१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २६ शनिबार
  • Monday, 30 June, 2025
नवीन अर्याल काठमाडाैं
२o७८ भदौ २६ शनिबार o७:१o:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ अर्ब लगानीमा पाँचतारे होटेल र अपार्टमेन्ट बनाउँदै कर्मा ग्रुप

महाराजगन्जमा बनाउन लागिएको होटेलको व्यवस्थापन सम्हाल्न बहुराष्ट्रिय ब्रान्ड ‘ले मेरिडियन’ आउने सम्झौता भइसकेको छ

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २६ शनिबार o७:१o:oo

०७६ वैशाखमा कर्मा तेन्जिङ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सोलुखुम्बु पुगेका थिए । लुक्लादेखि बेसक्याम्पसम्म सगरमाथा चढ्ने स्वदेशी तथा विदेशी आरोहीहरूको बाक्लै भिड थियो । बेसक्याम्पमा झन्डै चार सय आरोही सगरमाथा चढ्ने उपयुक्त समयको पर्खाइमा थिए । मौसम खुल्नेबित्तिकै उनले १५ मे २०१९ मा सगरमाथाको सफल आरोहण गरे । 

आरोहणमा रुचि राख्ने कर्मालाई सगरमाथाको चुचुरो चुमेर काठमाडौं फर्किन झन्डै ४० दिन लाग्यो । त्यो अवधिमा उनको संगत विदेशी आरोहीसँग भयो । ती सबै खर्चालु आरोही थिए, मनलाग्दी खर्च गर्ने । एउटै व्यक्तिले ५० लाख रुपैयाँभन्दा बढी खर्च गर्न सक्ने । कर्मालाई लाग्यो, नेपाल त सौखिन धनाढ्य पर्यटकको गन्तव्य रहेछ । त्यही वर्षको २४ सेप्टेम्बरमा उनी फेरि अर्को हिमाल मनास्लु चढे । त्यहाँ पनि उत्तिकै खर्चालु आरोहीहरू देखिए । काठमाडौंबाट हेलिकोप्टर चढेरै मनास्लु पुग्ने आरोहीले राम्रै खर्च गरेको अनुमान लगाउन कठिन भएन । 

 होटेलको योजना
हिमाल आरोहण गर्न खर्चालु पर्यटकको तँछाडमछाड देखेपछि कर्माले नेपालमा हाई–इन्ड टुरिजमको राम्रो सम्भावना देखे । अर्थशास्त्रका विद्यार्थी उनले पर्यटन व्यवसायको गहिरो अध्ययन गरे । उनको अध्ययनले मुलुकमा पाँचतारे होटेलको कमी देखायो ।

उनलाई हाई–इन्ड पर्यटक राख्ने लक्जरी पाँचतारे होटेल खोल्ने हुटहुटी भयो । ‘१० लाख पर्यटक आउँदा पनि सिजनमा पाँचतारे होटेलमा ७० प्रतिशत अकुपेन्सी हुन्छ, सरकारले २०२० लाई भ्रमण वर्ष मनाउँदै २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ, दोब्बर पर्यटक आउँदा पाँचतारेको कोठाले पुग्दैनन्,’ उनलाई लाग्यो, ‘पाँचतारे लक्जरी होटेलमा लगानी गर्ने यही सही वेला हो ।’

कर्माले होटेलमा लगानी गर्ने निर्णय गर्दा कोभिड सुरु भएको थिएन । योजना बनाउँदा–बनाउँदै कोभिड सुरु भयो । महामारीले योजना पनि पछाडि धकेलिन पुग्यो । उनका बुबा तेन्जिङ (कालु) गुरुङले ३६ वर्षदेखि महाराजगन्जमा ११ रोपनी जग्गामा काठमाडौं भ्याली स्कुल सञ्चालन गरिरहेका थिए । स्कुल बालाजुको वनस्थली सारेर त्यहाँ लक्जरी होटेल र अपार्टमेन्ट निर्माण गर्न लागेको कर्माले बताए । उनी भन्छन्, ‘मैले हिमाल चढ्दा पर्यटनमा राम्रो सम्भावना देखेरै पाँचतारे होटेल खोल्ने योजना बनाएको हुँ ।’ 

 ले मेरिडियन आउँदै 
गुड कर्मा ग्रुप अफ कम्पनीजले पाँचतारे होटेल र अपार्टमेन्टको कन्सेप्ट तथा डिजाइन तयार पारिसकेको छ । भारतको मुम्बईस्थित नायक एन्ड एसोसिएटले परियोजनाको डिजाइन तयार पारेको हो । होटेल निर्माण स्वदेशी कम्पनीले गर्नेछ । होटेलको भवन १२ तला र दुई तला बेसमेन्ट पनि हुनेछ । होटेलमा ३–४ प्रकारका एक सय ७० कोठा हुनेछन् । दुईवटा रेस्टुरेन्ट, दुईवटा बार, स्विमिङ पुल, क्यासिनो, हेल्थ क्लबलगायत आधुनिक सुविधाहरू होटेलमा उपलब्ध हुने ग्रुपका अध्यक्ष कर्मा बताउँछन् । पाँचतारे होटेल र अपार्टमेन्टमा करिब ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान छ । 

कर्माले होटेलको भौतिक संरचना मात्र तयार पार्नेछन् । उनले होटेलको व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन मेरियट होटेल ग्रुपको फ्रेन्चाइज कम्पनी ‘ले मेरिडियन’लाई ल्याउने तयारी गरेका छन् । पाँचतारे होटेल सञ्चालन गर्ने सम्बन्धमा ‘ले मेरिडियन’सँग ७ अगस्टमा सम्झौता भइसकेको उनले बताए । ‘खर्चालु पर्यटक तान्न होटेलमा सेवा–सुविधा पनि राम्रो दिनुपर्छ, अन्तर्राष्ट्रिय चेनसँग व्यवस्थापनको राम्रो दख्खल हुन्छ,’ उनले भने, ‘ले मेरिडियनको इतिहास राम्रो लागेर आफैँले छानेको हुँ ।’ 

 नेपालमा भित्रिएका अन्तर्राष्ट्रिय ब्रान्ड
नेपालमा पहिलोपटक सोल्टी होटेलले अन्तर्राष्ट्रिय चेन भित्र्याएको थियो । सोल्टीले ५० वर्षअघि ओभरायको चेन ब्रान्ड ल्याएको थियो । त्यसपछि सेराटन, ले मेरिडियन, ताज, आइटिसी, इन्टरकन्टिनेन्टललगायत अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिए पनि सबै सफल भएनन् । व्यवसायी शशिकान्त अग्रवालले मेरियट पुनः भित्र्याएका छन् । उनको ठमेलको होटेलमा फेयर फिल्ड मेरियट र नक्सालको पाँचतारेमा मेरियट ब्रान्डले व्यवस्थापन हेर्छन् । यसअघि नै हायात र ¥याडिसन भित्रिसकेका छन् । सोल्टी होटेलमा आएको क्राउन प्लाजा भने बाहिरिएको छ । 

बैंकर पृथ्वीबहादुर पाँडेको ठमेलस्थित छाया सेन्टरको पाँचतारे होटेल मेरियटकै अलफ्ट ब्रान्डले व्यवस्थापन गरिरहेको छ । विनोद चौधरीले चितवनको मेघौली सेराई रिसोर्टमा ताज सफारी ब्रान्ड भित्र्याएका छन् । उनकै लगानीको चितवन–भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको होटेलमा ‘द फर्न’ आएको छ । झम्सिखेलको होटेल ताजकै भिभान्ता ब्रान्डले व्यवस्थापन हेर्छ ।

 कुन–कुन ब्रान्ड आउँदै छन् ?
तीन व्यावसायिक घरानाहरू चौधरी समूह, एनई समूह र समिट समूहले कुपन्डोल हाइटमा बनाउन लागेको पाँचतारे होटेलमा मेरियटकै लक्जरी ब्रान्ड ‘सेन्ट रेगिज’ ल्याउने तयारी छ । पवन गोल्यानले सोल्टिमोडको होटेलमा हायात ल्याउँदै छन् । देशबन्धु बस्नेतले सुकेधारामा बनाइरहेको होटेलमा पनि हायात ब्रान्ड आउँदै छ । शशिकान्त अग्रवालले कमलादीमा निर्माण गर्ने होटेलमा मेरियटकै मोक्सी ब्रान्ड ल्याउँदै छन् । 

गैरआवासीय नेपाली शेष घलेको कान्तिपथस्थित निर्माणाधीन होटेलमा सेराटन ब्रान्ड आउने भएको छ । शंकर समूहले नक्सालमा निर्माण गरिरहेको होटेलमा डबल ट्री बाई हिल्टन ब्रान्ड आउँदै छ । पोखराको पाँचतारे फूलबारी रिसोर्टको व्यवस्थापनमा पनि मेरियट ब्रान्ड ल्याउने तयारी भइरहेको छ । अरुण चौधरीले पुल्चोकमा बनाउँदै गरेको पाँचतारे होटेलको व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन ब्रान्ड होली डे इन ल्याउँदै छन् ।

यस्ता हुनेछन् होटेल र अपार्टमेन्ट
काठमाडौं भ्याली स्कुलको ११ रोपनी जग्गामध्ये ६० प्रतिशत भागमा होटेल र ४० प्रतिशत भागमा अपार्टमेन्ट निर्माण गरिनेछ । कर्मा ग्रुपले होटेलभन्दा पहिले अपार्टमेन्ट निर्माण गर्ने भएको छ । होटेल निर्माण सुरु गर्न अझै डेढ वर्षजति लाग्नेछ ।

कर्माका अनुसार आगामी तीन–चार महिनाभित्रै अपार्टमेन्टको भौतिक संरचना निर्माण सुरु हुनेछ । पहिलो चरणमा अपार्टमेन्टमा ८२ युनिट निर्माण गरिनेछ । दोस्रो चरणमा करिब दुई सय अपार्टमेन्ट बनाउने ग्रुपको लक्ष्य छ । अपार्टमेन्ट २ बिएचके र ३ बिएचके गरी दुई प्रकारका हुनेछन्, जसको मूल्य तीन करोडदेखि पाँच करोड रुपैयाँसम्म पर्नेछ । अपार्टमेन्टमा जिम, साउना, स्विमिङ पुल, कम्युनिटी हल, गार्डेन, ग्रिन एरिया, पार्किङलगायतका सुविधाहरू रहनेछन् ।

 गुड कर्मा ग्रुपले डेढ वर्षपछि होटेल निर्माण सुरु गरेर चार वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । अपार्टमेन्टले रूपधारण गरिसकेपछि होटेल निर्माण थालनी गर्ने उनी बताउँछन् । ‘होटेलमा ठूलो लगानी गर्नुपर्छ, कोभिडले विश्व पर्यटन बजारमा नयाँ परिवर्तन ल्याउन पनि सक्छ, होटेलको डिजाइन, सेवा–सुविधा परिवर्तन वा अपग्रेड गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘त्यसैले पनि होटेल निर्माण कार्य अलि पछाडि सारेका हौँ, ताकि कोभिडपछिको पर्यटन बजारअनुसार अगाडि बढ्न सहज होस् ।’