निर्वाचन आयाेगले जनता समाजवादी पार्टीलाई नयाँ दलकाे मान्यता दिएकाे छ।
केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ताकाे निवेदन प्राप्त भएकाे जनाउँदै आयाेगले अशाेक राई नेतृत्वकाे जसपालाई नयाँ दलकाे मान्यता दिएकाे हाे।
आयाेगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आज बसेकाे आयाेगकाे बैठकले जसपालाई नयाँ दलकाे मान्यता दिने निर्णय गरेकाे हाे।
आइतबार जसपाका कार्यबाहक अध्यक्ष एवं सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएकाे जनाउँदै नयाँ दल दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दिएका थिए।
आजै जनता समाजवादी पार्टी नेपालले आइतबार दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको दाबी गरेकाे छ।
जसपाका प्रवक्ता मनीषकुमार सुमनले सोमबार विज्ञप्तिमार्फत दल विभाजन भएकाे भन्ने भ्रममा नपरी सबै केन्द्रीय सदस्यलाई पार्टीले तोकेको जिम्मेवारीमा लाग्न आग्रह गरेका छन्।