सहिद स्मारक ए डिभिजन लिगको तयारीमा क्लब

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि यति वेला क्लब तयारीमा व्यस्त छन्। २९ कात्तिकबाट हुने लिगमा यो संस्करणका १४ क्लबले प्रतिस्पर्धा गर्दै छन्। सातदोबाटो युथ क्लब यो संस्करणमा नयाँ टोलीको रूपमा प्रतिस्पर्धा गर्दै छ भने अन्य टोलीले पनि खेलाडी सरुवा बजारको भरपुर सदुपयोग गर्दै लिगको उपाधि लक्ष्यका साथ तयारीलाई तीव्रता दिइरहेका छन्। 

१४ क्लबको सहभागिता रहने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ गतेबाट आयोजना हुँदै छ। त्यसका लागि अखिल नेपाल फुटबल संघले गत साता टाइसिट पनि सार्वजनिक गरिसकेको छ। जसअन्तर्गत पहिलो खेल नै यसै सिजन ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दा लिगको आरम्भ हुँदै छ। बढुवा भएको टोलीलाई अनुभवी प्रशिक्षक मेघराज केसीले सम्हाल्दै छन्। अनुभवी ए डिभिजन लिग क्लबसँग प्रतिस्पर्धा गर्न केसीले टोली राम्रो बनाउन निकै मिहिनेत पनि गरिरहेका छन्। अन्य क्लबको तुलनामा सातदोबाटो युथले केही महिनाअगाडिबाट तयारीलाई तीव्रता दिइरहेको छ। प्रशिक्षक मेघराज केसीले चुनौती स्वीकार गर्दै ए डिभिजनमा राम्रो फुटबल खेल्ने टोली बनाउन मिहिनेत गरेको बताए।

टोलीको टिमवर्क राम्रो भएको भन्दै आसन्न लिगमा राम्रो प्रदर्शन गर्ने प्रशिक्षक केसीको विश्वास छ। केसीले भनेजस्तै सातदोबाटो युथ क्लबका खेलाडी मनबहादुर तामाङले पनि लिगका लागि भनेर टोलीले राम्रो तयारी गरिरहेको र राम्रो फुटबल खेल्ने बताए। केही अनुभवी र नयाँ खेलाडीको समिश्रण भएको टोलीले विगत तीन महिनादेखि एकै ठाउँमा रहेर प्रशिक्षण गरेको र निश्चित लक्ष्य भएकाले भेटाउनका लागि सफल हुने तामाङले बताए।

त्यसो त सातदोबाटो युथ क्लबमा बी डिभिजन लिगबाट बढुवा भएको छुट्टै जोस छ। २६ वर्षे इतिहासमा पहिलोपटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो सम्मानजनक प्रतिस्पर्धा गरेर ए डिभिजन लिगमा बलियो टोली साबित गर्ने लक्ष्यमा छ। तर, काठमाडौंबाट इतिहास बोकेको न्युरोड टिम भने खेलाडी भेला पार्नेमा अझै व्यस्त छ। केही खेलाडीलाई समावेश गरेर तयारी थालेको टोलीमा केही राष्ट्रिय टोलीका खेलाडी भए पनि अभ्यासमा आइपुगेका छैनन्। लिग हुनेकी नहुने द्विविधा भइरहेको अवस्थामा सार्वजनिक तालिका र खेलाडीहरू उपत्यकाभन्दा बाहिर भएकाले तयारीलाई तीव्रता दिन नसकेको प्रशिक्षक राजुकाजी शाक्यले बताए। क्लबलाई अभ्यास गर्ने स्तरीय स्थान नभएको उनको गुनासो छ।

लिग आयोजनाको मिति नजिकिँदै गर्दा सबैजसो क्लब तयारीमा व्यस्त छन्। कोरोना महामारीले असर पारे पनि क्लबले जसो तेस्राे लिग खेल्ने योजना बनाएका छन्। १४ क्लबले सहभागिता जनाउने लिगमा यस संस्करण रेलिगेसन रहेको छ। लिगको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन्।
 

सुझावित समाचार