१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७८ असार २० आइतबार ०७:५७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ असार २० आइतबार ०७:५७:००

युरोकप २०२० को सेमिफाइनल चरणका खेलहरू

मंगलबार
इटालीविरुद्ध स्पेन, (१२:४५ बजे, वेम्बली स्टेडियम)

बुधबार
इंग्ल्यान्डविरुद्ध डेनमार्क (१२:४५ बजे, वेम्बली स्टेडियम)

...                                        ...

इंग्ल्यान्ड २५ वर्षपछि युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको युरोकप २०२० अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा युक्रेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

इंग्ल्यान्डले अब फाइनल प्रवेशका लागि बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्दै छ । डेनमार्क शनिबार राति नै भएको अर्काे क्वार्टरफाइनल खेलमा चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुगिसकेको छ । 

जारी युरोकपमा पहिलोपटक घरबाहिर प्रतिस्पर्धा गरेको इंग्ल्यान्डले सशक्त प्रदर्शन गर्‍यो । समूहगत चरण र प्रिक्वार्टरफाइनल चरणको खेल घरेलु वेम्बली स्टेडियममा खेलेको इंग्ल्यान्डले युक्रेनविरुद्धको क्वार्टरफाइनल खेल भने इटालीको रोममा खेलेको हो । इंग्ल्यान्डले प्रतियोगिताको बाँकी खेल फेरि वेम्बली स्टेडियममै खेल्नेछ ।

प्रिक्वार्टरफाइनलमा जर्मनीलाई २–० ले स्तब्ध बनाएको इंग्ल्यान्डले क्वार्टरफाइनल चरणमा पनि त्यही प्रदर्शनलाई कायम राखेको छ । समूहगत चरणको खेलमा गोलका लागि संघर्ष गरेका हारी केनले नकआउट चरणको पछिल्लो दुई खेलमा लगातार गोल गरेका छन् । 

युक्रेनविरुद्ध उनले दुई गोल गरे । रहिम स्टर्लिङले दिएको उत्कृष्ट पासमा गोल गर्दै केनले खेल सुरु भएको चौथो मिनेटमै इंग्ल्यान्डलाई १–० ले अघि बढाएका थिए । खेलको बाँकी तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । 

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै हारी मागुइरेले लुक शाहले प्रहार गरेको फ्रिकिकमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाएका थिए । त्यसको चार मिनेटपछि नै शाहकै क्रसमा केनले अर्काे हेडिङ गोल गरे । खेलमा उनको यो व्यक्तिगत दोस्रो र टोलीको तेस्रो गोल रह्यो ।

त्यसपछि खेलको ६३औँ मिनेटमा जोर्डन हेन्डर्सनले राष्ट्रिय टोलीबाट ६२औँ खेल खेल्दा पहिलो गोल गरेपछि इंग्ल्यान्डको जित ४–० ले निश्चित भएको हो । मासन माउन्टको क्रसमा उनले पनि हेडिङ गोल गरेका थिए । 

सशक्त इंग्ल्यान्डविरुद्ध युक्रेन निकै कमजोर देखिएको थियो । इंग्ल्यान्डलाई रोक्ने प्रयासमै व्यस्त भएको युक्रेन आफूले भने कुनै गतिलो आक्रम गर्न सकेन । सन् २०१८ मा रुसमा भएको फिफा विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको इंग्ल्यान्ड लगातार दोस्रो प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । रुस विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएको थियो ।

गेराथ साउथगेटको टोलीले जारी युरोकपको पाँचमध्ये पाँचै खेलमा आफूलाई अपराजित राखेको छ । उसले यी पाँच खेलमा एक गोलसम्म व्यहोरेको छैन । 

सेमिफाइनलका टोली निश्चित 
अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले युक्रेनलाई पराजित गरेसँगै युरोकप २०२० को सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने चारै टोली निश्चित भएका छन् । इंग्ल्यान्ड र डेनमार्कअघि स्पेन र इटालीले पनि प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् । 

स्पेन स्विजरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै र इटाली बेल्जियमलाई निर्धारित समयमै पराजित गर्दै उपाधितर्फ अघि बढेका हुन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नुअघि पहिलो सेमिफाइनल खेलमा मंगलबार इटाली र स्पेन भिड्नेछन् ।