर टप्सलाई उचाइमा पुर्‍याउने काम बेलायती नागरिक जिम एडवार्डस्ले गरे । उनैले पछि बर्दियामा टाइगर टप्स कर्णाली लज खोले । टाइगर टप्स नेपाली जंगल पर्यटनको पायोनियर हो । जिम एडवार्डस्ले अफ्रिकातिर घुम्न जाने वाइल्डलाइफ पारखीलाई नेपालमा ल्याउने काम गरे । जिम एडवार्डस्ले मेघौलीमा आफ्नै लगानीमा एयरपोर्ट खोलेको बताइन्छ । विभिन्न देशबाट आउने हाई प्रोफाइल र लक्जरी पाहुना त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि त्यहीँबाट सीधै ट्विनअटर जहाज चढेर मेघौली एयरपोर्टमा ओर्लिन्थे । उनैले हात्तीपोलो खेल सुरु गरे ।

जापानिज नागरिक ताकासी मियाहाराले सन् १९७१ मा स्याङबोचेमा होटेल एभरेस्ट भ्यु सञ्चालनमा ल्याए, जुन विश्वकै अग्लो ठाउँको होटेलका रूपमा प्रख्यात छ । उनैले स्याङबोचे एयरपोर्ट बनाएको बताइन्छ । ललितपुरको हिमालय होटेलमा जापानिज लगानीकर्ता ल्याएका थिए । सन् १९६० र ७० को दशकमा झोँछेका होटेलमा पनि विदेशी लगानी थियो । यस्तै, ब्रिटिस नागरिक डगलसले पोखरामा दी प्याभिलियन हिमालजय द फार्म र प्याभिलियन हिमालयज लेक भ्यु टेन्टेड क्याम्प सञ्चालन गर्दै आएका छन् ।

नेपालमा हिमाल आरोहण, ट्रेकिङ, वाइल्डलाइफ, ¥याफ्टिङ, बन्जीलगायतको सुरुवात नै विदेशीले गरेका थिए । ०४६ को राजनीतिक परिवर्तनअघि नै विदेशीले नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने काम गरिसकेका थिए । विदेशीले नै नेपालमा पर्यटनको सुरुवात गरेको भन्दा पनि फरक नपर्ला । बरु प्रजातन्त्र आएपछि पर्यटन क्षेत्रमा त्यति ठूलो लगानी आउन नसकेको व्यवसायी बताउँछन् । हालै धुलिखेलमा खुलेको दुसित थानी हिमालय रिसोर्टमा विदेशीको मुख्य लगानी छ । यही नै पछिल्लो समय होटेलमा आएको ठूलो विदेशी लगानी हो । तर, म्यानेजमेन्ट कन्ट्र्याक्टमा आउने अन्तर्राष्ट्रिय चेन होटेलहरूको भने बहार नै चलिरहेको छ ।

पञ्चायतकालमा देशमा लाइसेन्सराज चलिरहेको थियो । व्यापार व्यवसाय गर्न दरबारको निगाहा चाहिन्थ्यो । जसले दरबारसँग सम्बन्ध बनाउन र चित्त बुझाउन सक्थ्यो, उसैले व्यवसायको लाइसेन्स पाउँथ्यो । ०४६ को राजनीतिक परिवर्तन र ०४८ को नीतिगत (उदारीकरण) परिवर्तनपछि बल्ल सबैका लागि लाइसेन्स खुला भएको हो । लाइसेन्स सहज भएपछि स्वदेशी लगानीकर्ता मात्र फस्टाएनन्, विदेशी बहुराष्ट्रिय कम्पनी पनि भित्रिन थाले ।

हिन्दुस्तान युनिलिभरले ०४६ अघि नै प्रचलित औद्योगिक ऐन तथा नियमअनुसार कम्पनी दर्ता गर्न आवेदन दिएको थियो । तर, लाइसेन्स पाउन प्रजातन्त्र नै आउनुपर्‍यो । युनिलिभर नेपाल र डाबर नेपालले सन् १९९२ देखि उत्पादन सुरु गरेका हुन् । युनिलिभरमा ८० प्रतिशत र डाबर नेपालमा ९७.५ प्रतिशत लगानी विदेशी रहेको छ । नेपाली चुरोट बजारमा सूर्य नेपालले अधिपत्य नै जमाएको छ । सूर्य नेपालमा भारतीय आइटिसी कम्पनीको ५९ प्रतिशत, बेलायतको ब्रिटिस अमेरिकन टोबाको (इन्भेस्टमेन्ट)को २ प्रतिशत र नेपालीको ३९ प्रतिशत स्वामित्व छ । सूर्य नेपालले बुढानीलकण्ठमा ७२ रोपनी क्षेत्रफलमा ६ अर्बभन्दा बढी लगानी गरेर पाँचतारे होटेल सञ्चालनको तयारी गरिरहेको छ ।

विदेशी लगानीका एसियन पेन्ट्स, ब्रजर पेन्ट्स र कन्साई नेरोल्याक पेन्ट्सले नेपाली रङको बजारमा अधिपत्य जमाएका छन् । नेपालमा सिमेन्टको मूल्य घटाउन विदेशी लगानीको होङ्सी शिवम् सिमेन्टको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ । हङकङको बहुराष्ट्रिय कम्पनी रेड लायन सिमेन्ट बहुमत लगानी रहेको होङ्सी शिवम्ले उत्पादन क्षमता दैनिक १२ हजार मेट्रिकटन पुर्‍याउँदै छ । धादिङमा चिनियाँ कम्पनी हुवासिनले हालै सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । यस्तै, भैरहवाको अर्घाखाँची सिमेन्टमा पनि विदेशी लगानी छ ।

कोक, फेन्टा र स्प्राइट उत्पादन गर्दै आएको बोटलर्स नेपाल र पेप्सी, माउन्टेन ड्यु, स्लाइस, मिरिन्डा, सेभेनप, सोडालगायत पेय पदार्थ उत्पादन गर्दै आएको वरुण बेभरेजले पनि राम्रो गरिरहेका छन् । बोटलर्स नेपालमा ७६ प्रतिशत लगानी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको छ । सन् १९९५ मा स्थापित वरुण बेभरेज (नेपाल) प्रालि अमेरिकन बहुराष्ट्रिय कम्पनी पेप्सीको बोटलर कम्पनी हो ।

पछिल्लो समयमा दुईवटा टायल उद्योगमा भारतीय कम्पनीले लगानी गरेका छन् । मुरारका ग्रुपले भारतीय सोमानी सेरामिक्ससँगको साझेदारीमा स्वदेशमै टायल उद्योग लगाइरहेको छ । रमेश कर्पले भारतकै कजरिया टायल्ससँगको साझेदारीमा अर्को टायल उद्योग सञ्चालनमा ल्याएको छ । सोमानी सेरामिक्समा दुई अर्ब र कजरिया टायल्स उद्योगमा साढे दुई अर्ब लगानी हुने बताइएको छ ।

विदेशी लगानीका एसियन पेन्ट्स, ब्रजर पेन्ट्स र कन्साई नेरोल्याक पेन्ट्सले नेपाली रङको बजारमा अधिपत्य जमाएका छन् । नेपालमा सिमेन्टको मूल्य घटाउन विदेशी लगानीको होङ्सी शिवम् सिमेन्टको महत्वपूर्ण योगदान रहेको बताइन्छ ।

टेलिकम कम्पनी एनसेल विदेशी लगानी रहेको सबैभन्दा धेरै आम्दानी र नाफा कमाउने कम्पनी हो । राज्यलाई सबैभन्दा बढी कर बुझाउनेमा अग्रपंक्तिमा रहँदै आएको छ । सुरुमा टेलिया सोनेराको लगानी रहेको एनसेलमा पछि मलेसियन कम्पनी आजियाटा प्रवेश गरेको थियो । तर, कर विवादमा पर्दै आएको आजियाटाले एनसेलमा रहेको पूरै (८० प्रतिशत) सेयर बेलायतमा दर्ता भएको कम्पनीलाई बिक्री गरिसकेको छ, जुन कम्पनीको नेतृत्व गैरआवासीय नेपाली सतिशराज आचार्यले गर्छन् । 

नेपालमा आधा दर्जन बैंकमा विदेशी लगानी रहेको छ । नेपालमा विदेशी लगानी रहेको पहिलो बैंक ‘नेपाल अरब बैंक’ हो, जुन अहिले नबिल बैंकका रूपमा सञ्चालनमा छ । अरब बैंकले आफ्नो हिस्सा बिक्री गरेर फर्किसकेको छ । हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको फ्रेन्च इन्डोस्वेज बैंक र हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंक पनि फिर्ता भइसकेका छन् । नेपाली र विदेशी ज्वाइन्ट भेन्चरमा नेपाल अरब बैंक १९८४ र नेपाल इन्डोस्वेज बैंक १९८६ मा स्थापना भएको थियो । अहिले पनि नबिल, एभरेस्ट, एसबिआई, स्ट्यान्डर्ड चार्टर्ड बैंकमा विदेशी लगानी छ । सबै बैंकको पर्फर्मेन्स अब्बल रहँदै आएको छ । यस्तै, इन्स्योरेन्स कम्पनीहरू एलआइसी नेपाल, मेटलाइफ, नेसनल इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्समा विदेशी लगानी छ ।

नेपालको हिमालयन एयरलाइन्समा पनि विदेशी लगानी रहेको छ । तिब्बतीय लगानी रहेको हिमालयनले सन् २०१४ मा काठमाडौं बेस बनाएर अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । चारवटा न्यारोबडी जहाज रहेको हिमालयनले छोटो अवधिमै काठमाडौंबाट बेइजिङ, चोङकिङ, दम्माम, ढाका, दोहा, दुबई, क्वालालम्पुर, रियादलगायत गन्तव्यमा उडान गर्दै आएको छ । 

‘खिम्ती’ जलविद्युत् : ९ अर्ब लगानी गरेर २० वर्षमा ७० अर्ब नाफा
६० मेगावाट खिम्ती जलविद्युत् आयोजना विदेशी लगानीको पहिलो जलविद्युत् आयोजना हो । नर्वेजियन लगानी रहेको हिमाल पावर कम्पनीले करिब नौ अर्ब लगानीमा मंसिर ०५३ देखि खिम्ती निर्माण सुरु गरेको थियो । असार ०७७ मा यो आयोजनाको आधा स्वामित्व सरकारमातहतमा आएको छ । खिम्तीले सरकारलाई आधा स्वामित्व दिनुअघि ७० अर्बभन्दा बढी नाफा कमाइसकेको बताइएको छ । 

नेपाली जलविद्युत् आयोजनामा लगानी गरेर विदेशी लगानीकर्ताले उच्च नाफा कमाइरहेका छन् । ४५ मेगावाटको माथिल्लो भोटेकोशी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, २५ मेगावाटको माथिल्लो मादीलगायत परियोजनामा पनि विदेशी लगानी रहेको छ, जुन उच्च मुनाफामा चलिरहेका आयोजना हुन् । 

यस्तै, विदेशी लगानीमा संखुवासभामा ९०० मेगावाट क्षमताको अपर अरुण तेस्रो जलविद्युत्् आयोजनाको निर्माण भइरहेको छ । भारतीय सरकारी कम्पनी एसजेभिएनले निर्माण गरिरहेको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशतभन्दा माथि पुगेको छ । ०२५ भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको अपर अरुणको लागत अनुमान १ खर्ब ४४ अर्ब ७६ करोड रहेको छ । यो आयोजनाको विद्युत् भारतमा निर्यात हुनेछ । 

नर्वेजियन लगानीमा निर्मित खिम्ती जलविद्युत् आयोजना

आयोजनाबाट नेपालले उत्पादनको २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाटसम्म विद्युत् निःशुल्क पाउनेछ । नेपालले आयोजनाबाट एक खर्ब ५० अर्ब रोयल्टी र ७७ अर्ब आयकर पाउनेछ । 

यस्तै, एक खर्ब ६२ अर्ब लगानी रहने ९०० मेगावाटको माथिल्लो कर्णाली परियोजना लगानी जुटाउने अन्तिम कसरतमा छ । भारतीय कम्पनी जिएमआरले यो आयोजना अघि बढाएको छ । माघ ०६४ मा सरकारसँग एमओयू गरेको जिएमआरको कार्य सम्पादन चित्तबुझ्दो छैन । यस आयोजनाबाट ५०० मेगावाट विद्युत् बंगलादेश निर्यात हुनेछ ।

यो आयोजनामा नेपालले कम्पनीको स्वपुँजीमा २७ प्रतिशत सेयर निःशुल्क पाउनेछ । आयोजनाबाट भने नेपालले उत्पादनको १२ प्रतिशत अर्थात् १०८ मेगावाटसम्म विद्युत् निःशुल्क पाउनेछ । त्यस्तै, नेपालले एक खर्ब ५६ अर्ब रोयल्टी र ८३ अर्ब आयकर प्राप्त गर्नेछ । 

भारतले नेपालमा चार हजार ६३९ मेगावाटका ७ आयोजना बनाउँदै छ । जसमा अरुण तेस्रो र माथिल्लो कर्णालीसहित ४९० मेगावाटको अरुण चौथो, ६६९ मेगावाटको तल्लो अरुण, ७५० मेगावाटको पश्चिम सेती, ४५० मेगावाटको सेती नदी–६ र ४८० मेगावाटको पुकोट कर्णाली रहेका छन् । यस्तै, कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ र चिनियाँ लगानीमा १२० मेगावाटको रसुवा–भोटेकोशी पनि निर्माणका चरणमा छन् । ३२७ मेगावाटको अपर मस्र्याङ्दी–२ मा चिनियाँ लगानी रहनेछ ।

ad
ad