१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
प्रा.डा. पारसनाथ यादव
२o८१ बैशाख १७ सोमबार o८:४o:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मानव जाति र संस्कृतिको साइनो

Read Time : > 5 मिनेट
प्रा.डा. पारसनाथ यादव
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४o:oo

मानिसलाई आजको मानिस बनाउने संस्कृतिले नै उसलाई के र कोबाट निर्देशित हुने भन्ने सिकाउँछ

संस्कृतिको परिभाषा : मानव निष्क्रिय प्राणी हुन् । मानिसको संस्कृतिले उनीहरूलाई जे गर्न भन्छ, त्यही गर्छन् । एउटा व्यक्तिका विश्वास र नैतिक पक्ष संस्कृतिद्वारा निर्मित भएरै सम्पूर्ण जीवन निर्देशित हुन्छ । संस्कृतिले नै मानिसलाई आजको मानिस बनाएको हो र संस्कृतिले नै मानिसलाई के र कोबाट निर्देशित हुने भन्ने पक्ष निर्धारण गरेको हुन्छ । यो सामाजिक सम्पत्तिका रूपमा रहन्छ । संस्कृति ज्ञान, अनुभव, विश्वास, मूल्य, मनोवृत्ति, अर्थ, सोपानक्रम, धर्म, समयको धारणा, स्थानिक सम्बन्ध, विश्व दृष्टिकोणको अवधारणा, भौतिक वस्तु, व्यक्तिको समूहले व्यक्तिगत र समूहको प्रयासबाट पुस्तापुस्तामा साझा बनाइएको हुन्छ । अपेक्षाकृत ठूलो समूहले साझा पारिएको ज्ञान प्रणाली नै संस्कृति हो । बृहत् अर्थमा संस्कृति पुस्ताप्रदत्त व्यवहार हो । संस्कृतिको व्यवहारवादी परिभाषाअनुसार यो सामाजिक नियन्त्रणको वैकल्पिक प्रणाली हो र यसबाट मानिसले आफ्नै व्यवहारको निरीक्षण गर्छन् ।

हाम्रा सांस्कृतिक मूल्यले हाम्रो जीवनको सैद्धान्तिक आधारशिलाका रूपमा सेवा गर्छन् । यी पक्षबाट हाम्रो सोच, व्यवहार र व्यक्तित्वलाई आकार प्रदान गरेको हुन्छ । संस्कृति हाम्रो जीवनको सधैं विकसित र गतिशील पक्ष हो । संस्कृति उद्विकासात्मक र गतिशील पक्ष भएकाले यसले हामीलाई नवीन र अर्थपूर्ण मार्ग निर्देशित गर्छ । कार्ल माक्र्सले संस्कृतिलाई समाजको अधिसंरचनाका रूपमा लिएका छन् । म्याक्सिम गोर्कीका अनुसार संस्कृति मानव आत्माको मूल्य या क्षमता भएकाले नैतिक र आध्यात्मिक जागरुकताभन्दा क्रान्तिको सफलताका लागि राजनीतिक र आर्थिक व्यवस्था बढी महत्वपूर्ण हुन्छ भन्ने प्रस्तुति पाइन्छ । गोर्कीले संस्कृति मानव निर्मित दोस्रो प्रकृति भएको पक्षमा पनि जोड दिएको पाइन्छ । 

संस्कृतिको महत्व : संसारका जुनसुकै भागका मानिसले आफूलाई संस्कृति र सांस्कृतिक समूहका रूपमा चिनाउन रुचाउँछन्  । व्यक्तिकोे आफ्नो भन्ने धारणासँग समाज र संस्कार जोडिएको हुन्छ । यो अवस्थासँग सम्बन्धित हुन्छ  र यसका मूल्यमान्यता एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छन् । यसलाई सबै मानिसका लागि सार्वजनिक वस्तु वा वैयक्तिक सम्पत्तिका रूपमा लिइन्छ । 

औद्योगिकीकरणपछिको समाजमा सार्वजनिक वस्तु र निजी सम्पत्तिको अधिकारका रूपमा उत्पादित वस्तु र जीवनशैलीसँग संस्कृति जोडिएको छ । यसलाई एक प्रकारको उत्पादित वस्तु र मानिसको जीवनशैलीका रूपमा हेरिएको पनि पाइन्छ । हालैका विविध गतिविधि या पृथक्ता र जातीय आन्दोलनका साथै यसले विद्यमान राष्ट्र राज्यको पतन र नयाँ राज्यको उदयमा योगदान पनि दिएको छ । विश्वव्यापीकरणका सन्दर्भमा संस्कृतिको भूमिका रहेको हुन्छ, तैपनि सामान्यतया संस्कृतिका विशेषता स्थानीय रूपमै जरिएका हुन्छन् भन्ने तर्क पनि पाइन्छ ।

सबै संस्कृतिका सबै मानिस विश्वव्यापी रूपमा जोडिने क्रममा अहिले वृद्धि नै देखिन्छ । सांस्कृतिक रूपमा नवीन सोच बनाएर बहुसांस्कृतिक र अन्तरसांस्कृतिक कार्य गर्नुपर्ने अहिलेको स्थिति हो । सामाजिक आर्थिक क्रियाकलापमा संलग्न व्यक्तिको कुनै स्वतन्त्र संस्कृति हुँदैन । संस्कृतिलाई एक प्रणाली या व्यवस्थाका रूपमा हेर्न सकिन्छ । संस्कृति त्यो अदृश्य बन्धन हो, जसले क्षेत्रविशेषका समुदायका मानिसलाई एकसाथ जोड्छ । यसले मानव गतिविधिको ढाँचालाई निर्देश गर्छ । कुनै पनि समुदायको कला, साहित्य, भाषा र धर्मले त्यसको संस्कृतिको प्रतिनिधित्व गर्छ । हाम्रा सांस्कृतिक मूल्यमान्यता र विश्वास हाम्रो जीवनशैलीमार्फत प्रकट  हुन्छन् । नैतिक मूल्यमान्यताले हाम्रो संस्कृतिको प्रतिनिधित्व गर्छ । हाम्रा सांस्कृतिक मूल्यमान्यताले हामी कसरी जीवन बिताउने भन्नेमा असर पारेको हुन्छ । 
संस्कृति राष्ट्रको पहिचान हो । संस्कृतिविना समाज असभ्य बन्छ । तसर्थ, विशेष समुदाय वा जनसंख्याको एक मात्र प्रतिनिधि संस्कृति हो । यसले जनसमुदायलाई जीवनमार्ग दिन्छ । समुदायले सामना गरेका समस्याको समाधानमा संस्कृतिको भूमिका देखिन्छ । संस्कृतिले हामीलाई व्यक्तिगत रूपमा नभई सिंगो राष्ट्रका लागि सोच्न सिकाउँछ । यसले परिवार, राज्य आदिको प्रधानता हेर्छ । सांस्कृतिक मूल्य–मान्यताका कारण समुदायको आफ्नो पहिचान निर्माण हुन्छ । समुदायले आफ्नो अस्तित्व, चरित्र र व्यक्तित्व प्रदान गर्छ । सांस्कृतिक समुदाय या मानिसको संस्कृतिका कारण समुदायका सदस्यको पहिचान बनेको हुन्छ । यो पुरानो पुस्ताद्वारा नयाँ पुस्तामा सिकाइसँगै हस्तान्तरण गरिन्छ । एक पुस्ताबाट अर्को पुस्तामा संस्कृतिको प्रभावकारी हस्तान्तरणका लागि सचेत हुनुपर्छ । सामाजिक प्रतीकहरू, कला, धर्मको सेवाजस्ता सांस्कृतिक मूल्य पुस्तागत हस्तान्तरण गर्न प्रतीकात्मक माध्यमका रूपमा यसले कार्य गरेको हुन्छ । 

समुदायका मानिसले पालन गर्ने रीतिरिवाज, परम्परा, तिनले मनाउने चाडपर्व, वेशभूषा, खानापान आदिसँगै तिनले पालना गर्ने सामाजिक मूल्यका अस्तित्वभित्र सांस्कृतिक रूपले बाँधिएका हुन्छन् । त्यस विशेष संस्कृतिका मानिसलाई सांस्कृतिक मूल्यले नै एकताको भावना विकास गर्न मद्दत गर्छ । एकै संस्कृतिका मानिसको परम्परा र केही हदसम्म आफ्नो विचारधारा पनि साझा हुने गर्छ । तिनले सिद्धान्त र जीवनदर्शन अर्थात् हाम्रो जीवनशैलीलाई प्रभाव पार्छन् र यसले हाम्रो सामाजिक जीवनलाई असर गर्छ । समाजको सांस्कृतिक सम्पदाले सामाजिक र राजनीतिक रूपमा व्यवस्थित गर्ने तरिका समावेश गर्छ । त्यो समाजका पौराणिक, दार्शनिक धारणा, विज्ञान र साहित्य पनि उल्लेखनीय हुन्छन् ।  रीति या अनुष्ठान दोहोरिने व्यवहार हुन् । यसको संस्कृतिसँग विशेष अर्थ हुन्छ । यी धार्मिक, सामाजिक या राजनीतिक प्रकृतिका हुन सक्छन् । हामीलाई हाम्रो संस्कृतिसँग जोड्न र आफ्नोपनको विकासका लागि मद्दत गर्ने कडी पनि हुने गर्छन् । पहिचानको संरक्षण र सुनिश्चितता संगठित शक्तिबाट हुन्छ । यो सांस्कृतिक पहिचानको अभिव्यक्ति हो । यसको रणनीति भनेको सांगठनिक रूपमा सांस्कृतिक पहिचानको प्रतिनिधित्व दिनु हो । 

संस्कृति र मानवसोच : संस्कृतिको महत्व मानिसको सोच र जीवनशैलीसँग नजिकको सम्बन्धमा रहेको हुन्छ । सोच र तर्कका आधारबाट देखिने सांस्कृतिक भिन्नता मनोवैज्ञानिक स्तरका मानिन्छन् । सामाजिक पारिस्थितिक कारक र दूरस्तरका सांस्कृतिक परम्परागत कारकका निकट माध्यमबाट सोच र तर्कलाई प्रभाव पार्न सकिन्छ । नैतिक प्रणाली इतिहास, धार्मिक विश्वास, सामाजिक पारिस्थितिक र संस्थागत नियमबाट यो प्रभावित हुन्छ । प्रत्येक कारकीय अवस्था दूर स्तर र समीप स्तरबाट हुने गर्छ । सांस्कृतिक प्रभाव निहित रूपमै स्विकारिएको हुन्छ । मानिसको सोच सांस्कृतिक उत्पादनबाट निर्मित हुन्छ र यो सोच समूहका रूपमा प्रभावकारी बन्छ । समाजशास्त्रीय मान्यतामा मानवीय व्यवहार नै सांस्कृतिक तत्वलाई प्रभाव पार्ने सबैभन्दा महत्वपूर्ण कारक हो । मानवीय व्यवहारले समाज र सामाजिक मूल्य–मान्यतामा गहिरो प्रभाव पार्छ ।

विचार, भावना, कार्य आदि हाम्रा विश्वास हुन् र यसबाट मूल्य निर्माण हुन्छ र जीवनमा यी कुरा महत्वपूर्ण बन्छन् । मानिसको विश्वास उसको वरपरको संसारको बुझाइ नै हो भन्दा फरक पर्दैन । मानिसले घटनालाई व्याख्या गर्ने र निर्णय गर्ने तरिकाले यसमा प्रभाव पार्छ ।  केही संस्कृतिका मानिसले अलौकिक कुरामा विश्वास नगर्न सक्छन् । यसले मानिसलाई संसार बुझ्न थप वैज्ञानिक या तर्कसंगत दृष्टिकोणको आधार लिन्छन् । समाजका यी मापदण्ड मानिसका व्यवहारलाई नियन्त्रण गर्ने नियम हुन् । यी नियम वा व्यवहार समाजमा स्वीकार्य र अस्वीकार्य हुन्छन् । कुनै संस्कृतिमा अपरिचित व्यक्तिसँग आँखा जुधाउनु अशिष्ट मानिन्छ र केही संस्कृतिमा यसलाई शुभचिह्नका रूपमा लिइन्छ । त्यसैले सांस्कृतिक मापदण्डले विभिन्न सामाजिक अवस्थामा कसरी एकअर्कासँग अन्तत्र्रिmया गर्नुपर्छ भन्ने सिकाउँछन् । 

संस्कृति र विकास : संस्कृतिको नकारात्मक प्रभावमा हानिकारक परम्परा तथा पुस्तागत अभ्यासको निरन्तरतालाई लिन सकिन्छ । यसमा लिंग तथा जातिगत भेदभाव वा असमानता कायम भएका संस्कारलाई बिर्सन मिल्दैन । यस्तो संस्कारले परिवर्तन र नवीनताको प्रतिरोध गर्ने मात्र नभई प्रगति र विकासमा पनि बाधा पु¥याउँछ । सांस्कृतिक विविधता भएका देशमा बहुसांस्कृतिकता र दोहोरो पहिचानको विकास पनि हुने गर्छ । आप्रवासी पहिचान यसको स्पष्ट उदाहरण हो । नयाँ विचार र अवधारणा मुख्य धारा बन्नेबित्तिकै वर्षौंदेखिका विचार नवीकरण हुने या परिष्कार हुने पनि सोच पाइन्छ । केही मानिस पहिचानमा जातीयता केन्द्रित दृष्टि राख्छन् । यो पश्चवादको एक रूप हो । यसले जीवनका विविध आधार र रूपलाई आफ्नै विकृत संस्कारमा विलय गराउँछ । त्यसैले, परिवर्तित वैज्ञानिक सामाजिक मूल्यसँग संस्कृतिको नयाँ संस्कार निर्माण हुने गर्छ । 

निश्चित सामाजिक सन्दर्भमा सामाजिक र सांस्कृतिक विकास हुन्छ । संस्कृति र सामाजिक विकासबीच पारस्परिक अन्तत्र्रिmया हुन्छ । यो अन्तत्र्रिmया पूर्वव्यवस्थित या सावधानीपूर्वक गरिएको या सहज र अनायास गरिएको पनि हुन्छ । सामाजिक जीवनका विभिन्न क्षेत्रमा सामाजिक विकाससँगै सांस्कृतिक प्रभावको प्रमाण फेला पार्न सकिन्छ । कला र संस्कृतिले बाल्यकालीन शिक्षाबाट रचनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यो प्रक्रिया औपचारिक र अनौपचारिक शिक्षाका सबै तहमार्फत अघि बढ्छ । यो सिकाइ अन्तरपुस्ता र आजीवन चलिरहन्छ । यसबाट रचनात्मक व्यक्तित्व र विकासका लागि संस्कृति आवश्यक तत्व हो भन्ने स्पष्ट हुन्छ । त्यसैले सामाजिक र आर्थिक भिन्नता कम गर्न संस्कृतिलाई औजरका रूपमा पनि प्रयोग गरिँदै आएको पाइन्छ ।

यसलाई जीवनभरको शिक्षाका लागि मुख्य कारकका रूपमा परिभाषित गरिएको छ । वर्तमानका सामाजिक मुद्दा बहुल संस्कृति र एकल संस्कृतिगत पहलका लागि प्रमुख कारक या द्वन्द्वका विषय बनेका छन् । संस्कृतिसम्बन्धी प्रकार्यमा सक्रिय सहभागिता हुँदा व्यक्तिको व्यवहार या ढाँचा र सोचमा दीर्घकालीन परिवर्तन देखिन्छ । मानिसको जीवनका हरेक पक्षमा उपभोक्तावादी सोचबाट देखिएको विषय र यसबाट पृथक् सामूहिक संस्कृति या सक्रिय सहनिर्माताका कारण संक्रमण भएको देखिन्छ । धेरै सांस्कृतिक संस्था र संगठन यस किसिमका परिवर्तनमा सचेत छन् । मानिसका विभिन्न पहलुमा सहभागी हुन वा संस्थागत सहमालिक हुन आमन्त्रित गरेर संस्कृतिमा संलग्नताको प्रयास वर्तमानमा पनि चलिरहकै देखिन्छ । 

निष्कर्ष : संस्कृति आफ्नोपन भएकाले प्रत्येक व्यक्तिलाई यो समान महत्वको हुनेमा हामी सचेत रहनुपर्छ । यसलाई मानवीय सभ्यताको विकासका पहलका साथै चेतनाका सन्दर्भमा समेत हेर्न सकिन्छ । संस्कृतिले सामाजिक मूल्य, मान्यता र प्रवृत्तिलाई आकार दिन्छ । आमसञ्चारको नियन्त्रण, प्रभावकारी नीति, अभिजात वर्गको हित, अन्यको सीमान्तीकरणमा सचेत हुँदा नै यसको महत्व उल्लेख्य हुने देखिन्छ । प्राचीन समयदेखि नै मानवशास्त्रीहरू संस्कृतिका अध्ययनमा संलग्न छन् ।

यसबाट संस्कृति र सांस्कृतिक परिवर्तनको गहिरो ज्ञानविना समाज विकासको ज्ञान हुन सक्दैन भन्ने निष्कर्षमा पुग्न सकिन्छ । द्रूतगतिमा विकसित आजको संसारमा प्रगतिशील सोचको संस्कृतिलाई प्राथमिकता दिनु व्यक्ति, संगठन र समग्र समाजका लागि अपरिहार्य छ । प्रगतिशील संस्कृतिले नै नयाँ आचार, विविधताको समायोजन, अनुकूलन र निरन्तर सुधारलाई प्रोत्साहित गर्छ । यथास्थितिमा प्रश्न गर्दै नयाँ दृष्टिकोणसहित सिर्जनात्मक प्रस्तावबाटै प्रगतिशील वातावरण निर्माण हुन्छ । प्रगतिशील सोच भएको संस्कृति रातारात निर्माण हुँदैन ।

यसको विकासका लागि निरन्तर प्रयास र प्रतिबद्धता चाहिन्छ । यसलाई शिक्षा मानेर समग्र समाजको उज्यालो दिशा खोज्नु भनेको नै प्रगतिशील संस्कृतिसहित भविष्य निर्माणको उचित कदम उठाउनु हो । यसबाट सबैभन्दा प्रगतिशील संस्कृति र भविष्यको खोजी पनि गर्नु हो । र, त्यो संस्कृति जसले मानवीय मनलाई अझ मानवीय बनाउन सकोस् ।

ad
ad