Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ३ शुक्रबार ०७:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग आजदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ३ शुक्रबार ०७:३६:००

दशरथ रंगशालामा शुक्रबार साँझ नवप्रवेशी सातदोबाटो र फ्रेन्ड्स क्लबबीचको खेलसँगै २०७८ सालको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुनेछ । फागुनको दोस्रो सातासम्म चल्ने लिगमा सहभागी १४ क्लबले उपाधिमाथि दाबेदारी दिनेछन् । लिगको उद्घाटन खेल फ्लर्ड लाइटमा हुनेछ । प्रतियोगिताअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहभागी क्लबले लिगबारेमा आफ्नो तयारी र लक्ष्य बताएका छन् । 

योपटक लिग उपाधिमाथि साविक विजेता मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी तथा नेपाल पुलिस क्लबले दाबेदारी दिँदै सोहीअनुसार तयारी भएको जनाएका छन् । साविक विजेता मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधि रक्षा त्यति सहज नभएको बताएका छन् । उनले उपाधि रक्षा गर्नकै लागि स्टार खेलाडीलाई अनुबन्धित र खर्च गर्नुपरेको बताए । ‘उपाधि रक्षा गर्न पक्कै सहज हुँदैन, त्यसैले पनि स्टार खेलाडी अनुबन्धन गरेर टोलीलाई थप मजबुत बनाएका हौँ,’ प्रशिक्षक कटवालले भने ।

मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले आफू चौथोपटक लिग च्याम्पियन बन्ने योजनाअनुरूप तयारी गरेको जनाए । उनले मनाङबाट दुई तथा मच्छिन्द्रबाट एकपटक लिग ट्रफी उचालेका छन् । ‘मेरो लक्ष्य लगातार चौथो उपाधि जित्ने लक्ष्य छ, टोलीमा प्रतिस्पर्धा बढ्नु हाम्रो लागि फाइदा नै हो,’ श्रेष्ठले भने । 

यसैगरी पुलिसका प्रशिक्षक अनन्त थापाले उपाधि जित्नका लागि तयारी गरेको बताए । उनले लिगका लागि चार महिना तयारी भएको जानकारी दिएका छन् । ‘पुलिसमा युवा खेलाडी भएकाले आश्चर्यजनक नतिजा आउन सक्छ,’ उनले भने । यसैगरी, आर्मीका सहायक प्रशिक्षक राजु तामाङले उपाधि जित्ने लक्ष्यका साथ तयारी भएको बताए । ‘आर्मी यसपटक उपाधिका लागि प्रस्तुत हुनेछ,’ तामाङले भने । 

गत सिजनको अन्तिम खेलमा मच्छिन्द्रसँग पराजित हुँदा आर्मी उपाधिबाट वञ्चित भएको थियो । बराबरीमा रोक्दा पनि आर्मीले उपाधि हात पार्ने थियो । टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ घाइते भएपछि उनको स्थानमा अरू खेलाडीलाई मौका भएको कप्तान भरत खवासले बताए । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले उपाधिका लागि मैदान उत्रने बताए । छोटो तयारी भए पनि अनुभवी खेलाडी भएकाले राम्रो खेल्ने उनले जनाए । थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले च्याम्पियन हुनका लागि तयारी गरेको बताए ।