१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी
२o८१ बैशाख २४ सोमबार १७:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद

युरोकपको साबिक विजेता पोर्चुगलको सामना गर्दै बेल्जियम

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:oo:oo

युरोकप २०२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा आइतबार मध्य राति (१२ः४५) विश्व फुटबल दुई हेभिवेट टोलीबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको साबिक विजेता पोर्चुगलले फिफा वरीयताको नम्बर एक स्थानमा रहेको बेल्जियमविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

विश्व फुटबलमै आकर्षक छाप राखेको तर मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न नसकेको टोलीको रूपमा बेल्जियमलाई हेरिँदै आएको छ भने पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डाको भरमा छ । पाँच वर्षअघि पोर्चुगलले पहिलोपटक युरोकप उपाधि उचाल्दा रोनाल्डो नै नायक थिए । यसपटक पोर्चुगलले नकआउट चरण स्थान सुरक्षित गर्दा पनि रोनाल्डो नै टोलीका सारथि बने । गु्रप अफ डेथ समूहमा उत्कृष्ट तेस्रो रहँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो । 

पोर्चुगलले आफ्नो समूहमा हंगेरीलाई हराएको थियो । सर्वाधिक तीनपटकको विजेता जर्मनीसँग पोर्चुगल ४–२ स्तब्ध भएको थियो । समूहको अन्तिम खेलमा पोर्चुगलले विश्व च्याम्पियन फ्रान्सलाई २–२ को बराबरीमा रोक्न सफल भयो । यी तीनवटै खेलमा रोनाल्डोले पेनाल्टी गोल गरेका थिए । चालू प्रतियोगितामा रोनाल्डो पाँच गोलका साथ गोल्डेन बुट दाबेदार खेलाडीका रूपमा छन् । पोर्चुगलले प्रतियोगितामा सात गोल गर्दा रोनाल्डो एक्लैले पाँच गोल गरेका छन् । उनले एकपटक गोल असिस्टसमेत गरेका छन् ।

स्टार खेलाडीले भरिएको बेल्जियमलाई नकआउट चरणमा काउन्टर तथा आक्रामक रणनीति विफल पार्न पोर्चुगलका डिफेन्डरले अहिलेसम्मकै उत्कृष्ट खेल प्रस्तुत गर्नुपर्छ । बेल्जियमका स्टार खेलाडीले प्राप्त अवसरलाई गोलमा परिवर्तन गर्ने अवसर खेर फाल्दैनन् । यसकारण पोर्चुगलले विशेषतः इन्टरमिलानका रामेलु लुकाकु, इडेन हजार्ड र केभिन डे ब्रायनेजस्ता खेलाडीलाई मार्किङ गर्नुपर्ने आवश्यकता छ । बेल्जियमले समूह ‘बी’मा सबै तीन खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । रसियालाई ३–०, डेनमार्कलाई २–१ र फिनल्यान्डलाई २–० ले हराउँदै बेल्जियम समूह विजेता बनेको हो ।

हालै सम्पन्न इटालीको सिरिए लिगमा इन्टरमिलानलाई उपाधि दिलाउने क्रममा लुकाकुले उत्कृष्ट खेल देखाएका थिए । उनले चालू प्रतियोगितामा पनि तीन गोल गरिसकेका छन् । उनी पनि गोल्डेनबुटका दाबेदार हुन् । डेनमार्कविरुद्ध दोस्रो हाफमा मैदानभित्र प्रवेश गरेका म्यानचेस्टर सिटीका मिडफिल्डर केभिनले प्रेरणादायी खेल प्रस्तुत गरेका छन् । केभिनको आगमनले बेल्जियमको मध्यपंक्ति थप सशक्त बनेको छ । 

लेस्टर सिटीका योउरी टेलेम्यान्स सम्भवतः पोर्चुगलविरुद्ध खेल्न सक्छन् । खेल अतिरिक्त समयमा जाने सम्भावना भए बेल्जियमले उनलाई मैदानमा उतार्न सक्छ । पेनाल्टी सुटआउटमा उनको प्रदर्शन राम्रो छ । उल्भ्सका डिफेन्डर नेल्सन सेमेडोलाई पोर्चुगलले पहिलो सेटमा खेलाउन सक्छ । समूह चरणको अन्तिम खेलअन्तर्गत फ्रान्सविरुद्ध उनी बेन्चमा बसेका थिए । यो खेलको विजेताले क्वार्टरफाइनलमा इटालीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

हेड टु हेड
बेल्जियम र पोर्चुगल पहिलोपटक मेजर फुटबल प्रतियोगिता भिडन लागेका हुन् । यसबाहेक अन्य अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भने पोर्चुगल बेल्जियमसँग अपराजित छ । सन् १९८९ को विश्वकप छनोटयता पोर्चुगलले बेल्जियमलाई तीन खेलमा हराएको छ । बेल्जियमले दुई खेलमा पोर्चुगललाई रोकेको छ । 

फ्याक्ट्स
बेल्जियम
– रोबर्टो माटिनेजको प्रशिक्षणमा रहेको बेल्जियमले पछिल्लो ५८ मध्ये दुई खेलमा मात्र गोल गर्न सकेन । 
– सन् २०२० को युरोकपमा एक सय ३४ मिनेट मैदानमा बिताएका केभिन डे ब्रुयनेले बेल्जियमले अहिलेसम्म गरेको सातमध्ये तीन गोलमा योगदान दिएका छन् । उनले एक गोल गर्नुका साथै दुईपटक पास असिस्ट गरेका थिए । 

पोर्चुगल
-  युरोकप २०२० मा पोर्चुगलले तीन खेलमा ७ गोल गरेको छ । सन् २०१६ मा पोर्चुगलले उपाधि उचाल्दा केवल पाँच गोल मात्र गरेको थियो । 

– पोर्चुगल उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । सन् २००८ मा पोर्चुगलले चार अंक बटुली प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।

ad
ad