१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
काबुल एजेन्सी
२o८१ बैशाख २४ सोमबार o७:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अफगानी महिला खेलाडी पाकिस्तानको शरणमा 

Read Time : > 1 मिनेट
काबुल एजेन्सी
नयाँ पत्रिका एजेन्सी
२o८१ बैशाख २४ सोमबार o७:३८:oo

तालिबानको डरका कारण भलिबल तथा फुटबलका महिला खेलाडी आफ्नो सुरक्षार्थ छिमेकी देश पाकिस्तानको शरणमा छन्

विद्रोही तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रत्यक्ष रूपमा ठूलो असर खेलकुद क्षेत्रमा परेको छ । महिला सहभागी हुने खेलका खेलाडीले आफ्नो ज्यान रक्षा गर्न मुस्किल परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । तालिबानको अन्याय र अत्याचारबाट जोगिन विभिन्न खेलका महिला खेलाडी छिमेकी देशमा शरण लिइरहेका छन् । कतिपय महिला खेलाडी अफगानिस्तानकै विभिन्न क्षेत्रमा लुकेर र आफ्नो पहिचानसमेत लुकाएर बसिरहेका छन् । 

गत महिना तालिबानले एक महिला खेलाडीको हत्या गरेपछि काबुललगायत अन्य क्षेत्रमा महिला खेलाडीहरूको भविष्य तथा ज्यान सुरक्षा नभएको एजेन्सीहरूले दाबी गरेका हुन् । शुक्रबारसम्म तीन दर्जनभन्दा बढी महिला खेलाडी देश छाडेका छन् । आफ्नो ज्यान रक्षार्थ नै भलिबलका महिला खेलाडी पाकिस्तानको शरणमा पुगेका छन् । तालिबानले महिला भलिबल खेलाडीमाथि निशाना गरेको छ । यसै कारण उनीहरू छिमेकी देश पाकिस्तानको शरणमा पुगेका छन् । 

भलिबलबाहेक केही युवा खेलाडी पनि पाकिस्तानमै छन् । पासपोर्ट तथा अन्य महत्वपूर्ण सामग्री नहुँदा उनीहरूले केही कठिनाइ भोगेको बिबिसीले जनाएको छ । २३ महिला फुटबल खेलाडीसँगै उनीहरूका परिवार शान्ति खोज्दै पाकिस्तान पुगेका छन् । ‘फुटबलमा शान्ति आवश्यकता’ सन्देश दिँदै ती खेलाडी यसै साता पाकिस्तान पुगेका हुन् । अफगानी महिला फुटबल खेलाडीलाई पाकिस्तान फुटबल संघले सघाएको छ । 

संघका अनुसार तालिबानको डरका कारण अहिलेसम्म विभिन्न खेलका गरी अहिलेसम्म ८१ जना पाकिस्तान पुगेका छन् । लाहोरबाट पश्चिम क्षेत्रमा रहेको संघको मुख्य कार्यालयमा उनीहरूलाई अस्थायी शिविरको प्रबन्ध मिलाएको छ । पाकिस्तान सरकारले शरणमा आएका खेलाडी तथा परिवारलाई एक महिनाभित्र शरणार्थी भनी निवेदन राख्न भनेको छ । ‘खेलाडीहरूलाई मानवअधिकार कानुनमा रही ३० दिनभित्र निदेवन दिन भनिएको छ,’ फुटबल संघका एक अधिकारीले भने । 

गत महिना नै विभिन्न खेलका महिला खेलाडीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई ‘आपत्कालीन अवस्था’मा पाकिस्तानमा प्रवेश गर्न अनुमति मागेका थिए । प्रधानमन्त्री खानसमक्ष यो निवेदन आएको सार्वजनिक भएलगत्तै तालिबानको निशानामा महिला खेलाडी परेको एजेन्सीले जनाएको छ । ‘पाकिस्तान सरकारसम्म निवेदन पुग्दा खेलाडीले दिनदिनै धम्की सुन्नुपरेको छ,’ पाकिस्तानका एक सरकारी कर्मचारीले भने, ‘हामीले उच्च जोखिममा रहेका खेलाडीलाई शरणमा दिएका छौँ ।’

एक महिनाअघि फुटलकी पूर्वराष्ट्रिय खेलाडी तथा कप्तान खालिदा पोपालले सोसियल मिडियामा तालिबानलाई चेतावनी दिएकी थिइन् । सोसियल मिडियामार्फत खालिदाले तालिबानहरूले खेलाडीहरूको किट्स जलाउनेदेखि हत्यासम्म गर्न सक्ने बताएकी थिइन् । ‘हामीले राष्ट्रका लागि खेलेको तस्बिर मेटाउनेदेखि किट्स जलाउनेसम्म काम भइरहेको छ,’ उनले भनिन्, ‘अहिले ज्यान नै ठूलो हो, यसका लागि हामीले कदम चाल्नुपर्छ, उनीहरूविरुद्ध सशक्त आन्दोलन गर्नुपर्छ ।’

गत साता मात्र तालिबानका संस्कृति प्रमुख अहमदुल्लाह वासिकले महिला क्रिकेट खेलाडीहरूको बारेमा केही सोच्न नपर्ने र उनीहरूको भविष्य खासै नभएको बताएका थिए । 

ad
ad