१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मुना कुँवर काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ

विज्ञापनमा महिलालाई मनोरञ्जनका रूपमा प्रस्तुत गरे एक वर्ष जेल वा पाँच लाखसम्म जरिवाना

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५३:oo
  • विज्ञापन प्रसारणपूर्व बोर्डबाट परीक्षण गर्नुपर्ने, बोर्डले आचारसंहिताविपरीत भएको पाएमा विज्ञापन रोक्न वा काँटछाँट गर्न सक्ने
  • आचारसंहिताविपरीत काम भएको पाएमा जोसुकैले पनि उजुरी दिन सक्ने, उजुरीकर्तालाई प्रोत्साहनस्वरूप १० हजार पुरस्कारसमेत प्रदान गरिने

विज्ञापनमा महिलालाई विलासिता वा मनोरञ्जनको साधनका रूपमा प्रयोग गरेमा पाँच लाख रुपैयाँ वा एक वर्षसम्म कैद सजाय हुने भएको छ । विज्ञापन बोर्डले नेपालको विज्ञापन क्षेत्रलाई स्वच्छ र पारदर्शी बनाउने उद्देश्यसहित जारी गरेको विज्ञापन आचारसंहिता, २०७८ मा यस्तो व्यवस्था गरिएको हो । 

बोर्डले महिलालाई यौन, भोग्य वस्तुका रूपमा विज्ञापनमा प्रयोग गराउन नपाइने व्यवस्था गरेको हो । आचारसंहिताविपरीत काम गरिएको प्रमाणित भएमा विज्ञापन ऐनअनुसार दण्ड र जरिवाना तोकिने बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए । 

बोर्डले महिलालाई अंग प्रदर्शन गर्न बाध्य पार्ने, यौन उत्तेजना फैलाउने, पुरुषको दाँजोमा कमजोर पात्रका रूपमा प्रदर्शन गर्नेजस्ता विज्ञापन प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । साथै, लैंगिक हिंसा वा सबै प्रकारका विभेदलाई बढावा दिने प्रकृतिका विज्ञापन सामग्री उत्पादन, वितरण, प्रकाशन वा प्रसारण गरेमा कारबाही हुने आचारसंहितामा उल्लेख छ । 
बोर्डका अध्यक्ष हुमागाईंका अनुसार विज्ञापन आचारसंहिताविपरीत काम भएको उजुरी परेमा बोर्डले अध्ययन समिति खडा गर्नेछ । समितिले कुनै पनि विज्ञापन उत्पादक, एजेन्सी, विज्ञापनदाता वा सञ्चारमाध्यमले संहिताविपरीत काम गरेको प्रमाणित गरेमा विज्ञापन ऐनबमोजिम कारबाही हुने बताएका छन् । 

नेपालका विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन पहिलोपटक आचारसंहिता जारी गर्न लागेको छ । बोर्डले जारी गरेको आचारसंहिताको पहिलो मस्यौदामा सरोकारवालासँग सुझाब मागेको छ । सुझाबलाई समेटेर पुस अन्तिमसम्ममा आचारसंहिताले पूर्ण रूप पाउने उनले बताए । 

भ्रमपूर्ण विज्ञापन गर्न नपाइने 

विज्ञापन बोर्डले जारी गरेको आचारसंहिताअनुसार सहरी सौन्दर्य बिगार्ने गरी कुनै पनि बोर्ड, पर्चा, पम्प्लेट, ब्यानर, भित्तेलेखन गर्न नपाइने भएको छ । होर्डिङ बोर्ड राख्दा स्थानीय तहले तोकेको मापदण्ड, कार्यविधि वा प्रतिक्रियाअनुरूप स्वीकृति लिनुपर्छ । त्यस्तै, सहर तथा राजमार्गआसपासका क्षेत्रका दृश्यमा दिग्भ्रमित गराउने, सवारी दुर्घटना बढाउने, रातको समयमा अत्यधिक चम्किलो प्रकाश दिई सवारी आवागमनमा असर पार्ने, सडक तथा सडकपेटीका खम्बा, पुल, आकासेपुल, सडक–किनारका रूखबिरुवालगायतमा सडकको सुन्दरता खलल पार्ने गरी राख्न नपाइने संहितामा उल्लेख गरिएको छ ।

कुनै पनि माध्यमबाट सुर्तीजन्य एवं मादक पदार्थको विज्ञापन गराउन नपाइने भएको छ । त्यस्तै, औषधि विज्ञानले प्रमाणित नगरेका झुटा विवरणयुक्त औषधिको विज्ञापन गरेमा, चिकित्सकको सिफारिसविना औषधि, यौन उत्तेजक औषधि तथा औषधिजन्य उपकरणसमेतको प्रयोग गर्न उक्साउने गरेमा, एउटै औषधिले सबै रोग निको पार्छ भन्ने खालका भ्रमपूर्ण विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसमेत गर्न नपाइने भएको छ । त्यस्तै, पेय पदार्थबाट हुने हानिको सम्बन्धमा सचेतनामूलक सन्देश प्रवाह नगरी विज्ञापन गरेमा र शक्तिवद्र्धक भनी कुनै पनि वस्तुको प्रयोग गर्न उक्साउने, लोभ्याउने खालका विज्ञापन गराउन पाइनेछैन । 

सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

सरकारसँग अनुमति नलिई सामाजिक सञ्जालमा विज्ञापन प्रकाशन, प्रसारण तथा वितरण, सेयर र सम्प्रेषण गरेमा कारबाही गरिने भएको छ । त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो परिचय लुकाई, नक्कली आइडी प्रयोग गरी कुनै पनि विज्ञापन गर्न पाइनेछैन । साथै, कसैको मन्जुरीविना सामाजिक सञ्जाल, मोबाइल एप्स तथा अन्य कुनै पनि प्रकारका एप्समार्फत विज्ञापनसमेत पठाउन नपाइने आचारसंहितामा उल्लेख छ । 

त्यस्तै, विज्ञापन प्रसारणपूर्व बोर्डबाट परीक्षण गर्नुपर्नेछ । परीक्षण गर्दा बोर्डले आचारसंहिताविपरीत भएको पाएमा विज्ञापन रोक्न वा काँटछाँट गर्न सक्नेछ । स्वदेशी वा विदेशी च्यानलको पुनः प्रसारकले विज्ञापन प्रसारण गर्न पाउनेछैन । बोर्डले तोकेबाहेक अन्य समयमा विज्ञापन प्रसारणसमेत गर्न पाइनेछैन । त्यस्तै, सञ्चारमाध्यमले विज्ञापन दररेट सार्वजनिक गर्नुपर्नेछ । निर्धारित न्यूनतम दररेटभन्दा कममा कारोबार गर्न पाइनेछैन ।

विज्ञापन एजेन्सीले जबर्जस्ती विज्ञापन गर्न लगाउन पाउनेछैन । विज्ञापनदाताले चाहेको सञ्चारमाध्यममा विज्ञापन प्रकाशन तथा प्रसारण गरिदिनुपर्नेछ । विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चारमाध्यमबीच त्रिपक्षीय सम्झौताका आधारमा काम गर्नुपर्छ । साथै, विज्ञापनदाता र सञ्चारमाध्यमलाई भ्रममा राखी विज्ञापनमा कालोबजारी गर्न नपाइने बोर्डले आचारसंहितामा उल्लेख गरेको छ । दोहोरो अर्थ लाग्ने गरी विज्ञापन निर्माण गर्न पनि पाइनेछैन । विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गरेमा समेत कारबाही हुने भएको छ । 

आचारसंहिताविपरीत काम भएको पाएमा जोसुकैले पनि उजुरी दिन सक्नेछन् । उजुरीमाथि बोर्डले छानबिन गर्नेछ । छानबिनबाट आचारसंहिताविपरीत काम भएको पाइएमा प्रचलित ऐनबमोजिम कारबाही हुने बोर्डका अध्यक्ष हुमागाईंले बताए । त्यस्तै, उजुरीकर्तालाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गरिने भएको छ ।

ad
ad