मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २५ बुधबार ०८:५९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको आर्मी क्लब र श्रीलंकाको पुलिस क्लबबीचको प्रतिस्पर्धा आज 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २५ बुधबार ०८:५९:००

एसियाली फुटबल महासंघ (एएफसी)कपको प्रारम्भिक चरणको प्रतिस्पर्धामा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार श्रीलंकाको पुलिस स्पोट्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० मा सुरु हुनेछ । 

एएफसीले सदस्य राष्ट्रका लागि आयोजना गर्ने दोस्रो डिभिजनको यो प्रतिस्पर्धा नेपाली क्लबका लागि निकै महत्वपूर्ण रहेको छ । एएफसीको क्लब लाइसेन्सिङ नीतिअन्तर्गत यो प्रतियोतियोगितामा सहभागी हुने आर्मी पहिलो नेपाली टोली हो । 

आर्मीको सट्टा यो प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिगको विजेताको हैसियतले मच्छिन्द्र फुटबल क्लबले सहभागिता जनाउनुपर्ने थियो । आफ्नै मैदान, एकेडेमी, महिलासहित उमेर समूहको टोलीलगायत धेरै सुविधा हुनु पर्ने लाइसेन्सिङ नीति लागू गर्न नसकेका कारण मच्छिन्द्रले प्रतियोगितामा सहभागी हुन पाएन । मच्छिन्द्रसँगै अरू धेरै क्लब एएफसीको यो नीतिमा असफल भएका थिए । 

गत सिजन ए डिभिजन लिगमा दोस्रो भएको र एएफसीको नीतिसमेत पूरा गरेर यो प्रतियोगितामा सहभागी भएको आर्मीले दोस्रो चरण पुग्ने लक्ष्य सार्वजनिक गरेको छ । ‘हामी अहिले यही खेलमा केन्द्रित छौँ,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘यो खेल जितेर दोस्रो चरण पुग्न चाहन्छौँ । त्यसका लागि टोली तयार छ ।’

आर्मीका कप्तान भरत खवासले पनि घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । ‘हामी यो खेल घरेलु मैदानमा खेल्दै छौँ । त्यसले राम्रो गर्ने विश्वास छ,’ उनले भने, ‘प्रशिक्षकले भन्नुभएजस्तै हामी प्रत्येक खेल जित्दै अघि बढ्न चाहन्छौँ ।’

आर्मीले प्रतिस्पर्धा गर्न लागेको यो प्रारम्भिक चरणको पहिलो खेल हो । यो खेलमा जित हात पारेको अवस्थामा आर्मीले प्रारम्भिक चरणको दोस्रो खेलमा भारतको बैंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ । त्यो खेलमा पनि विजयी भएको अवस्थामा आर्मीले ‘प्लेअफ’मा कम्बोडियाको विशाखा र इस्ट टिमोरको ललिनोक युनाइटेडमध्ये विजेता एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खेल पनि जिते मात्रै आर्मीले एएफसी एसिया कपको समूह चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ । छनोटको अघिल्लो तीन खेलमा जित हात पारेपछि आर्मी प्रतियोगिताको ‘समूह डी’मा रहनेछ । समूह डीमा भारतकै मोहन बगान, बंगलादेशको बसुन्धरा किङ्स र माल्दिभ्सको माजिया यसअघि नै पुगिसकेको छ । त्यसैले आर्मीका लागि प्रतियोगिताको यात्रा भने सहज हुनेछैन ।