१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रमेश रावल सुर्खेत
२०७७ माघ ८ बिहीबार १७:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ओलीको प्रतिगामी कदमले मुलुक संकटमा पऱ्यो : माधव नेपाल 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ माघ ८ बिहीबार १७:०८:००

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली सुध्रिएर देश विकास गर्ने अपेक्षा राखे पनि पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याइपुऱ्याएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले देश समृद्धिका लागि ओलीलाई सुधार्न विभिन्न प्रयास गरे पनि नसकिएको बताए । 

उनले प्रधानमन्त्री ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको बताए । ‘ओलीले संविधानविरोधी, अलोकतान्त्रिक कदमहरू चालेका छन्,’ उनले भने, ‘उनले चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको छ ।’

पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्यसमेत रहन नसक्ने भन्दै नेपालले ओलीलाई साधारण सदस्य पनि नरहने गरी पार्टीले निष्कासन गर्ने बताए । ‘ओली कहिलेदेखि एमाले भए ?’ भन्दै नेपालले भने, ‘रौतहट आन्दोलनमा सँगै मैले लिएको मान्छे । अहिले माधव नेपाल को हुन् भनेर सोध्छन् । त्यसैले ओली कहिलेदेखि एमाले भए ?’

नेपालले प्रधानमन्त्री ओली संविधान जारी गर्ने वेलामा समेत तयार नभएको आरोप लगाए । ‘गणतन्त्रको अपनत्व केपी ओलीले राख्न सक्दैनन् । केपी ओलीले गणतन्त्र जन्माएका होइनन्,’ उनले भने, ‘गणतन्त्रबारे केपी ओलीले विरोध गरेका हुन् कि होइनन् ? गणतन्त्रमा केही तत्वहरू सल्बलाइरहँदा उनी पनि विरोधी थिए ।’

संविधान घोषणा गर्ने वेलामा ओली तयार नभएका र संविधान जारी गर्दा सुशील कोइराला तयार भए पनि ओली तयार नभएका नेपालले आरोप लगाए ।

‘केपी ओलीमा सामूहिक भावना छैन । उनी व्यक्तिवादी, गुटवादी प्रवृत्तिका मान्छे हुन् । यस्ता व्यक्ति कम्युनिस्टका नेता हुन सक्दैनन्,’ नेपालले भने, ‘केपी ओली कम्युनिस्ट होइनन् ।’