मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत २९ आइतबार ११:२७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

संकटाले जित्यो १९औँ आहा रारा गोल्डकप

Read Time : > 1 मिनेट
२०७७ चैत २९ आइतबार ११:२७:००

१९औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले हात पारेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा पाहुना टोली अफ्रिकन रुट्स एसोसिएसनलाई ४–२ ले टाइब्रेकरमा पराजित गर्दै संकटाले उपाधि जितेको हो । उपाधिसँगै संकटाले १० लाख एक हजार र उपविजेता अफ्रिकन एसोसिएसनले पाँच लाख एक हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा आठ टोली सहभागी थिए ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै संकटाले निर्धारित ९० मिनेटभित्र नै १–१ को बराबरी गोल गर्न सफल भयो । त्यसपछि संकटाले टाइब्रेकरबाट उपाधिमाथि पहिलोपटक कब्जा जमाउन सफल भएको हो ।  थपिएको ३० मिनेटमा पनि दुवै टोलीबाट गोल भएन । यसपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भयो । 

टाइब्रेकरमा संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, नीरज बस्नेत र आयुष घलानले गोल गरे । संकटाबाट दोस्रो क्रममा पेनाल्टी हान्न गएका सरोज दाहालको प्रयासलाई विपक्षी गोलरक्षक डिए स्याल्भिओले विफल पारे । अफ्रिकनको भने पहिलो पेनाल्टी सुट नै खेर गएको थियो । पहिलो पेनाल्टी प्रहार गरेका कुइटेले बल बाहिर फ्याँके । यानिक र रिमले गोल गरेका थिए । चोथो क्रममा आर एम्बाकोपको प्रहार विपक्षी गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको सुरुदेखि नै दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका थिए । शारीरिक रूपमा विपक्षीभन्दा संकटाका खेलाडी केही कमजोर देखिएका थिए । दुवै टोलीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

खेलको १०औँ मिनेटमा अफ्रिकनका बासेकले अफ्रिकन एसोसिएसनलाई १–० को अग्रता दिलाए । मौसाको पासमा उनले मैदानको बायाँ तर्फबाट गोल गरेका हुन् । संकटाको केही अवसर विपक्षी गोलरक्षकले विफल पारे । अग्रता बढाउने प्रयासमा रहेको अफ्रिकनको केही गोल अवसरलाई संकटाका खेलाडीले विफल पारे । 

मध्यान्तरपछि संकटाले खेलमा सुधार ल्यायो । खेलको ५१औँ मिनेटमा विदेशी खेलाडी ग्लोरीले संकटालाई १–१ को बराबरीमा पु¥याए । संकटाका गोलरक्षक राजाबाबुको लामो पासमा ग्लोरीले डी–बक्सबाहिरबाट एक्लै प्रयासमा उत्कृष्ट गोल गरेका हुन् । 

यसअघि खेलको २१औँ मिनेटमा अफ्रिकनका बासिकले गोल गर्न चुके । डी–बक्समा अनमार्क रहेका उनको प्रहार विपक्षी गोलरक्षक राजाबाबुले विफल पारे । ३६औँ मिनेटमा संकटाका फोफानाको हेडिङ गोल प्रयासलाई गोलरक्षकले क्लियर गरे । ४७औँ मिनेटमा डी–बक्सभित्रबाट मौसाले हानेको उत्कृष्ट प्रहार संकटाका गोलरक्षकले विफल पारे ।

संकटाले क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी र सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई पराजित गरेको थियो । यसैगरी, अफ्रिकनले क्वाटरफाइनलमा मच्छिन्द्र र सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराएको थियो । 

खेलाडी

- उत्कृष्ट खेलाडी : संकटाका गोलकिपर राजाबाबु थापा (स्कुटर पुरस्कार)

- सर्वाधिक गोलकर्ता : संकटाका ग्लोरी, पुलिसका बुद्ध तमाङ र अफ्रिकनका बासेक र मौसा (समान चार–चार गोल)  

- उत्कृष्ट डिफेन्डर : संकटाका नीरज बस्नेत

- उत्कृष्ट गोलरक्षक : संकटाका राजाबाबु थापा  

- उत्कृष्ट मिडफिल्डर : अफ्रिकनका रिम

- उत्कृष्ट स्ट्राइकर : अफ्रिकनका बासिक  

उत्कृष्ट प्रशिक्षक : अफ्रिकनका सेर्गी बोरिस (विधागत रूपमा उत्कृष्टले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाए)  

फेयर प्ले : नेपाल पुलिस क्लब