१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार ०६:४३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल, व्यक्ति : विजयकुमार शाह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार ०६:४३:००

सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष ०७५/७६ मा सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनी सूर्य नेपाल भएको आन्तरिक राजस्व विभागले घोषणा गरेको हो । व्यक्तिगततर्फको सबैभन्दा बढी आयकर तिर्ने करदाता भने जावलाखेल ग्रुप अफ इन्डस्ट्रीका अध्यक्ष विजयकुमार शाह बनेका छन् ।

विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा १ मंसिरमा उत्कृष्ट करदाताको नाम सार्वजनिकसँगै सम्मान गर्दै आएको थियो । तर, यस वर्ष १ मंसिरमा सार्वजनिक बिदा (भाइटीका) परेका कारण उत्कृष्ट करदाताको नाम आइतबार सार्वजनिक गरिएको हो ।  विभाग परिसरमा आयोजित कार्यक्रमबीच विभागले सबैभन्दा बढी कर, आयकर र मूल्य अभिवृद्धि कर तिर्ने कम्पनी तथा व्यक्तिको नाम घोषणा गरेको हो ।  

त्यस्तै, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा डाबर नेपाल, सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर लिमिटेड, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि, सहकारी तथा लघु वित्तमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता छिमेक लघुवित्त संस्था लिमिटेड र बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता नबिल बैंक लिमिटेड बनेको हो । 

विभागका अनुसार बिमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, शिक्षा सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालि, विप्रेषणको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता आइएमई लिमिटेड, व्यापार–व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अग्नि इन्कर्पोरेटेड प्रालि र पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड बनेको छ । 

मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता कामना सेवा विकास बैंक लिमिटेड बनेको छ । आन्तरिक राजस्व कार्यालयहरूको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता भिएफ सर्भिसेज (मोरिसस) प्रालि बनेको हो ।

मूल्य अभिवृद्धि करतर्फ १ साउन ०६५ देखि ०७७ असारसम्ममा समयमै कर विवरण र कर बुझाएका करदाता तथा आव ०७६/७७ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने करदाता घोराही सिमेन्ट इन्डस्ट्री प्रालि भएको हो । सबै उत्कृष्ट करदाताहरूका लागि प्रमाणपत्रसमेत तयार गरेको छ । तर, वितरण भने कोभिडको जोखिम कम भएपछि वितरण गरिने महानिर्देशक कुँवरले बताए । 

 दायरा विस्तार गर्न मन्त्रीको निर्देशन
बढी कर तिर्नेहरूलाई सम्मानित गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करको दायरा विस्तार गर्न र राजस्व चुहावट रोक्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले आन्तरिक राजस्व वृद्धिका लागि दायरा विस्तार र चुहावट नियन्त्रण आवश्यक भएको औँल्याउँदै त्यसका लागि कर्मचारीलाई निर्देशन दिएका हुन् ।