पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण मकवानपुरका एक जनप्रतिनिधिले प्रमाणित गरेर देखाएका छन्।
मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष रहेका शिवप्रसाद खनाल उमेरले ५० नाघेपछि कक्षा १२ को परीक्षामा सहभागी भएका छन्। उनी ०७४ र गएकाे स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन्।
उनी शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका हुन्। उनले हेटौँडा– १९ बस्तीपुरमा रहेको निर्मल बहुमुखी क्याम्पस परीक्षा केन्द्रमाबाट शिक्षा संकायतर्फको पहिलो दिनको परीक्षा दिएका छन्।
०४८ सालमा बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत विद्यालयबाट द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका खनाल ३१ वर्षपछि ०७९ साउनमा कक्षा ११ मा भर्ना भएका थिए।
‘घरायसी समस्याले पढाइलाई निरन्तरता दिन पाएको थिइनँ। पढ्ने इच्छा थियो, त्यसैले उमेरले ५० नाघेपछि पनि पढाइलाई निरन्तरता दिएको हुँ,’ उनले भने।
अध्यक्ष खनाल आफ्नौ वडामा रहेको बालजीवन ज्योति माध्यमिक विद्यालयमा अध्ययन गर्छन् भने उनी त्यस विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थिए।
खनाल विद्यालय व्यवस्थापन समिति र वडाकै अध्यक्ष भएपछि उनकै पहलमा विद्यालयमा कक्षा ११ र १२ को पढाइ सुरु भएको थियो। आफ्नै पहलमा विद्यालयमा कक्षा ११ र १२ सुरु भएपछि उनलाई आफ्नो अधुरो पढाइलाई निरन्तरता दिने इच्छा जागेको बताउँछन्।
‘आफ्नाे अधुरो पढाइ पनि पूरा हुने र अरूलाई पनि गाउँमै रहेको विद्यालयमा पढ्न हौसला मिल्ने भएपछि कक्षा ११ मा भर्ना भएको थिएँ। कक्षा १२ को पहिलो दिनको परीक्षा राम्रो गएको छ। मेरो पढाइ यत्तिकैमा रोकिन्न, अध्ययनलाई निरन्तरता दिन्छु,’ खनालले भने।