
इन्जिन बनाउन गत २६ पुसमा इजरायल पठाइएको जहाजको मर्मत–सम्भार सकिएसँगै सोमबार तेलबी–दुबई हुँदै काठमाडौं आउने
झन्डै पाँच महिनादेखि ग्राउन्डेड नेपाल एयरलाइन्सको न्यारोबडी (९एन एकेएक्स) जहाजले सोमबारदेखि व्यावसायिक उडान सुरु गर्ने भएको छ । दायाँ पखेटामा रहेको इन्जिनमा समस्या आएपछि १३ मंसिरदेखि ९एन–एकेएक्स विमान ग्राउन्डेड गरिएको थियो । जहाजको मर्मत–सम्भार सकिएसँगै निगमले सोमबारदेखि नियमित उडान गर्ने तालिका बनाएको छ ।
ग्राउन्डेड जहाजको इन्जिन फेर्न भन्दै २६ पुसमा इजरायल पठाइएको थियो । इन्जिन फेर्ने कार्य सकिएपछि निगमका दुई पाइलट जहाज लिन इजरायलको तेलबीमा पुगेका छन् । नेपाल एयरलाइन्सका दुई वरिष्ठ पाइलट नृपेन्द्र भट्टराई, अरविन्दराज पहारीलगायतको क्रु टोलीले जहाजलाई तेलबी–दुबई हुँदै सोमबार काठमाडौं ल्याउने निगमका प्रवक्ता (प्राविधिक) देवेन्द्र पुनले जानकारी दिए ।
‘जहाज लिन पाइलटहरू इजरायल पुगिसक्नुभएको छ, १० गते इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)ले जहाज हस्तान्तरण गर्ने कार्यक्रम छ,’ उनले भने, ‘जहाजको हस्तान्तरणपछि हाम्रा पाइलटले जहाजलाई दुबई हुँदै काठमाडौं ल्याउनुहुनेछ ।’ दुबईबाट यात्रु बोकेर व्यावसायिक उडान गरी जहाज काठमाडौं आउने उनले जानकारी दिए ।
निगमसँग दुईवटा वाइडबडी एयरबस ३३० र दुईवटा न्यारोबडी एयरबस ३२० विमान छन् । अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा व्यस्त रहने न्यारोबडी ९एन–एकेएक्स कलसाइनको जहाज एक सय ४५ दिनदेखि थन्किएको छ । सोही कारण भारतको दिल्ली, मुम्बई, बैंग्लोरलगायत विभिन्न गन्तव्यका निगमले बोक्ने यात्रुलाई विदेशी वायुसेवाले बोकिरहेका थिए । निगमको अन्य देशको उडान पनि अस्तव्यस्त रहँदै आएको छ । ग्राउन्डेड न्यारोबडीले अब पुनः उडान सुरु गर्ने भएपछि निगको व्यवसाय बढ्नुका साथै यात्रुले पनि सुविधा पाउने निगमले जनाएको छ ।
इन्जिन लिजसहित मर्मतको जिम्मेवारी पाएको इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)को लापरबाहीकै कारण व्यस्त सिजनमा जहाज महिनौँ ग्राउन्डेड गरेर राख्नुपरेको थियो । निगम नेतृत्वले कमिसन सेटिङमा मेन्टेनेन्स, रिपेयर, ओभरल (एमआरओ) कम्पनी छनोट गरेकै कारण इजरायली कम्पनीले ढिलाइ गर्दै आइरहेको निगमकै अधिकारीहरू बताउँछन् । सम्झौताबमोजिम आइएआईले जहाज ग्राउन्डेड भएको जानकारी पाएको सात दिनभित्र इन्जिन भाडामा उपलब्ध गराउने र ६५ दिनसम्म इन्जिन मर्मत गरेर हस्तान्तरण गर्नुपर्ने थियो । तर, जहाज ग्राउन्डेड भएको पाँच महिनापछि बल्ल मर्मत सकिएर हस्तान्तरण गर्ने तयारी गरिएको हो ।