१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका वीरगञ्ज (पर्सा)
२o८१ बैशाख २१ शुक्रबार १o:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वीरगन्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, वीरगञ्ज (पर्सा)
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२९:oo

वीरगन्ज महानगरपालिका– १७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगन्ज महानगरका– १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० रुपैयाँ हजारबराबरको क्षति भएको वीरगन्ज महानगरपालिका– १७ का वडाध्यक्ष राजीवबहादुर क्षेत्रीले बताए । ‘सातजनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ,’ उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न  सकेनौँ । फुसको घर मात्रै होइन, गाईगोठलगायत संरचना  पनि नष्ट भएका छन् ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए ।  आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा  १० लाख ६३ हजार रुपैयाँबराबरको क्षति भएको छ ।  सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् ।

आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी  आठ लाख ६८ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित रु. चार लाख ८० हजारबराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा  ११ लाख ६० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अन्नपात, लत्ताकपडा, सरसामान, सुनचाँदी गरी  चार लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । अभय सहनीकाे सात लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको ६ लाख २३ हजारबराबरको क्षति भएको छ ।
 
वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषत् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए । यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका– १ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा रु. १२ करोड ८४ लाखबराबरको क्षति भएको थियो। 

ad
ad