
हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा रहेको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३४ करोड ४१ लाख ६१ हजार बजेट ल्याएको छ । बाढीपहिरोको कठिनाइका बीच पनि गाउँपालिकाले बुधबार चामेमा आयोजित नवौँ गाउँसभाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो । गाउँपालिकामा संघीय सरकार समानीकरण अनुदान ६ करोड ९८ लाख, प्रदेश सरकार समानीकरण अनुदान ४० लाख ४७ हजार, संघीय सरकार ससर्त अनुदानमा ६ करोड ८२ लाख रहेको छ ।
यस्तै संघीय सरकार राजस्व बाँडफाँड ६ करोड ६१ लाख ५६ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड पाँच लाख ४९ हजार र गाउँपालिकाको आन्तरिक स्रोत मौज्दात नाै करोड ३१ लाख रहेको छ । केन्द्र सरकार विशेष अनुदान ससर्त दुई करोड आठ लाख रहेको छ । प्रदेश सरकार विशेष अनुदानअन्तर्गत लोकप्रिय माध्यमिक विद्यालय छात्रावास भवन निर्माणका लागि ३० लाख विनियोजन गरिएको छ ।
यस्तै, प्रदेश सरकार समपूरक अनुदान स्यार्कु शीतभण्डार निर्माणका लागि ७० लाख, केन्द्र सरकार अन्य अनुदानमा चामे बसपार्क निर्माणमा दुई करोड ९६ लाख ५७ हजार रुपैयाँ विनियोजन भएको छ । केन्द्र सरकार अन्य अनुदान चामे उद्योगग्राम निर्माणमा ९२ लाख विनियोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विपत् व्यवस्थापन, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । असार १ को मनाङमा अविरल वर्षासँगै आएको बाढीपहिरोले गाउँपालिकामा ठूलो क्षति पुर्याएकाले बजेट ल्याउन ढिलाइ भएको अध्यक्ष घलेलले बताए ।
आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, कृषि, पशु विकास, खेलकुद प्रवर्द्धन तथा ऊर्जा विकासमा बजेट विनियोजन गरिएको चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए ।
उनले भने, ‘बजेटमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता, दलितलक्षित कार्यक्रम समेटिएको छ । गाउँपालिकाले चालूतर्फ १८ करोड ३३ लाख ३७ हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड आठ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको छ ।’