मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १६ आइतबार
  • Sunday, 28 February, 2021
२०७७ माघ ८ बिहीबार ०३:०५:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खोपको पहिलो खेप आज

भारतले अनुदानमा दिन लागेको १० लाख डोजले चार लाखलाई खोप लगाउन मिल्छ

Read Time : > 7 मिनेट
२०७७ माघ ८ बिहीबार ०३:०५:००

‘यो खोप एकजनालाई दुई डोज लगाउनुपर्छ । सामान्यतया १० लाख डोजले पाँच लाख जनसंख्यालाई पुग्नुपर्ने हो । तर, प्राविधिक कारणले १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन, त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख मानिसलाई लगाउन मिल्छ ।’
......

कोभिड महामारीविरुद्धको बहुप्रतीक्षित खोप अन्ततः नेपालमा आउँदै छ । छिमेकी भारतले अनुदानमा दिने १० लाख डोज खोप बिहीबार काठमाडौं आइपुग्दै छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दिने खोप बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो । 

सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई कोभिड– १९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । तर, अहिले भने १० लाख डोज मात्रै आउन लागेकोले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमको भनाइ छ । ‘यो खोप एकजनालाई दुई डोज लगाउनुपर्छ । त्यसैले सामान्यतया १० लाख डोजले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने हो । तर, १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘एक भायलमा १० डोज खोप हुन्छ । हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ । ६ घन्टापछि लगाउन मिल्दैन । त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ । त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार कोभिडविरुद्धको पहिलो खेप नेपाल आउन लागेको जानकारी दिएका हुन् । पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सचालक, जोखिममा रहेका सामाजिक अभियन्तालाई लगाइनेछ । 

तर, स्वास्थ्यकर्मीलाई तालिम दिने तथा खोप ढुवानी गर्नेलगायतका काम सकेर खोप सुरु गर्न करिब १० देखि १५ दिन लाग्ने गौतमको भनाइ छ । ‘हामी समय खेर फाल्ने पक्षमा छैनौँ । यसबीचमा स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ, खोप ७७ जिल्ला पुर्‍याउनुपर्छ, यसका लागि ढुवानी पनि व्यवस्थित बनाउनुपर्छ । यी काम फास्ट ट्र्याकबाट अगाडि बढाउनेछौँ । खोप लगाउने दिन अहिले नै तोकेर भन्न सक्ने अवस्था छैन । तर, खोप झरेको १० देखि १५ दिनभित्र लगाउन सुरु गर्छौँ,’ उनले भने । 

स्वास्थ्य मन्त्रालयले खोप भण्डारणदेखि वितरण र लगाउनेसम्मका सबै तयारी पूरा भएको जनाएको छ । खोप लगाउन करिब १५ हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् । विगतमा नियमित खोप लगाएका स्वास्थ्यकर्मीले सामान्य तालिम पाएपछि यो खोप लगाउन सक्ने मन्त्रालयको बुझाइ छ । उनीहरूलाई तालिम दिन पनि सुरु गरेको छ । 

संसारका विभिन्न देशले कोभिड– १९ विरुद्ध खोप धमाधम लगाउन थालेसँगै नेपालले पनि पहल थालेको हो । भारतले सोमबार सार्वजनिक घोषणा गर्दै छिमेकी तथा साझेदार मुलुकहरूलाई कोभिडविरुद्धको खोप अनुदानमा दिने जनाएको थियोे । भारतले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप दिने घोषणा गरेको छ । सोही घोषणाअनुसार बिहीबार नै खोपको पहिलो खेप काठमाडौं आउँदै छ । 

नेपालले पहिलो चरणमा अनुदान तथा खरिदमार्फत ४७ लाखजनालाई पुग्ने गरी खोप उपलब्ध गराउन भारत सरकारलाई अनुरोध गरेको छ । तर, भारतले पहिलो चरणमा करिब पाँच लाखलाई पुग्ने खोप दिएको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप आउन लागेको हो । 

नेपालमा हाल प्रयोग भएका नियमित खोप पनि अधिकांश सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । त्यसैले, ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार २ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने भएकाले पहिलो प्रयास ‘कोभिसिल्ड’ खोप ल्याउने नेपालको प्राथमिकता हो । 

हाल नियमित खोपका लागि मौज्दात रहेको ५० लाख सिरिन्ज कोभिड– १९ को खोपका लागि प्रयोग गर्ने स्वास्थ्य मन्त्रालयको योजना छ । ‘सेरम इन्स्टिच्युट अफ इन्डियाले खोप मात्रै बनाउने काम गर्छ । उसले सिरिन्ज बनाउँदैन, हामीले त्यसका लागि बेग्लै व्यवस्थापन गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, 'तर, हामीसँग करिब ५० लाख सिरिन्ज मौज्दात भएकाले तत्काल समस्या हुँदैन ।’

खोप राख्न ११ कोल्डस्टोर तयारी अवस्थामा

स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाका अनुसार खोप भण्डारण गर्न देशभर २८ कोल्डरुम रहेकोमा ११ वटालाई खाली गरेर कोभिड खोप मात्रै भण्डारण गर्ने गरी तयार पारिएको छ । उपत्यकामा दुई कोल्डरुममा कोभिड खोप भण्डारण गर्ने तयारी छ । स्वास्थ्य मन्त्रालयमा दुईवटा कोल्डरुममा ४२ लाख १४ हजार पाँच सय ६० डोज भ्याक्सिन अट्छ ।

विराटनगरमा एउटा कोल्डरुममा आठ लाख ६२ हजार, केन्द्रीय भ्याक्सिन स्टोर पथलैयाका तीनवटा कोल्डरुममा १४ लाख ३६ हजार सात सय, हेटौँडामा १४ लाख ३६ हजार सात सय डोज खोप अट्नेछ । प्रदेश २ मा पनि हेटौँडाबाट खोप पठाइनेछ । त्यसका लागि २८ लाख ७३ हजार पाँच सय सय डोज भ्याक्सिन अट्ने कोल्डस्टोर छ । 

पोखरामा आठ लाख ६२ हजार डोज, बुटवलमा तीन कोल्डरुममा १४ लाख ३६ हजार सात सय डोज, नेपालगन्ज र सुर्खेतका दुईवटा कोल्डरुममा २८ लाख ७३ हजार चार सय डोज, धनगढीमा आठ लाख ६२ हजार डोज कोभिड भ्याक्सिन अट्नेछ । केन्द्रमा छुट्टै्र रहेको पाँच हजार दुई सय ५० लिटर क्षमताको कोल्डरुममा काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका लागि पनि खोप राख्ने तयारी छ । 

स्वास्थ्य मन्त्रालयले भ्याक्सिन विभिन्न स्टोरमा पु¥याउन तीनवटा भ्यान तयारी अवस्थामा राखेको छ । एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढी छाड्नेछ भने अर्कोले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले भने पोखरा लैजानेछ ।

......

विश्वमा अहिलेसम्म आधा जनसंख्याका लागि खोपको अग्रिम कारोबार

विश्वमा कोभिडविरुद्धको खोप निश्चित मात्रामा उत्पादन भए पनि अग्रिम खरिदबिक्री भने तीव्र रूपमा भएको छ । अहिलेसम्म विश्वको आधा जनसंख्यालाई पुग्ने खोप खरिदबिक्रीको समझदारी भइसकेको छ ।

नेपालले भने अहिलेसम्म डेढ प्रतिशत जनताका लागि भ्याक्सिन सुनिश्चित गरेको छ, त्यो पनि भारतले अनुदानमा दिएका कारण । दक्षिण एसियाको बंगलादेशले तीन करोड एक लाख डोज अर्डर गरिसकेको छ । 

डुक ग्लोबल हेल्थ इनोभेसन सेन्टरका अनुसार विभिन्न मुलुक तथा संघ–संगठनले हालसम्म कोभिडविरुद्ध सात अर्ब २५ करोड डोज खोप खरिदको समझदारी गरेका छन् । अहिले खोपको अग्रिम बुकिङ जारी छ । छिमेकी भारतले मात्रै एक अर्ब ५० करोड डोज खोप खरिदका लागि अर्डर गरको छ । 

त्यस्तै, युरोपियन युनियनले एक अर्ब ५८ करोड ५० लाख डोज खरिद सुनिश्चित गरेको छ । अमेरिकाले एक अर्ब एक करोड डोज, क्यानडाले ३५ करोड ८० लाख डोज, बेलायतले ३५ करोड ७० लाख डोज, इन्डोनेसियाले ३२ करोड ८० लाख डोज, जापानले २९ करोड डोज र ब्राजिलले १९ करोड डोज खोप खरिदका लागि उत्पादक कम्पनीहरूसँग सम्झौता गरेको छ । मलेसियाले एक करोड २८ लाख डोज सुनिश्चित गरेको छ । 

उत्पादक कम्पनीमध्ये अक्सफोर्डले दुई अर्ब ६० करोड डोज, नोभाभ्याक्सले एक अर्ब ३० करोड डोज, जिएसकेले ७३ करोड २० लाख डोज, फाइजरले ७१ करोड १० लाख, मोडर्नाले ४० करोड खोप बिक्रीका लागि विभिन्न मुलुकसँग सम्झौता गरेका छन् । चीनको सिनोभ्याक्सले पनि २९ करोड २० लाख डोज खोप निर्यातका लागि विभिन्न मुलुकसँग सम्झौता गरेको छ । 

खोपसम्बन्धी थप अनुसन्धानमा बायोएनटेक तथा फाइजर, मोडर्ना, अस्ट्राजेनेका, अक्सफोर्ड विश्वविद्यालयले काम गरिरहेका छन् । यी कम्पनीहरूले हालसम्म सफलतापूर्वक खोप परीक्षण सम्पन्न गरेका छन् ।

यता नेपालले खोपका लागि भारतसँगै चीन, अमेरिका, रुस, बेलायत, जर्मनी र फ्रान्सलाई कूटनीतिक नोट पठाएको थियो । तीमध्ये भारतले नेपालसहित छिमेकी र निकट साझेदार मुलुकलाई खोप आपूर्ति गर्ने घोषणा गरेको थियो भने अन्य देशले नेपालको मागबारे आफूहरू सकारात्मक रहेको जवाफ दिएका छन् ।

छिमेकी भारतले तीन प्रतिशत नेपालीलाई खोप अनुदानमा उपलब्ध गराउने वचन दिएको छ । तर, डेढ प्रतिशतलाई पुग्ने खोप भने बिहीबार काठमाडौं आइपुग्दै छ । 

अर्को छिमेकी चीनले पनि खोप अनुदान दिने विषयमा निर्णय प्रक्रियामै रहेको जवाफ दिएको छ । चीनबाट प्राप्त जवाफ अमूर्त रहेको परराष्ट्रका अधिकारीको भनाइ छ । अमेरिकाले खोपबारे थप छलफल गर्न तयार रहेको जवाफ पठाएको छ भने बेलायत, रुस, फ्रान्स र जर्मनीबाट पनि कुनै ठोस प्रतिबद्धताविनाको जवाफ आएको परराष्ट्रका एक अधिकारीले बताए । 

परराष्ट्रले अनुदानमा खोप मागेका मुलुकहरूमा रहेका नेपाली कूटनीतिक नियोगलाई खोपका लागि फलोअप गर्न निर्देशन दिएको छ । ‘हामी निरन्तर फलोअपमा छौँ, तर कूटनीतिक नोटले मात्रै पुग्ने स्थिति छैन, सरकारसँग छलफल गर्नेभन्दा पनि सम्बन्धित खोप उत्पादनकर्ताहरूकहाँ गएर खरिद प्रक्रिया नथाल्ने हो भने खोप आउने अवस्था देखिँदैन,’ बहालवाला एक नेपाली कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । 

खोप खरिदका लागि परराष्ट्रसचिव भरतराज पौड्याल, स्वास्थ्यसचिव लक्ष्मण अर्याल र अर्थसचिव शिशिर ढुंगानाको संयन्त्र गठन भएको छ । तर, सुरुमा कति अनुदानमा आउँछ, त्यसका आधारमा थप खोप खरिद गर्ने मुडमा सरकार छ ।

......

१० देखि १५ दिनमा खोप लगाउन सुरु हुन्छ

डा. झलक शर्मा गौतम, खोप शाखा प्रमुख, स्वास्थ्य सेवा विभाग

अहिले भारतबाट १० लाख डोज खोप आउन लागेको जानकारी आएको छ, यो खोप कतिजनालाई लगाउन पुग्छ ? 

भारतले नेपाल सरकारलाई १० लाख डोज खोप उपलब्ध गराएको छ । तर, यो एकजनालाई दुई डोज लगाउनुपर्छ । त्यसैले सामान्यतया १० लाख डोजले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने हो । तर, १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन । त्यसमा विभिन्न प्राविधिक कारण हुन्छन् । एक भायलमा १० डोज खोप हुन्छ । हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ । ६ घन्टापछि लगाउन मिल्दैन । त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ । त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ । 

खोप कहिलेदेखि लगाउन सुरु हुन्छ ? 

हामी समय खेर फाल्ने पक्षमा छैनौँ । योबीचमा स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ, खोप ७७ जिल्ला पु¥याउनुुपर्छ, यसका लागि ढुवानी पनि व्यवस्थित बनाउनुपर्छ । यी काम फास्ट ट्र्याकबाट अगाडि बढाउनेछौँ । खोप लगाउने दिन अहिले नै तोकेर भन्न सक्ने अवस्था छैन । तर, खोप झरेको १० देखि १५ दिनभित्र लगाउन सुरु गर्छौँ । 

यो नयाँ खोप हो, स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था के गर्नुभएको छ ? 

अहिले नेपालमा नियमित खोप लगाउने करिब नौ हजार कर्मचारी छन् । नयाँ खोप भएकाले सामान्य तालिमको आवश्यकता स्वास्थ्यकर्मीलाई पर्छ । अहिले त गाउँगाउँमा खोप केन्द्र छन् । अहिले आएको खोप सबै केन्द्रमा पुग्छ कि पुग्दैन ? अहिले नेपालमा १५ हजार खोप केन्द्र छन् । पहिलो चरणमा थोरै संख्यामा खोप लगाउने भएकाले सबै १५ हजार केन्द्रमा यो खोप पुग्दैन । सामान्यतया अहिले जिल्ला सदरमुकामकेन्द्रित खोप अभियान चल्नेछ । तर, कतिपय स्थानमा जनसंख्या र भूगोलका आधारमा अन्य ठाउँमा पनि खोप चल्नेछन् । काठमाडौं र तराईका क्षेत्रमा जहाँ जनसंख्या बाक्लो छ, त्यहाँ बढी खोप केन्द्र सञ्चालन हुनेछन् । 

खोप ढुवानीको तयारी कसरी गरिएको छ ? कुन जिल्लामा कति पठाउने के तयारी भएको छ ? 

भारतले बिहीबार १० लाख डोज खोप विमानस्थलमा हस्तान्तरण गर्दै छ । हामीले केन्द्रीय खोप भण्डार टेकु ल्याउनेछौँ । खोप पाउने संख्याका आधारमा रुट मिलाएर प्रदेशमा खोप पठाउँछौंँ । प्रदेशले कुन जिल्लामा कति छन् खोप पाउने भनी एकसरो हिसाब भएको छ । तर, अहिले खोप कम आएकाले वितरणमा पनि फरक पर्नेछ । 

तर, अहिले आएको खोप करिब डेढ प्रतिशत जनतालाई मात्र पुग्नेछ । बाँकी जनताका लागि खोप ल्याउन के तयारी छ ? 

अहिले पहिलो चरणको खोप अनुदानमा आएको छ । पुनः अनुदानमा पनि आउन सक्छ । कोभ्याक्स सुविधामार्फत २० प्रतिशत दिने भनिएको छ । त्यो खोप पनि आउन सक्छ । खरिद गर्ने बाटो पनि खुला छ । खोप ल्याउन सबै प्रक्रिया खुला भएकाले अहिले आएको १० लाख डोज लगाइनसक्दै थप खोप आउनेछ । 

भारतमा उत्पादन भएको कोभिसिल्ड खोप नेपाल आउँदै छ, यसको प्रभावकारिता कस्तो छ ? 

कोभिसिल्ड खोप तेस्रो चरणको ट्रायल भइसकेर आएको हो । यसको प्रभावकारिता ७० प्रतिशतभन्दा बढी भएको हालसम्मका तथ्यांकहरूले देखाएको छ । भारतमा पनि भर्खर खोप लगाउन सुरु भएकाले यसका विषयमा धेरै बोल्न सक्ने अवस्था हामीसँग छैन । 

भारतमा ठूला नेताले कुनै पनि प्रकारका खोप लगाएका छैनन्, त्यसैले त्यहाँको मिडियामा प्रश्न उठेको छ । जब कि अमेरिकातिर नेताहरूले नै खोप लगाएर जनतामा आत्मविश्वास जगाउने काम गरेका छन्, नेपालमा उच्चपदस्थ अधिकारीले लगाउने विषयमा केही तयारी छ कि छैन ? 

खोप लगाउने काम केही दिनमा सुरु गर्दै छौँ । तर, नेता वा मन्त्रीले सुरुमा लगाउने भन्ने त्यस्तो कुनै निर्णय भएको छैन । उच्च तहमा त्यस विषयमा छलफल भए हामीलाई जानकारीमा आएको छैन । हामी सामान्य रूपमा खोप लगाउने तयारीमा छौँ । 

यो खोप कसले लगाउन हुन्छ, कसले लगाउनुहुँदैन ? यो विषयमा केही ‘प्रोटोकल’ छ ? 

शरीरमा एलर्जी हुने व्यक्ति, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्तिले यो खोप लगाउनुहुँदैन । अरूले खोप लगाउने वा नलगाउने भनेर आफैँ निर्णय गर्न सक्छन् । यो नितान्त व्यक्तिगत निर्णय हो । कहिलेकाहीँ खोप लगाउँदा प्रतिकूल असर पर्न सक्छ । त्यस्ता समस्याबाट आत्तिनुपर्दैन ।