मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ८ बिहीबार ०६:०१:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

१० देखि १५ दिनमा  खोप लगाउन सुरु हुन्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ८ बिहीबार ०६:०१:००

डा. झलक शर्मा गौतम
खोप शाखा प्रमुख, स्वास्थ्य सेवा विभाग

अहिले भारतबाट १० लाख डोज खोप आउन लागेको जानकारी आएको छ, यो खोप कतिजनालाई लगाउन पुग्छ ? 
भारतले नेपाल सरकारलाई १० लाख डोज खोप उपलब्ध गराएको छ । तर, यो एकजनालाई दुई डोज लगाउनुपर्छ । त्यसैले सामान्यतया १० लाख डोजले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने हो । तर, १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन । त्यसमा विभिन्न प्राविधिक कारण हुन्छन् । एक भायलमा १० डोज खोप हुन्छ । हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ । ६ घन्टापछि लगाउन मिल्दैन । त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ । त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ । 

खोप कहिलेदेखि लगाउन सुरु हुन्छ ? 
हामी समय खेर फाल्ने पक्षमा छैनौँ । योबीचमा स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ, खोप ७७ जिल्ला पु¥याउनुुपर्छ, यसका लागि ढुवानी पनि व्यवस्थित बनाउनुपर्छ । यी काम फास्ट ट्र्याकबाट अगाडि बढाउनेछौँ । खोप लगाउने दिन अहिले नै तोकेर भन्न सक्ने अवस्था छैन । तर, खोप झरेको १० देखि १५ दिनभित्र लगाउन सुरु गर्छौँ । 

यो नयाँ खोप हो, स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था के गर्नुभएको छ ? 
अहिले नेपालमा नियमित खोप लगाउने करिब नौ हजार कर्मचारी छन् । नयाँ खोप भएकाले सामान्य तालिमको आवश्यकता स्वास्थ्यकर्मीलाई पर्छ । अहिले त गाउँगाउँमा खोप केन्द्र छन् । अहिले आएको खोप सबै केन्द्रमा पुग्छ कि पुग्दैन ? अहिले नेपालमा १५ हजार खोप केन्द्र छन् । पहिलो चरणमा थोरै संख्यामा खोप लगाउने भएकाले सबै १५ हजार केन्द्रमा यो खोप पुग्दैन । सामान्यतया अहिले जिल्ला सदरमुकामकेन्द्रित खोप अभियान चल्नेछ । तर, कतिपय स्थानमा जनसंख्या र भूगोलका आधारमा अन्य ठाउँमा पनि खोप चल्नेछन् । काठमाडौं र तराईका क्षेत्रमा जहाँ जनसंख्या बाक्लो छ, त्यहाँ बढी खोप केन्द्र सञ्चालन हुनेछन् । 

खोप ढुवानीको तयारी कसरी गरिएको छ ? कुन जिल्लामा कति पठाउने के तयारी भएको छ ? 
भारतले बिहीबार १० लाख डोज खोप विमानस्थलमा हस्तान्तरण गर्दै छ । हामीले केन्द्रीय खोप भण्डार टेकु ल्याउनेछौँ । खोप पाउने संख्याका आधारमा रुट मिलाएर प्रदेशमा खोप पठाउँछौंँ । प्रदेशले कुन जिल्लामा कति छन् खोप पाउने भनी एकसरो हिसाब भएको छ । तर, अहिले खोप कम आएकाले वितरणमा पनि फरक पर्नेछ । 

तर, अहिले आएको खोप करिब डेढ प्रतिशत जनतालाई मात्र पुग्नेछ । बाँकी जनताका लागि खोप ल्याउन के तयारी छ ? 
अहिले पहिलो चरणको खोप अनुदानमा आएको छ । पुनः अनुदानमा पनि आउन सक्छ । कोभ्याक्स सुविधामार्फत २० प्रतिशत दिने भनिएको छ । त्यो खोप पनि आउन सक्छ । खरिद गर्ने बाटो पनि खुला छ । खोप ल्याउन सबै प्रक्रिया खुला भएकाले अहिले आएको १० लाख डोज लगाइनसक्दै थप खोप आउनेछ । 

भारतमा उत्पादन भएको कोभिसिल्ड खोप नेपाल आउँदै छ, यसको प्रभावकारिता कस्तो छ ? 
कोभिसिल्ड खोप तेस्रो चरणको ट्रायल भइसकेर आएको हो । यसको प्रभावकारिता ७० प्रतिशतभन्दा बढी भएको हालसम्मका तथ्यांकहरूले देखाएको छ । भारतमा पनि भर्खर खोप लगाउन सुरु भएकाले यसका विषयमा धेरै बोल्न सक्ने अवस्था हामीसँग छैन । 

भारतमा ठूला नेताले कुनै पनि प्रकारका खोप लगाएका छैनन्, त्यसैले त्यहाँको मिडियामा प्रश्न उठेको छ । जब कि अमेरिकातिर नेताहरूले नै खोप लगाएर जनतामा आत्मविश्वास जगाउने काम गरेका छन्, नेपालमा उच्चपदस्थ अधिकारीले लगाउने विषयमा केही तयारी छ कि छैन ? 
खोप लगाउने काम केही दिनमा सुरु गर्दै छौँ । तर, नेता वा मन्त्रीले सुरुमा लगाउने भन्ने त्यस्तो कुनै निर्णय भएको छैन । उच्च तहमा त्यस विषयमा छलफल भए हामीलाई जानकारीमा आएको छैन । हामी सामान्य रूपमा खोप लगाउने तयारीमा छौँ । 
 
यो खोप कसले लगाउन हुन्छ, कसले लगाउनुहुँदैन ? यो विषयमा केही ‘प्रोटोकल’ छ ? 
शरीरमा एलर्जी हुने व्यक्ति, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्तिले यो खोप लगाउनुहुँदैन । अरूले खोप लगाउने वा नलगाउने भनेर आफैँ निर्णय गर्न सक्छन् । यो नितान्त व्यक्तिगत निर्णय हो । कहिलेकाहीँ खोप लगाउँदा प्रतिकूल असर पर्न सक्छ । त्यस्ता समस्याबाट आत्तिनुपर्दैन ।

यो पनि पढ्नुहोस् : खोपको पहिलो खेप आज