१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:१८:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यस्ता छन् वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपालका १६ खेलाडी

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१८:oo

वेस्ट इन्डिज ‘ए’विरुद्धको ऐतिहासिक शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । प्रशिक्षक मोन्टी देसाईले एसिसी प्रिमियर कप खेलेको टोलीमा आरिफ शेख थपेका छन् ।

नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच खेलको टी–२० शृंखला १५ वैशाखदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । नेपालमा पहिलोपटक आएको वेस्ट इन्डिजमा टेस्ट, एकदिवसीय र टी–२० खेलेका अनुभवी खेलाडी छन् । टोलीको कप्तानी ४९ टेस्ट खेलको रोस्टन चेजले गर्नेछन् । 

रोहितकुमार पौडेल (कप्तान)
वेस्ट इन्डिजविरुद्धको सिरिजमा कप्तानीको अवसर पाएका रोहित अन्तर्राष्ट्रिय टी–२० आईमा नेपालका लागि उच्च रन बनाउने दोस्रो खेलाडी हुन् । नेपाललाई दोस्रोपटक टी–२० विश्वकपमा स्थान बनाउन महŒवपूर्ण भूमिका खेलेका उनी २०१९ देखि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनले ४९ खेलमा १ हजार आठ रन बनाएका छन् । ९० चौका र ३४ छक्का प्रहार गरेका रोहितको स्ट्राइक रेट १२४.९१ छ । 

दीपेन्द्रसिंह ऐरी 
अन्तर्राष्ट्रिय टी–२० आईमा ऐरीले पछिल्लो समय अद्भुत प्रदर्शन गरेका छन् । उनको नाममा कम बलमा अर्धशतक र ६ बलमा ६ छक्का प्रहार गरेको रेकर्ड छ । २४ वर्षीय ऐरी टी–२० आईमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । २०१८ देखि टोलीमा रहेका उनले ६४ खेलको ५६ इनिङ्समा १ हजार ६ सय २६ रन बनाएका छन् । उनले १२६ चौका र ६८ छक्का प्रहार गरेका छन् । ऐरीको स्ट्राइक रेट १४६.७५ रहेको छ । उनले एक खेलमा ११० रनको शतकीय इनिङ खेलेका छन् । 

कुशल भुर्तेल
पछिल्लो समय ओपनर भुर्तेल खराब फर्ममा चलिरहेका छन् । ओमानमा भएको एसिसी प्रिमियर कपमा उनको प्रदर्शन फितलो रह्यो । यद्यपि, वेस्ट इन्डिजविरुद्धको सिरिजमा स्थान पक्का गरेका भुर्तेलले स्पिनरका रूपमा आफूलाई चिनाउने प्रयास गरिरहेका छन् । उनी टी–२० आईमा नेपालका लागि उच्च रन बनाउने तेस्रो खेलाडी हुन् । २०२१ मा डेब्यु गरेपछि भुर्तेलले ४३ खेलमा एक हजार ८१ रन बनाएका छन् । उनले एक खेलमा १०४ रनको शतकीय इनिङ्स खेलेका छन् । अहिलेसम्म उनले ११० चौका र ४६ छक्का प्रहार गरेका छन् । 

आसिफ शेख
पछिल्लो समय भुर्तेललाई ओपनिङमा आसिफ शेखले राम्रो साथ दिँदै आइरहेका छन् । धैर्यपूर्वक ब्याटिङ गर्न रुचाउने शेख आक्रामक रूपमा प्रस्तुत हुन्छन् । उनले ४४ टी–२० आई खेलमा एक हजार २३ रन बनाएका छन् । २२ वर्षीय शेखको उच्चतम व्यक्तिगत रन ६४ रन हो । ११८.६७ स्ट्राइक रेटमा उनले ९९ चौका र ३४ छक्का प्रहार गरेका छन् । विकेटकिपर ब्याट्सम्यानका रूपमा चिनिने शेख फर्ममा छन् । 

कुशल मल्ल
आक्रामक बायाँहाते खेलाडी मल्लको फर्म राम्रो छ । एसिसी प्रिमियर कपमा उनले नेपालका लागि गतिलो प्रदर्शन गरेका थिए । ब्याटिङ र बलिङमा एकैनासको योगदान दिन सक्ने खुबी भएका मल्ल नेपालका लागि टी–२० आईमा सर्वाधिक रन बनाउने पाँचौँ खेलाडीमा पर्छन् । उनले २०१९ देखि ३९ खेल खेलेका छन् । उनले एक खेलमा सर्वाधिक १३७ रनको योगदान दिएका छन् । उनले टी–२० आईमा ७७१ रन बनाएका छन् । 

आरिफ शेख
आरिफ ओपनर आसिफ शेखका दाजु हुन् । एसिसी प्रिमियर कपमा स्थान बनाउन नसकेका आरिफ समान दुईपटकको एकदिवसीय तथा टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको घरेलु सिरिजमा स्थान बनाउन सफल भए । टोलीमा उनी आवश्यकताअनुसार चौथोदेखि साताँै क्रमसम्म ब्याटिङ गर्न आउँछन् । उनले २०१८ देखि ३८ खेल खेलेका छन् । छैटौँ नम्बर क्रिजमा आउने आरिफले टी–२० आईमा चार सय ९३ रन बनाएका छन् । 

गुल्सन झा
नेपालको राष्ट्रिय टोलीमा पछिल्लो समय गुल्सन अलराउन्डर भूमिका देखिएका छन् । आक्रामक ब्याटिङ गर्न रुचाउने गुल्सन विकेट पनि लिन माहिर छन् । सर्लाहीका १८ वर्षीय यी खेलाडीले तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्ने अवसर पाएका छन् । टी–२० आईमा २९ खेल खेल्दा उनले तीन सय ६२ रन बनाएका छन् । २०२२ मा डेब्यु गरेका उनले अहिलेसम्म १९ विकेट लिइसकेका छन् । 

सन्दीप जोरा 
२२ वर्षीय जोरा नेपाली टोलीको मध्यक्रमका ब्याट्सम्यान हुन् । दायाँहाते खेलाडीले कमै अवसर पाएका छन् । तर, उनले प्राप्त अवसरमा आफूलाई सिद्ध गरेका छन् । नेपालको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म उनले प्रभावशाली प्रदर्शन गरेका छन् । जोराले २०१९ देखि टोलीमा स्थान बनाएपछि ३० खेल खेलेका छन् । उनले तीन सय ८७ रन बटुलेका छन् । उनले २३ चौका र १५ छक्का प्रहार गरेका छन् ।

 करण केसी 
एक दशकदेखि करण नेपालका मुख्य अलराउन्डर खेलाडीका रूपमा छन् । सुकै अवस्थामा ब्याटिङ र बलिङ गर्न सक्ने क्षमता भएका करणले नेपालका लागि टी–२० आईमा ६८ खेल खेलेका छन् । ३२ वर्षीय अलराउन्डर यिनको खुबी नै आक्रामक ब्याटिङ हो । उनले चार सय १७ रन बनाएका छन् । बलिङतर्फ उनले टी–२० आईमा ९० विकेट लिएका छन् । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेपछि टी–२० आईमा सर्वाधिक विकेट लिने सूचीमा उनी दोस्रो स्थानमा छन् । उनको उत्कृष्ट प्रदर्शन ५÷२१ रहेको छ । सन् २०१८ मा करणले नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए। 

सोमपाल कामी
सोमपाल नेपाली टोलीको अनुभवी खेलाडीमा पर्छन् । २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेल्दादेखि अहिलेसम्म उनले नेपाली टोलीलाई उत्कृष्ट योगदान दिँदै आएका छन् । गत वर्ष एसिया कपमा भारत र पाकिस्तानविरुद्ध उनले बलिङमा प्रभावशाली प्रदर्शन गरेका थिए । यसैगरी जिम्बावेमा भएको एकदिवसीय विश्वकप ग्लोबल छनोटमा उनले वेस्ट इन्डिज र जिम्बावेसँगको खेलमा प्रदर्शन औसत गरेका थिए । उनले ६५ टी–२० आई खेलमा तीन सय १५ रन बनाएका छन् । गुल्मीका २८ वर्षीय यिनले ५८ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन नै २० रन दिएर तीन विकेट लिनु हो । 

अभिनाश बोहरा
नेपालका लागि टी–२० आईमा सर्वाधिक विकेट लिने सूचीमा बोहरा तेस्रो स्थानमा पर्छन् । तीव्र गतिका बलर बोहरा सुपर ओभरका विशेषज्ञ हुन् । २०१९ देखि टोलीमा रहेका उनले ५९ खेल खेल्दा ७४ विकेट लिएका छन् । सल्यानका २६ वर्षीय यिनी आयरल्यान्डको नेपाल टुर र नेपालको ओमान टुरमा सहभागी थिए । उनले २०१९ मा माल्दिभ्सविरुद्ध ११ रन दिएर ६ विकेट लिएका थिए । 

अनिल शाह
२५ वर्षीय अनिलले टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका छन् । बाराका अनिलले घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा स्थान बनाएका हुन् । शीर्ष क्रममा राम्रो प्रदर्शन गरे पनि उनी कतिपय खेलमा बेन्चमै सीमित भए । २०१८ देखि टोलीमा स्थान बनाए पनि उनले टी–२० आईमा मात्र दुई खेल खेलेका छन् । उनले २३ रन जोडेका छन् । एकदिवसीय खेलमा उनले नेदरल्यान्डविरुद्ध ५७ रन तथा क्यानडाविरुद्धको अभ्यास खेलमा ११२ रन बनाएका थिए ।

 ललितनारायण राजवंशी 
राजवंशी नेपालका विशेषज्ञ स्पिनर हुन् । २५ वर्षीय राजवंशीले २०१८ देखि टोलीमा स्थान बनाउँदा २१ खेल खेलेका छन् । १८ विकेट लिएर उनी नेपालका लागि उच्च विकेट लिनेको नवौँ स्थानमा छन् । उनले माल्दिभ्सविरुद्ध २०१९ मा ३ विकेट लिन ६ रन मात्र खर्चिए । 

विवेक यादव
विवेक नेपाली टोलीका अलराउन्डर हुन् । २० वर्षीय खेलाडीले २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसपछि उनले १९ खेलमा एक विकेट लिँदा ९१ रन जोडेका छन् । घरेलु लिगमा त्रिभुवन आर्मीबाट खेल्दै आएका विवेक रहँदा नेपाली टोलीको बेन्च निकै बलियो देखिन्छ । उनको विशेषता नै लामो सट प्रहार गर्ने हो ।

 प्रतिश जिसी
१९ वर्षीय बलिङ अलराउन्डर प्रतिशले २०२३ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले १० खेलमा आठ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३/१३ रहेको छ । हङकङ र ओमान भ्रमणमा प्रतिश टोलीसँगै थिए । उनले हङकङविरुद्ध मूलपानी माथिल्लो मैदानमा डेब्यु गरेका थिए ।

 आकाश चन्द
चन्दले नेपाली टोलीबाट डेब्यु गरेपछि मात्र तीन खेल खेलेका छन् । यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । अहिलेसम्म तीन खेलमै उनले सात विकेट लिएका छन् । कञ्चनपुरका १९ वर्षीय यिनले टी–२० आईमा हङकङविरुद्ध डेब्यु गरेका थिए । यसपटक स्थान बनाउँदा उनलाई चुनौती देखिन्छ ।

 

ad
ad