१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फिसायो सोयोम्बो
२०७८ जेठ २८ शुक्रबार ०७:२७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

देशका समस्या छाडेर ट्विटरको पछि लागेका राष्ट्रपति 

Read Time : > 2 मिनेट
फिसायो सोयोम्बो
२०७८ जेठ २८ शुक्रबार ०७:२७:००

विगतमा बुहारीले सरकारको विरोध गर्न ट्विटर प्रयोग गरेजस्तै जनताले पनि उनको असफलताको विरोध गर्न ट्विटर प्रयोग गर्न पाउनुपर्छ

ट्विटरका सिइओ ज्याक डोर्सीले सन् २०२० अक्टोबर १४ मा नाइजेरियाली सुरक्षा फौजको एक एकाइ ‘सार्स (स्पेसल एन्टी रबरी स्क्वाड)’ को अन्त्यका लागि आर्थिक सहयोग माग्दै एक ट्विट गरे । त्यतिवेलै मलाई एक दिन डोर्सी र नाइजेरिया सरकारबीच मुठभेड हुनेछ भन्ने लागेको थियो । स्वाभाविक हो, कुनै पनि सरकारले आफ्नो आधार हल्लाइदिने आन्दोलनलाई सघाउने व्यक्तिलाई मन पराउँदैन । राष्ट्रपति मुहम्मदु बुहारीको सरकारले डोर्सीको प्रयासलाई आफूलाई अलोकप्रिय बनाउने प्रयासका रूपमा हेर्दै आएको थियो । हुन पनि सार्सको अन्त्यको माग गर्दै लागोसको सडकमा उर्लिएको भिडले राष्ट्रपतिको राजीनामा पनि मागेको थियो । 

नाइजेरिया सरकार र ट्विटरबीच मैले अनुमान गरेको मुठभेड २ जुनमा आइछाड्यो । त्यस दिन राष्ट्रपति बुहारीले सन् १९६० को दशकमा दक्षिणपूर्वी नाइजेरियामा भएको गृहयुद्धलाई संकेत गरी हिंसाको धम्की दिँदै ट्विट गरेका थिए । ट्विटरले यसलाई कम्पनीको नीतिविपरीत भनेर हटाइदियो । जवाफमा ४ जुनमा देशका सूचनामन्त्रीले ट्विटरमाथि प्रतिबन्ध लगाएको घोषणा गरे । खासमा यस निर्णयका लागि २ जुनको ट्विटरको कदम मात्रै जिम्मेवार थिएन । नाइजेरियामा ट्विटर सरकारप्रति असन्तुष्टि जनाउने प्रमुख माध्यम रहँदै आएको थियो । यो कुरा सार्सको विरोधमा छर्लंग भएको थियो । सो आन्दोलन ट्विटरविना सम्भव हुँदैनथ्यो ।

नाइजेरिया सरकारले देखाउन खोजेजस्तो देशमा जति पनि समस्या छन्, तिनलाई ट्विटरले सिर्जना गरेको होइन, यस प्लेटफर्मले विद्यमान समस्यालाई अभिव्यक्ति गर्ने माध्यम मात्र दिएको हो

प्रहरी ज्यादती भोगेका पीडितले यस प्लेटफर्ममा आफूले भोगेका अनुभव पोखेका थिए । म आफैँ पनि कैयौँ दिन प्रहरी नियन्त्रणमा बसेकाले भन्न सक्छु, ट्विटरमा लेखिएका अधिकांश अनुभव सही थिए । सार्सको विरोधमाझ अक्टोबर २०२० मा सार्स अधिकारीहरूले नाइजेरियन युवामाथि दमन गरेको र एउटा घटनामा एकजना मारिएको खबर सार्वजनिक भयो । घटनाको खबर ट्विटरमा ट्रेन्डिङमा आएपछि देशभर आक्रोश फैलियो । मानिसहरू सार्स विघटनको माग गर्दै सडकमा आउन थाले । त्यसवेला सडकमा उत्रिएका प्रदर्शनकारीविरुद्ध बुहारी सरकारले भाडाका गुन्डा प्रयोग गरेको कसैबाट लुकेको थिएन । २० अक्टोबरको सैन्य कारबाहीपछि आन्दोलन मत्थर हुन पुग्यो । प्रदर्शन अन्त्य भएको आठ महिना भइसक्दा पनि ट्विटरमा यसबारे चर्चा भइरहेको थियो । नाइजेरियाली सरकारका लागि ट्विटर बिझाउने काँडा बनेको थियो । 

बुहारीको ट्विट हटाइएलगत्तै सञ्चारमन्त्री लायी मोहम्मदले ट्विटरले ‘सार्स विघटनको माग गर्ने प्रदर्शनकारीलाई’ सघाएको अरोप लगाए । साथमा उनले राष्ट्रपतिको ट्विट हटाउने ट्विटरले पृथक्तावादी नेता नम्दी कानुका ट्विट नहटाएकोमा पनि आलोचना गरे । तर, सञ्चारमन्त्रीले राष्ट्रपति बुहारीको ट्विट कैयौँ प्रयोगकर्ताले रिपोर्ट गरेपछि हटाइएको कुरा उल्लेख गरेनन् । त्यसमाथि राष्ट्रपतिले आफ्नै नागरिकमाथि गृहयुद्ध गर्नेलाई जस्तो व्यवहार गर्ने धम्की दिनु कानुको पृथक्तावादी ट्विटभन्दा डरलाग्दो कुरा थियो । बुहारीको सरकार जनादेश पाएर बनेको हो भने कानु यो सरकारको असफलताका उपज हुन् । जनताले पृथक्तावादी समूहभन्दा आफूले चुनेको सरकारबाट बढी जिम्मेवारीको आशा गर्छन् ।

त्यसमाथि नाइजेरियामा आज जति पनि समस्या छन्, तिनलाई ट्विटरले सिर्जना गरेको होइन, यस प्लेटफर्मले विद्यमान समस्यालाई अभिव्यक्त गर्ने माध्यम मात्र दिएको हो । सन् २०१७ मा बुहारी सरकारको दबाबमा सेनाले कानुको समूहलाई आतंकवादी घोषणा गर्‍यो । जब कि नाइजेरियाली कानुनमा यस्तो अधिकार न्यायाधीशलाई मात्र छ । तर, घुमन्ते समुदायका सैन्य दस्तालाई चार वर्षपछि पनि आतंकवादी समूह घोषणा गरिएको छैन । सन् २०१५ मा ‘ग्लोबल टेरोरिजम इन्डेक्स’ले घुमन्ते समुदायको सैन्य दस्तालाई विश्वको चौथो सबैभन्दा खतरनाक समूह भनेको थियो । राष्ट्रपति बुहारी आफैँ घुमन्ते समुदायका भएकाले सैन्य दस्ताप्रति नरम भएको आरोप लाग्ने गरेको छ । 

नाइजेरियाले अहिले कैयौँ समस्या भोगिरहेको छ । बेरोजगारी दर बढेको छ । गुणस्तरीय स्वास्थ्य सेवाको अभाव छ । रोजगार भएकाहरूको पनि आय घटेकाले मानिसको खरिद गर्ने क्षमतामा ह्रास आएको छ । दण्डहीनता मौलाएको छ । यी समस्या समाधान भए भने पृथक्तावादी समूहप्रतिको जनसमर्थन स्वाभाविक रूपमा घट्नेछ । सन् २०१५ को चुनावताका हालका राष्ट्रपति बुहारीले तत्कालीन जोनाथन सरकारका असफलतालाई उजागर गर्न ट्विटरको भरपूर प्रयोग गरेका थिए । सन् २०१५ मा उपयोगी भएको ट्विटर सन् २०२१ मा आएर बुहारीका लागि समस्या बनेको छ । हिजोका दिनमा बुहारीले सरकारको विरोध गर्न ट्विटर प्रयोग गर्न पाएजस्तै अहिलेका जनतासँग पनि वर्तमान सरकारको असफलताको विरोध गर्न ट्विटर प्रयोग गर्ने स्वतन्त्रता हुनुपर्छ । बुहारीको शासन अवधि अझै दुई वर्ष मात्र बाँकी छ, के उनले यस अवधिमा जनताको सामान्य स्वतन्त्रता पनि खोस्नेछन् ? 

(लेखक फाउन्डेसन फर इन्भेस्टिगेटिभ जर्नालिजमका संस्थापक हुन्)
अलजजिराबाट