मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण ६ बुधबार ११:०१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दुईतिहाइ भारतीय कोरोना भाइरसको सम्पर्कमा आएको अध्ययनको निष्कर्ष

Read Time : < 1 मिनेट
२०७८ श्रावण ६ बुधबार ११:०१:००

भारतका दुईतिहाइभन्दा धेरै मानिस कोरोना भाइरसको सम्पर्कमा आएको नयाँ अध्ययनले देखाएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर)ले गरेको सर्वेक्षणअनुसार ६ वर्षमाथिका ६७ प्रतिशत भारतीय कोरोना भाइरसको सम्पर्कमा आएका छन्।

यो वर्षको जुन र जुलाईमा यहाँका २१ राज्यका ३६ हजार २२७ मानिसमा आइसिएमआरले सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा सहभागी तीनमध्ये दुई जनामा एन्टिबडी निर्माण भएको पाइएको अध्ययनलाई उदृत गर्दै बिबिसीले जनाएको छ।

थप ४० करोड मानिस संक्रमणको जोखिममा रहेका भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड कडा रूपमा पालना गर्न विज्ञहरूले चेतावनी दिएका छन्।

भारतमा हालसम्म तीन करोड १० लाखभन्दा बढी मानिसमा कोभिड– १९ संक्रमण पुष्टि भएको छ भने चार लाखभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ। यद्यपी, कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्दा दैनिक तीन लाख ८० हजार संक्रमित भेटिने गरेकोमा पछिल्लो समय यो संख्या औसत ४० हजारमा झरेको छ।

‘चौथो सेरो सर्वेक्षणले आशाको किरण जगाएको छ। तैपनि आत्मसन्तुष्टि लिएर बस्ने अवस्था छैन। हामीले सुरक्षित व्यवहार अपनाउनैपर्छ,’ आइसिएमआरका प्रमुख डा. बलराम भारगभाले भने।

आइसिएमआरको सर्वेक्षणमा पहिलोपटक ६ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई सहभागी गराइएको हो। सर्वेक्षणमा सात हजार दुई सय ५२ स्वास्थ्यकर्मी पनि सहभागी भएका थिए, जसमध्ये ८५ प्रतिशतमा एन्टिबडी निर्माण भएको पाइएको छ।