१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज १७ आइतबार ०७:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा कांग्रेसको जिल्ला सभापतिमा शंकर गुरुङ

वडादेखि जिल्लासम्मको नेतृत्व सर्वसम्मत चयन

Read Time : > 1 मिनेट
२०७८ असोज १७ आइतबार ०७:१९:००

मनाङमा कांग्रेसको जिल्ला सभापतिमा शंकर गुरुङ चयन भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनले गुरुङलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

मनाङमा वडा अधिवेशनअगावै सबै तहको नेतृत्व सर्वसम्मत चयन गर्ने टुंगो लागिसकेको थियो । त्यहीअनुसार शनिबार जिल्ला अधिवेशन भएको हो । नवनिर्वाचित गुरुङ शेरबहादुर देउवानिकट मानिन्छन् । उनी कांग्रेस विभाजित हुँदा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको पनि जिल्ला सभापति भएका थिए । 

यस्तै, जिल्ला  उपसभापतिमा यज्ञ घले र चन्द्र घले चयन भएका छन् । सचिवमा सुरेन्द्र गुरुङ र महेन्द्र घले रहेका छन् । कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भएका छन् । सहसचिवमा काशीराम गुरुङ र सागर गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ । 

मनाङबाट महाधिवेशन प्रतिनिधिहरूमा सभापति शंकर गुरुङ, पूर्वसांसद पाल्टेन गुरुङ, पूर्वमन्त्री एवं निवर्तमान सभापति  टेकबहादुर गुरुङ, कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टासी गुरुङ, गीता गुरुङ चयन भएका छन् ।

यस अघि दुई कार्यकाल नेतृत्व सम्हालेका निवर्तमान जिल्ला सभापति एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको संयोजकत्व र कार्यकर्ताहरूबीच छलफल गरी नयाँ नेतृत्व टुंगो लगाइएको कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए । 

मनाङमा कुनै विवाद नभई सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागेको सचिव गुरुङको भनाइ छ । मनाङ कांग्रेसले पार्टीको १४औँ महाधिवेशन सुरु हुनुभन्दा अगाडि नै वडादेखि जिल्लासम्म सर्वसम्मत रूपमा कार्यसमिति र प्रतिनिधिहरू चयन गरेको  कांग्रेस मनाङका निवर्तमान सभापति टेकबहादुर गुरुङले बताए । 

कांग्रेसभित्रको विवाद र द्वन्द्व निवारणका विषयमा मनाङ यसअघि पनि उदाहरण बन्दै आएको  गुरुङको भनाइ छ । मनाङमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद नभएको गुरुङ बताउँछन् । जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि निवर्तमान सभापति टेकबहादुर गुरुङले  बधाई र शुभकामना दिएका छन् ।