मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ मङ्सिर १९ शुक्रबार १३:४०:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

बाइडेनको पहिलो काम : ‘सय दिन मास्क लगाऔँ अभियान’ सञ्चालनकाे तयारी

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १९ शुक्रबार १३:४०:००

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । 

उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउने बिहीबार जानकारी दिएका हुन् । 

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारी फैलिन नदिनका लागि मास्क लगाउनुपर्ने मान्यताको विपक्षमा उभिँदै आएका छन् । 

राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत साबित गर्ने गरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन् । 

अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरू विभाजित भएर यस विषयले राजनीतिक रूप लिएको थियो । 

मास्कको प्रयोगको विपक्षमा राष्ट्रपतिलगायतका व्यक्तिहरू नै लागेकाले अमेरिकामा कोरोना संक्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ ।  

राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्यून हुने विश्वास र दाबी धेरैले गरेका छन् ।

अमेरिकामा कारोना भाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचनअगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नुपर्नेमा जोड दिँदै आएका थिए । उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यसअनुसारको निर्णय र कार्यक्रमहरू ल्याउने बताए । 

मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका छन् । 

आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेबारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताए ।   

अमेरिकामा हरेक चार चार वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइटहाउस प्रवेश गराउने व्यवस्था छ ।

आगामी जनवरी २० मा ह्वाइटहाउस प्रवेश गर्ने बाइडेनले भने, ‘मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरूलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।’ 

उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारेका छन् । 

सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्यून हुने उनको विश्वास छ ।