Skip This
एकध्रुवीय राजनीतिको खाँचो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
विदुरप्रसाद दाहाल
२o८१ जेठ १५ मंगलबार o८:४६:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

एकध्रुवीय राजनीतिको खाँचो

Read Time : > 4 मिनेट
विदुरप्रसाद दाहाल
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o८:४६:oo

कांग्रेस या एमालेमध्ये कुनै एक पार्टी कमजोर भएमा देश एकध्रुवीय राजनीतिमा प्रवेश गर्छ र यसबाट देशलाई फाइदा पुग्छ

प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र हो । प्रजातन्त्रका अनेक स्वरूप हुन्छन् । प्रजातन्त्रभित्रको एकध्रुवीय राजनीतिले मात्र शान्ति र स्थिरता दिन सक्छ । विकासलाई तीव्र बनाउन सक्छ । नेपालमा यो खालको राजनीति र प्रजातन्त्र चाहिन्छ । राजनीति अनन्त सम्भावनाको खेल हो । राजनीतिमा पनि सम्भव हुन्छ भन्ने गरिन्छ । नेपालको राजनीतिले पनि त्यसलाई पुष्टि गर्छ । नेपाली राजनीतिमा ०४६ पछि अनेक खालका गठजोड भए । कांग्रेस र एमाले ०४६ पछिका दुई प्रतिद्वन्द्वी शक्ति हुन् । १० वर्षको सशस्त्र युद्धले माओवादीलाई अर्को शक्तिका रूपमा स्थापित गर्‍यो । देशमा तीनवटा समानान्तर शक्ति बने । कुनै पनि देशमा तीनवटा समानान्तर शक्ति लामो समय टिक्दैनन् । हामीकहाँ पनि टिकेनन् । । माओवादी कमजोर शक्तिमा परिणत भयो । पार्टी कमजोर भए पनि माओवादी अध्यक्ष प्रचण्ड अझै कमजोर भएका छैनन् । तेस्रो पार्टी भएर दुई ठूला पार्टीको सहयोगमा सरकारको नेतृत्वमा छन् । 

गठबन्धन नगरी पार्टीहरू एक्लाएक्लै निर्वाचनमा गए दलहरूको वास्तविक हैसियत प्रस्ट हुनेछ । गगन–शेखर समूहको कांग्रेसले माओवादीलगायत कुनै पनि पार्टीसँग भविष्यमा चुनावी तालमेल नगर्ने प्रस्ट पारिसकेको छ । यसैको परिणामस्वरूप अहिले नयाँ सत्ता गठबन्धन बनेको छ । माओवादी–कांग्रेस गठबन्धन भत्केर माओवादी–एमालेलगायत दलको गठबन्धन बनेको छ । आफू सत्ताबाहिर बस्नु परेर तिल्मिलाइरहेका एमाले अध्यक्ष केपी ओली पनि माओवादीलाई च्यापेर पार्टीलाई सत्तामा फर्काउन सफल भएका छन् । ओली–प्रचण्ड गठबन्धनबाट कांग्रेसलाई झड्का लागेको छ । ऊ सत्ताबाट प्रतिपक्षमा पुगेको छ । 

माओवादी पार्टी कमजोर बन्दै गर्दा कम्युनिस्ट एकता वा अरू कुनै नाममा गठबन्धन हुनु नै थियो, भयो । कम्युनिस्ट या समाजवादी शक्तिका नाममा पुरानो कांग्रेससहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाइएको छ अहिले । माधव नेपालको पार्टी एकीकृत समाजवादी लगभग सकिँदै थियो । कम्युनिस्ट विचार राख्ने नेता–कार्यकर्तालाई एउटा सुरक्षित अवतरण चाहिएको थियो । वर्तमान गठबन्धनबाट त्यो पनि प्राप्त भयो । व्यक्तिगत रूपमा ओलीसँग माधव नेपालको इगो सकिएको छैन, अझै बाँकी छ । त्यसैले उनी पर्ख र हेरको स्थितिमा छन् । माधवलाई नअल्मल्याउने हो भने वर्तमान गठबन्धन धर्मराउँछ । यो कुरा ओलीलाई राम्रोसँग थाहा छ । प्रचण्ड र माधवसँगको व्यक्तिगत दुस्मनीलाई ओलीले दबाएका छन् ।

परिणामस्वरूप माओवादीसँगै एकीकृत समाजवादी पनि गठबन्धनमा समेटिएको छ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले त यो गठबन्धन मात्र होइन, ०८४ सम्म कम्युनिस्ट एकताकै प्रयास हो भनेका छन् । चित्त नबुझे पनि क्षणिक फाइदाका लागि ओली यो गठबन्धनमा समाजवादीलाई मिसाउन ओली सहमत भएका हुन् । भविष्यमा उनको रणनीति कस्तो हुनेछ, अनुमान गर्न सजिलो छैन । माओवादीसँगै समाजवादीलाई साथमा लिएर गुमेको सत्ता प्राप्त गर्नु एमालेको स्वार्थ थियो । जसरी पनि चीर प्रतिद्वन्द्वी कांग्रेसलाई सत्ताबाहिर राख्नु जरुरी थियो । ओली त्यसमा सफल पनि भए । यसलाई मिसन २०८४ को एक भाग भएको बताए । तत्काल हेर्दा ओली, प्रचण्ड र माधव नेपाल सबैले जिते । शेरबहादुर देउवाको पार्टीभित्रको शक्ति कमजोर बनाउन शेखर समूह माओवादी–कांग्रेस गठबन्धन भत्काउन चाहन्थ्यो । यसमा शेखर समूह पनि सफल भयो । उसले पनि जित्यो । सबैले जित्दै गर्दा मुलुक र जनताले भने हारिरहेका छन् । त्यसैले, अहिले मुलुक र जनताले जित्ने राजनीतिक प्रणालीको खाँचो छ ।

माओवादी सत्ताको ‘कि मेकर’ बनिरहेको समयमा एमाले र कांग्रेस मिल्नुपर्छ भन्ने जमात कांग्रेसमा बढ्दै गएको देखिन्छ । व्यवस्था र देश विकासको हुटहुटीभन्दा पनि माओवादीलाई तह लगाउने ध्याउन्न यसको अन्तरकुन्तरमा लुकेको छ । खासगरी शेखर समूहका नेता कांग्रेस–एमाले मिल्नुपर्छ भनेर ‘लबिङ’ गरिरहेका छन् । कृष्णप्रसाद सिटौलाहरूले पटक–पटक ओलीसँग वार्ता गरेका छन् । एमालेका केही नेता पनि माओवादीभन्दा कांग्रेससँग गठबन्धन गरी स्थायित्व दिनुपर्छ भनिरहेका छन् । प्रतिगामीहरू सलबलाइरहेका छन् । कांग्रेस–एमाले मिलेर तिनलाई परास्त गर्नुपर्छ भन्ने मत पनि बलियो छ । तर, यसमा एमाले अध्यक्ष ओलीको भने रुचि देखिँदैन ।

कांग्रेस–एमाले मिल्दा के हुन्छ ? यी दुई शक्ति मिल्दा सुशासन आउँछ ? विगतमा पनि कांग्रेस–एमाले मिलेकै हुन् । तर, यी दुई शक्ति मिल्दै पनि खासै उपलब्धि भएको इतिहास छैन । र, भविष्यमा पनि हुँदैन । ०४७, ०५६ र ०६३ पछि पटक–पटक यी दुई पार्टी मिलेका छन् । दुवै मिल्दा पनि देशका जल्दाबल्दा समस्यामा तात्विक अन्तर आएन । भाग लगाएर खानुबाहेक खासै उपलब्धि भएन । पार्टीले जित्यो, मन्त्री हुनेको संख्या थपियो, तर सुशासन आएन । युवाहरू बिदेसिएर देश रित्तो हुने अवस्था आयो । प्रजातन्त्रको सुदृढीकरण भएन । भ्रष्टाचार घटेन, बरु बढ्यो । भुइँ तहका जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् । कागलाई बेल पाक्यो, हर्ष न विस्मातजस्तो भयो, यो परिवर्तन । प्रचण्डलाई देखाइदिनुपर्छ ।

प्रचण्डसँग बदला लिनुपर्छ भन्नेहरूको जमात कांग्रेस–एमालेमा ठूलै छ । त्यसैले कांग्रेस–एमाले मिल्नुपर्छ भन्ने मुद्दाले ठाउँ पाएको हो । कुनै पनि व्यवस्था आफैँमा खराब हुँदैन । त्यसलाई प्रयोग गर्नेहरू खराब हुने हुन् । देशले कांग्रेस–एमाले मिल्नुपर्छ भन्ने खोजेको छैन । देशले समृद्धि खोजेको छ । कांग्रेस–एमाले मिल्दैमा समृद्धि आउँदैन भन्ने तथ्यलाई इतिहासले प्रमाणित गरेको छ । कांग्रेस–एमाले समानान्तर दुई शक्ति मिलेर होइन, एउटा शक्ति कमजोर भएमा उपलब्धि हुन्छ । बंगलादेशमा दुई प्रतिद्वन्द्वी बेगम खालिदा जिया र सेख हसिनाका समानान्तर दुई पार्टी (बंगलादेश नेसनलिस्ट पार्टी र अबामी लिग) का दुई महिला नेतृका कारण बंगलादेश लामो समय अस्थिर बन्यो । बेगम खालिदा जियाको पार्टी कमजोर हुनेबित्तिकै सेख हसिनाले देशलाई तीव्र गतिमा अगाडि बढाइन् । राजनीतिले स्थायित्व प्राप्त गर्‍यो । कम्बोडियामा पनि हुनसेनको पिपुल्स पार्टी बलियो हुनेबित्तिकै राजनीतिले स्थायित्व प्राप्त गर्‍यो । विकासले फड्को मार्‍यो । नेपालका दुई ठूला पार्टी मिलेर अगाडि बढ्ने कोसिस गर्नुभन्दा कांग्रेस या एमालेमध्ये कुनै एक पार्टी कमजोर भएमा देश एकध्रुवीय राजनीतिमा प्रवेश गर्छ र यसबाट देशलाई फाइदा पुग्छ । 

विकसित देशको नेतृत्वमा नैतिकता हुन्छ । नेताहरू इमानदार हुन्छन् । जीवनभर राजनीति ढुकेर बस्दैनन् । चितामा पुग्नुअघिसम्म शक्तिमै रहनु नेपाली नेता मात्रको विशेषता हो । त्यही भएर उनीहरू राजनीति छोड्दैनन् । नेपालका नेताले राजनीतिलाई पेसा बनाएका छन् । तर, राजनीति पेसा होइन, सेवा हो । उन्नत प्रजातान्त्रिक र विकसित देशलाई बहुपार्टी वा दुई पार्टीकेन्द्रित व्यवस्था हुँदा पनि फरक पर्दैन र परेको पनि छैन । तर, एसिया र अफ्रिकामा हेर्ने हो भने धेरै पार्टी र धेरै नेताभन्दा एक पार्टीको नेतृत्वमा देशको विकासले गति लिएको छ । छिमेकी चीनमा एक पार्टी प्रणाली छ । उसले चीनलाई विश्व शक्ति बनाइसक्यो । सिंगापुर ली क्वान यू एक्लैले बनाए । मलेसिया माहाथिर मोहम्मदले २२ वर्षमा सबल राष्ट्र बनाए । भियतनाम, कम्बोडिया, लाओसले तीव्र विकास गरे । नजिकको छिमेकी भारतलाई मोदीले १० वर्षमा विश्व महाशक्तिको ‘लाइन’मा पुर्‍याए । अझै राजनीतिमा मोदीको हालिमुहाली छ । फेरि पनि उनको जित निश्चित छ । अल्पविकसित मुलुकमा बहुपार्टीभन्दा भिजन भएका नेता र उसले नेतृत्व गरेको एक पार्टी प्रणालीले चमत्कार गर्न सक्छ भन्ने देखाएको छ ।

नेपाल ०४८ पछि दुई धु्रवको राजनीतिमा प्रवेश गरेको हो । भलै २०६३ पछि केही समय त्रिधु्रवमा गए पनि अहिले दुई ध्रुवीय राजनीतिमा फर्केको छ । दुई ध्रुवीय राजनीतिले पनि स्थिरता दिएन । अहिलेको निर्वाचन प्रणाली र अहिलेको शासकीय व्यवस्था भएसम्म स्थिरता केवल कल्पना हो । निर्वाचन प्रणाली र शासकीय व्यवस्था बदल्ने सोचमा अहिलेको कुनै नेतृत्व छैन । यसमा बहस गर्नसमेत रुचि देखाएका छैनन् । अझ माधव नेपालले त कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री नेपालका लागि उपयुुक्त नहुने नै बताइसकेका छन् । यसो हुँदा जनताको मत परिवर्तनले मात्र रूपान्तरण सम्भव छ । बहुपार्टी या दुई पार्टीको शासन व्यवस्था होइन, एकल पार्टीको बलियो शासन भएको प्रजातान्त्रिक व्यवस्थातिर मुलुक फर्कन सक्यो भने स्थायित्व र विकास सम्भव छ । एसिया र अफ्रिकाको अनुभवले त्यही देखाउँछ । त्यसैले, कांग्रेस–एमाले मिलेर टालटुल पार्नुभन्दा कुनै एउटा दल कमजोर, अर्को बलियो हुने एकध्रुवीय राजनीतिमा प्रवेश गर्नु देश र जनताको हितमा हुनेछ । 

कांग्रेस–एमालेका भुइँ तहसम्म रहेका संगठन बलिया छन् । यी दुई पार्टीका नेता–कार्यकर्ता चीरप्रतिद्वन्दी मात्र होइन, भ्रष्ट पनि छन् । दुई पार्टी मिल्दा एउटै खोरमा सिंहहरूलाई थुनेजस्तो हुनेछ । तल्लो तहमा झनै अराजकता बढ्नेछ । भ्रष्टाचार थप मौलाउनेछ । प्रजातान्त्रिक संस्कार नभएकाले द्वन्द्व झनै बढ्नेछ । प्रजातान्त्रको सुदृढीकरण, भ्रष्टाचार न्यूनीकरण र सुशासन बहालीका लागि दुई पार्टी मिल्नु हितकर हुनेछैन । नमिल्नु जाती हुनेछ । अझ महŒवपूर्ण कुरा, केपी ओली र शेरबहादुर देउवा दुवै शक्ति र पदका भोका हुन् । उनीहरूको व्यवस्थापन झनै पेचिलो हुनेछ । कुनै कारणवश यी दुई पार्टी र दुवै शीर्ष नेतृत्व मिले पनि देशले खासै परिवर्तन पाउनेछैन । प्रजातन्त्र थप कमजोर हुनेछ । देशमा अस्थिरता घट्ने होइन, बढ्नेछ ।

(दाहाल भक्तपुर क्याम्पसमा कार्यरत छन्)

ad
ad