मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार १०:०२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वायुसेवा निगमको नयाँ वाइडबडी हेभी ल्यान्डिङ गर्दा ‘ल्यान्डिङ गियर’ बिग्रियो, नयाँ किन्न डेढ अर्ब लाग्ने

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार १०:०२:००

हेभी ल्यान्डिङ भएको विषय लुकाएर डेढ महिनासम्म ६० वटा उडान गर्दा नयाँ जहाजको ल्यान्डिङ गियरमै गम्भीर समस्या देखिएकाले प्रतिस्थापन गर्न जहाज निर्माता कम्पनी एयरबसले इमेलमार्फत जानकारी गराएको छ, अब डेढ अर्ब खर्च गर्नुपर्ने अवस्था आएको छ 

गत २४ पुस (८ जनवरी)मा नेपाल एयरलाइन्सको जहाज ‘हेभी ल्यान्डिङ’ गराउँदा दुईवटा ल्यान्डिङ गियरमा गम्भीर समस्या आएको पत्र जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमलाई पठाएको छ । पत्रमा जहाजका मुख्य दुईवटा ल्यान्डिङ गियरमा समस्या देखिएकाले तत्काल मर्मत गर्न वा नयाँ परिवर्तन गर्न आग्रह गरिएको छ । ल्यान्डिङ गेयर जहाजको पांग्रादेखि इन्जिनसम्मको भाग हो । गत २६ फेब्रुअरीमा निगमलाई एयरबस कम्पनीले पत्र लेख्दै मर्मत वा प्रतिस्थापन गर्नुको विकल्प नभएको जनाएको थियो । पत्रमा भनिएको छ– ‘हेभी ल्यान्डिङ’ भएपछि पटक–पटक उडान–अवतरण हुँदा जहाजको पछाडिका दुईवटा ल्यान्डिङ गियर प्रतिस्थापन गर्नुपर्ने देखिन्छ ।’ 

निगम उच्च स्रोतले नयाँ पत्रिकालाई दिएको जानकारीअनुसार एयरबसको ल्यान्डिङ गेयरमा रहेका सयौँ पार्टस्हरू हल्लिएका र प्रतिस्थापन गर्नुपर्ने निगम व्यवस्थापनलाई इमेलमार्फत जानकारी गराएको छ । सो इमेलमा एयरबसले केही दिनमै प्रतिस्थापन गर्नुपर्ने पार्टस्हरूको सूची पठाउने जानकारी गराएको छ । 

नयाँ प्रतिस्थापन गर्न डेढ अर्ब खर्च 
जनवरी ८ मै जहाजलाई ग्राउन्डेड गरेर परीक्षण गरिएको भए कम खर्चमै मर्मत गर्न सकिन्थ्यो । तर, उडान सुरक्षा शाखा र अपरेसन विभागले डेढ महिनासम्म हेभी ल्यान्डिङको विषयलाई लुकाएर ६० वटा उडान गर्दा ल्यान्डिङ गियरमा गम्भीर समस्या देखिएको हो । एयरबसको पत्र आएपछि निगम व्यवस्थापनले जहाजलाई मर्मत गर्न सिंगापुरसम्म पुर्‍याउने योजना बनाएको थियो । तर, एयरबसका इन्जिनियरले उडान गर्न अनुमति नदिएपछि भारतबाट भाडामा प्रतिघन्टा १ लाख डलर खर्चेर ल्यान्डिङ गियर ल्याउने तयारी गरिएको छ । नयाँ किन्नुपरेमा निगमको डेढ अर्ब खर्च हुन्छ । 

अब निगमको अन्तर्राष्ट्रिय उडानमा एउटा वाइडबडी जहाज ग्राउन्डेड भएको छ । अर्को न्यारोबडी जहाज इन्जिन परीक्षण (सी–चेक)का लागि सिंगापुर पठाइएको छ । जसका कारण दुई जहाज मात्रै नियमित उडानमा छन् । ल्यान्डिङ गियर परिवर्तन गर्न कम्तीमा १५ दिन लाग्ने देखिएको छ । यसले निगमले करोडाैँ आम्दानी गुम्ने निश्चित छ । नयाँ जहाज खरिदपश्चात् किस्ता तिर्नसमेत नसकेको निगम व्यवस्थापनको आफ्नै लापरबाहीले थप आर्थिक भार पर्ने भएको छ । 

ग्राउन्डेड भएको वाइडबडी जहाजको विषयमा निगमले आन्तरिक छानबिन समिति बनाएकाले अब प्रतिवेदनपछि मात्रै मर्मतको विषयमा भन्न सकिने नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । ‘जहाजमा कस्तो–कस्तो समस्या आएको भन्ने विषयमा अध्ययन भइरहेकाले अहिले नै केही भन्न सकिँदैन,’ प्रवक्ता श्रेष्ठले भनिन् । 

निगमको एन९–एएलजेड कल साइन भएको एयरबस–३३० मकालु जहाज गत ८ जनवरीमा दोहा–काठमाडौं अवतरणका क्रममा हेभी ल्यान्डिङ गरिएको थियो । सो जहाज क्याप्टेन महेश्वरमान डंगोल र को–पाइलट सुनील श्रेष्ठले उडान भरेका थिए । हेभी ल्यान्डिङपछि जहाजलाई परीक्षणमा पठाउनुपर्नेमा डेढ महिनासम्म नियमित उडान गरिएको थियो । त्यस अवधिमा जहाजले सयाैँ यात्रुको ज्यान जोखिममा राखेर ६० उडान गरेको थियो ।  २१ फेब्रुअरीमा जहाज निर्माता कम्पनी एयरबसले जहाजमा समस्या आएको जानकारी निगमको उडान सुरक्षा शाखामा गराएपछि मात्रै जहाज र पाइलटलाई ग्राउन्डेड गरिएको थियो । साथै, निगम व्यवस्थापनले डेढ महिनापछि आन्तरिक छानबिन समितिसमेत गठन गरेको थियो ।  

जुहार्चन र रौनियारलाई सफाइ
नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका अपरेसन विभाग प्रमुख दीपुराज जुहार्चन र उडान सुरक्षा शाखा प्रमुख राज रौनियारलाई सफाइ दिएको छ । प्राधिकरणले गठन गरेको छानबिन समितिले दुवैजनासँग स्पष्टीकरण लिएपछि हेभी ल्यान्डिङ प्रकरणमा उनीहरू दोषी नदेखिएको भन्दै सफाइ दिएको हो । स्पष्टीकरण दिएपछि मात्रै उडान गर्न वा काठमाडौंबाहिर जान दुवैजनालाई प्राधिकरणको छानबिन समितिले निर्देशन दिएको थियो । सोहीअनुसार दुवैजनाले स्पष्टीकरण दिएपछि बिहीबारबाटै उनीहरूलाई सफाइ दिइएको हो ।

यसैबीच, निगमका अपरेसन विभाग प्रमुख दीपुराज जुहार्चन र सुरक्षा शाखा प्रमुख राजकुमार रौनियारले आफूहरूलाई कारबाही नभएको जनाएका छन् । उनीहरूलाई उडानमा रोक लगाउने निर्णय भएको भन्ने समाचारमा सत्यता नभएको उनीहरूको भनाइ छ । हेभी ल्यान्डिङ भएको फ्लाइटका क्याप्टेन एमएम डंगोल र सुनील श्रेष्ठलाई भने प्राधिकरणले उडान संलग्न नगराउन निर्देशन दिएको छ ।